जब जनताको औंलाको गलत
प्रयोग गर्न थाल्छ जनताकै छोराहरू
तब ती
हातहरुमा विद्रोहको मसाल दन्किन थाल्छन्
चोक-चोकमा, घर-घरमा घन्किन थाल्छन्
क्रान्तिका आवाजहरु।
जब जनताको छोरोमा म नै शासक हुँ
भन्ने अहंको विजारोपण हुन्छ
उसका अगाडि ती संविधान पनि
फगत केरिएका पानाहरु साबित हुन्छन्
अनी च्यात्तिएका भेटिन्छ डस्बिनका पिँधतिर।
अनि अर्काथरि जनताका छोराहरु जो
उखु चुसे जसरी चुसिरहेछन्
आम-सर्वसाधारणलाई
ती उभिन्छन् सडकमा हामी यहाँ छौँ
भन्ने पर्चा बोकेर नाटक मन्चन गरिरहेका छन्।
ती कहाँ थिए जब उखु किसानहरु आफ्नो पसिनाको
मूल्य खोजिरहेका थिए त्यही सडकमा
ती कहाँ थिए जब साना बालिकाहरु
बलात्कृत हुन्छन् सडकमा
ती कहाँ थिए जब एक प्रेमीलाई
सिङ्गो गाउँ नै मिलेर निर्मम हत्या गर्दछ।
आज देश न्याय खोजिरहेछ
सर्वोच्च अदालतसँग
अँध्यारो रातमा कालो बत्तीको प्रकाशमा
कहिलेसम्म हामी हिँडिरहने
लौन जजसाहेब मेरो देशको पक्षमा
फैसला सुनाइदिनुस्।
पुल्चोक क्याम्पस, ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









