कसरी सक्छन् मान्छेहरु
एक्लिन कोलाहलमा
कसरी सक्छन् निदाउन
काँडाको विछ्याउनमा
मन त यो पानी हो
कसरी भनौं छुदैन
छेउमा उठेको तरङ्गले ।
तिमीले दिएको कलमले लेखुँ
के लेखुँ ‘म’
तिमी भन्थ्यौ सपनाका कुरा लेख
संवेग र संझौनीहरु लेख
हैन जे-जे होलान् सुन्दर लेख
तिमीले दिएको कलमले लेखुँ
के लेखुँ ‘म’
तिमी भन्थ्यौ सम्झौताका गीत र ललित
कविता लेख
रहलान् प्रीतिका शेषहरु त्यो लेख
बन्द कोठरीभित्र दृश्यहीन सही
तै भन्नलाई भन्छु मै पनि
यतिबेला प्रीतिको घाम लाग्ने गर्थ्यौ
मेरो कवितामा
तिमी घाम दृश्य र अदृश्यमा तिम्रो के कुरा
लेखुँ के लेखुँ ? अँध्यारोको गीत लेखुँ अब ‘म’ ।
कोही भन्छन् – “बमबारी र विनाश मात्रै युद्ध हो” ।
‘म’ भन्छु – “मनमा उठेका धुवाँ र बतास पनि युद्ध हो”
‘म’ घलेभाइ – मेरै लागि एउटा युद्ध हो
निर्वाहको भूमिका
यसको निरन्तरता यथा निरर्थकता
के कुनै कम युद्ध हो ?
स्वीकार नगरुँ कसरी युद्धलाई ?
जन्मेर जब युद्धैै बाँचिरहेछु ‘म’
कसरी तरवारको धारले प्रीति लेखुँ ‘म’
कसरी तरवारको म्यानमा बसेर शान्त बाँचु ‘म’
तिमीले दिएको कलमले लेखुँ
के लेखुँ ‘म’ ।
पर्ख
खिया नलाग्ने एउटा बन्दुकको चित्र कोर्छु
एक थुप्रो तेज बारुदको लागि मसी पोख्छु
र यो सुन्दर कलम भाँचिदिन्छु
ढाँटु भने कसरी ढाँटु आफैंलाई
सपनाको पनि आफ्नै नक्षत्र हुँदोरहेछ
तिमी शीतल स्पर्श र अस्पृश्यमा
तिम्रो के कुरा
आगोमा सुतेको मान्छे ‘म’ त
कसरी नभनौ आगो कै सपना छ भनेर ?
लेखुँ अब ‘म’
जिन्दगीले यदि कुनै क्षण
त्यो अन्तिम क्षणसम्मको लागि
तिम्रो कलम फालिदिन्छु ।