तिमी हिँड्ने बाटो

हिँउझैँ कोमल माटो

तिम्रो पैतालाको छाप

असाध्यै मिलेको नाप

तिम्रो मनमोहक हिँडाइ

वनमा कस्तुरीको कुदाइ

तिमी घर जाने उकालो

घुमाउरो भए नि लाग्छ सजिलो

तिमी खाने घट्टको पानी

अमृत समान मिठो छ सानी

तिमी बस्ने चौतारा

शीतल पानीको फोहोरा

तिम्रो ओठको मुस्कान

हराउँछ सारा थकान

तिमीले गाउने गीत

गाँसूँ लाग्छ साइनो र प्रीत

तिमी बस्ने सुन्दर डाँडा

फूलै फूल, छैन कुनै काँडा

हावाले उडाउने तिम्रो पछ्यौरी

फूलको सुगन्धले आकर्षण गरेको मौरी

आकाशमा गर्जिरहेको बादल

तिम्रै पायलको लयमा बजाइरहेको छ मादल

 

रुझाएको तिमीलाई साउने झरी

तिमी भएछौ वर्षामा नाचेको मयूर सरी

तिमी र मेरो बिचको केवल चार पाइलाको दुरी

पृथ्वी र चन्द्रमा झैँ टाढा बस्नु पर्ने मजबुरी

अन्ततः तिमीले आफ्नै छेउमा बस्न गरेको इसारा

मेरो अविराम यात्रालाई टुङ्गोमा पुर्याउने सहारा