
१) नाङ्गिने युवती
कोठाभित्र
तिम्रो झरेको फरिया र चोलो
टिपेर तिमीलाई लगाइदिँदा
आफू नै
नाङ्गिए जस्तो भयो
आफूलाई के थाहा
तिमी महफिलमा पो
नाङ्गिने युवती हौ ।
२. दोष कसको ?
खडेरीमा पनि
बर्खा लागेको देख्छु
मरुभूमिमा पनि
हरियाली छाएको देख्छु
औंसीमा पनि
जून उदाएको देख्छु
आखिर दोष कसको ?
मेरो नजरको
वा उनको असरको ?

युवराज घलेभाइ (गान्तोक)
३. नसोध्नु मलाई
नसोध्नु मलाई
म कुन घरको हुँ
म कुन गाउँको हुँ
म कुन सहरको हुँ
म कुन ठाउँको हुँ
म त एक अल्लारे हुँ
एक आगन्तुक हुँ
एक पागल हुँ
जो भौतारिँदैछ
गाउँ–गाउँ
सहर–सहर
गल्ली–गल्ली
कुना–कुना
आफ्नो ऋणी ओठको
मुस्कान खोज्दै
शरीरको अन्तिम थकाइ मेट्ने
चिहान खोज्दै
र ती चिहानमा आँसु झार्नेको
पहिचान खोज्दै ।
४. आदत भैसक्यो
म अचेल अचानक हाँस्न पुग्छु
दुनियाँले मलाई पागल भन्छ
तर मेरो हाँसोको
मतलब यो होइन प्रिय
कि म खुसी छु
रुँदारुँदै
हाँस्ने मेरो आदत भैसक्यो ।
****
युवराज घलेभाइ
गान्तोक सिक्किम
इमेल : gurungyuwaraj1973@gmail.com



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










