नमस्कार,
म यो देशको जनता
म जति जोडले चिच्याए पनि
यो देशको हावाको अणु एबम् परमाणुले
कहिल्यै मेरो ध्वनि प्रवाह गरेनन्।
जस्को यो देशलाई कहिल्यै आवश्यक परेन।
सिवाय चुनाबमा
नेताजी,
अब हात जोडेर
कुना कन्दरा दूरदराजतिर पुग्दै नपुग्नुस्।
खुट्टा दुखाउदै नदुखाउनुस्,
मलाई माया लाग्छ
तपाईंको खुट्टाको होइन
त्यो जुत्ताको किनकि
मेरो पसिनाले सिंचित भूमिबाट
उब्जिएको करले किनेको हो त्यो जुत्ता।
नेताजी,
मेरो नाङ्गो आङको अगाडि रातो, सेतो,
पहेँलो, हरियो सूर्य उदाएको, तारा चम्किएको
झन्डा देखाउदै नदेखाउनुस्।
नेताजी,
मेरो अगाडि स्वतन्त्रताको व्याख्या गर्दै नगर्नुस्
किनकी म अझै पनि कोदालो र हँसियाको बिँडबाट
स्वतन्त्र हुन पाएको छैन।
नेताजी,
मलाई स्वाधीनता के हो सिकाउँदै नसिकाउनुस्
किनकि मेरो आँगन र घरको धुरी
मेरै आँखाअगाडि मबाट खोसिएको छ।
नेताजी,
मलाई तपाईंको
पार्टीको चिन्ह चिनाउन खोज्दै नखोज्नुस्
बरु मेरो आँखा नै झिकेर लैजानुस्
नेताजी,
मसँग अबदेखि भोट माग्न आउँदै नआउनुस्।
बरु मेरो औंला नै काटेर लैजानुस्।

पुल्चोक क्याम्पस, ललितपुर