
पिँजडामा कैद भएको परेवालाई
ऊ स्वतन्त्रताका बारेमा सिकाउँदै थियो,
ऊ भन्छ त्यो कैद परेवालाई, “तिम्रो पखेटाहरू
केवल उड्नकै लागि बनेको हो” तर
ऊ परेवालाई पिँजडाभन्दा बाहिर
कहिल्यै उड्न दिँदैन ।
ऊ हात्तीको खुट्टामा साङ्लाले बाँधेर,
भनिरहेछ “तिम्रा खुट्टाहरू केवल हिँड्न मात्र बनेका हुन्”
तर त्यो खुट्टा ऊ बाँधिनका लागि
मात्र प्रयोग गर्दै छ ।
ए चेतनशील मान्छे,
तिम्रो स्वतन्त्रताको परिभाषा के हो ?
मैले फेरेका श्वासहरूले मलाई बन्दी बनाइरहेको छ आज
मैले बोलेका हरेक शब्दहरूले बाँधिएको छु,
तिम्रा कागजमा लेखिएका अक्षरहरूले
मलाई रोकिरहेको छ एक
खुड्किलामाथि उक्लनबाट ।

तिमी मलाई तिमीले हिँडेको
बाटामा तिमीले कुल्चिएको धुलो सम्झिन्छौ ।
ए ज्ञानको महासागरमा हरदम चुर्लुम्म डुबिरहेको मान्छे,
धुलाबिना तिम्रो बाटाको अस्तित्व कसरी रह्यो ?
तिमीले पुज्ने गरेका ढुङ्गाहरूमा
म मेरा पैतलाका छापहरू स्पष्ट देख्दै छु
तर मेरो हातको छाप त्यो ढुङ्गाले किन नपाउने ?
ए स्वतन्त्रताको
सिद्धान्त बनाउने मान्छे,
मलाई पिँजडामा कैद गरेर,
मेरा खुट्टाहरूलाई साङ्लाले बाँधेर,
मेरो निधारमा बन्दुक दागेर तिमी कहिलेसम्म
सिकाउने छौ तिम्रा स्वतन्त्रताका ती सिद्धान्तहरू ?
बाह्रबिसे, सिन्धुपाल्चोक



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










