
युवराज घलेभाइ (सिक्किम)
भोको मान्छेको बस्तीमा
असमय निभ्छ जून
उज्यालोमै खस्छ अन्धकार
लुटिन्छ सपनाको महल
अवाक् हेरिरहेछु
वरिपरि लुटेरा नै लुटेराहरू छन् ।
घाम चर्किएको छैन
सुक्खा समय पनि हैन
सिमसारहरू टार भइसके
धाराबाट खस्दैन पानीको थोपा
तिर्खाले व्याकुल भएर
सुक्दै छन् ऊर्जाशील आँतहरू ।
बेमौसममा आउँछ बाढी
सुसेल्दै
बडारेर लान्छ भुईँमान्छेका बस्तीहरू
रित्ता सपना
रित्ता आँगन
उदाङ्गो छाना
नाङ्गा आङ र भोको पेट भएपछि
अब पस्नु छ
सहरका अग्ला पर्खाल भत्काएर ..!!
भोको मान्छेको बस्तीमा
बर्सन्छ सेतै तुसारो र भरिन्छ बिछ्यौना
मार्दै छ जाँगर
पलाउन गारो मान्दै छ रहर
पाखाहरू देखिन्छन् उदास र उजाड ।
आउँदैन वसन्तको हरियाली
खुसीका पर्वहरू लिएर आउँछन्
टिनका छाना उडाउने आँधीबेहेरी
भोको मान्छेको रित्तो घरमा
नाङ्गो छ छानो
सामर्थ्य टुटेको छ
फेरि जूनको अनुहार लुकाउन ।
ऋतु परिवर्तन भएको छैन
तर वर्षाको समय सर्दै छ
भरिँदैनन्
उष्ण समयमा पानीका पोखरीहरू
फर्कँदैन समयमा हरियाली ।
बेमौसममा आउँछ बाढी
सुसेल्दै
बडारेर लान्छ भुईँमान्छेका बस्तीहरू
रित्ता सपना
रित्ता आँगन
उदाङ्गो छाना
नाङ्गा आङ र भोको पेट भएपछि
अब पस्नु छ
सहरका अग्ला पर्खाल भत्काएर ..!!



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 









