मलामी – १

युवराज घलेभाइ (सिक्किम)

म देख्दैछु
मेरो अघि-अघि
मेरो मलामी गइरहेछ
दाउरा खोज्नु
बाँस खोज्नु
चिताको ओछयान लगाउनु
मलामीहरूलाई
चिया चमेनाको बन्दोबस्त मिलाउनु
समयको मलामी यसरी अघि लागिरहेछ ।

पछि-पछि म
जिउँदो लाश हिँडिरहेछ
थकित
गलेको
सडेको बूढो मान्छे
चिताको ओछयानमा बिसाउनु
कात्रो ओडेर
चिसिएको शरीर तताउनु
चिताको आगोमा
मेरापछि पनि आउँदैछन् मलामीहरू खादा, फूलहरू लिएर
मेरो लाश सजाउनु !!

मलामी – 2

म सुन्दैछु
मलामीहरूका कुराहरू
बिचारा….रा ठीकै पर्यो
दु:खै बिसायो
बाँचुञ्जेल सुख पाएन
आफन्तहरू परपरै थिए ।

को आफन्त
को पराया
को मित्र
को शत्रु
को ठूलो
को सानो
सबैका आफन्त मलामीहरू
न त्यहाँ धर्मको भेद छ
न जातपातको भाव
न जातीय अनेकता छ
न राजनीतिक विभेद
न जात मर्छ
न धर्म मर्छ
खालि मान्छे मर्छ
सबै मलामी
बोलचाल
बातचित
नितान्त मानवीय परिवेश
आफन्तका मलामीहरू !!

युवराज घलेभाइ
गान्तोक, सिक्किम