‘म’ जिउँदो छु भन्ने
अनेकौं प्रमाणहरु छन् मसँग
तैपनि तिमी किन घरि घरि
पार्टीको सदस्यताको प्रमाणपत्र माग्छौं ?
औंलामा नङहरु पलाइरहेकै छन्
त्यसैले ‘म’ जिउँदो छु ।
अनुहारमा दाह्री बढिरहेकैै छन्
त्यसैले ‘म’ जिउँदो छु ।
मैले भोट दिन बिर्सेको छैन
पसिनाको रङ बिर्सेको छैन ।
मेरा बालबच्चाहरु रोएको सङ्गीतलाई
राम्ररी बुझेको छु मैले
त्यसैले ‘म’ जिउँदो छु ।
मेरा सहयात्रीहरु
‘म’ जिउँदो छु……..
भोक लाग्नु थियो – लागिरहेकैै छन् ।
कपाल दुख्नु थियो – दुखिरहेकै छ ।
सडकमा बगेको मेरो रगत
मलाई नै हेरेर मुस्कुराइरहेको छ ।
मैले सपना देख्न बिर्सेको छैन
‘गीत गाउन’ बिर्सेको छैन ।
तिम्रो पार्टीको यशस्वी झण्डाजस्तै
फरफराइ रहेको छ गोप्य अङ्ग
त्यसैले ‘म’ जिउँदो छु ।
यतिखेर ‘म’ जुन गाउँमा बाँचेको छु
एउटा नागरिक जिउँदो हुनुका लागि
यति नै पर्याप्त छैन र ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला