बिहान सुर्यको किरणले उज्यालो
हुनु भन्दा पहिले नै मेरो
घरको होचो ढोका
खुल्दा घरभित्रबाट
निस्कने प्रकाशले उज्यालो
हुन्छ यो घर वरपरको वातावरण।
सानो आँगन जहाँ भकुण्डो खेलियो,
डन्डी बिगो खेलियो, माने ढलाइ खेलियो
लाग्छ कि त्यो आँगन कुनै ठुलो मैदान हो।
पिंढिमा उभिएका छन् तिनवटा काठका थामहरु
र थेकिरहेका छ्न सम्पुर्ण घरको भार
जसरि मेरा बाको बुढो काँधले थेकिरहेका छन्
सम्पुर्ण परिवार।
ति काठका थामहरु भित्रभित्रै काठकिराले खाएर
कमजोर भएका छन् तरपनि बाहिरबाट बलिया देखिन्छन्।
जसरी बलिया देखिन्छन् मेरा बा बाहिरबाट
यद्यपि उनलाई भित्रभित्रै दु:ख र
अभावको किराले खाएको
नै किन नहोस् ।
घरभित्र पस्ने ढोका म भन्दा पनि होचो छ।
धेरै पटक भाग्य लेखिएको भनेको निधार ठोक्किएको छ।
र धेरैपटक प्रश्न गरेको छु बासंग
“बा हाम्रो घरको ढोका किन होचो छ?”
बाको एउटै जवाफ आउने गर्छ
“बाबु, यो घर केवल घरमात्र होईन
यो त मन्दिर हो हाम्रो र मन्दिर
पस्दा सधैं झुकेरमात्र
पस्नुपर्छ।”
छिँडिको बिचमा क्षेत्रफलले सानो
तर आशाहरुको क्षेत्रफलले ठुलो अँगेना छ।
जहाँ साझ बिहान बाको पसिनाको
मट्टितेलमा आमाको ममता
र स्नेहको दाउरामा हामीभित्रको
भोकलाई जलाएर खरानी बनाइन्छ।
अगेनाको अगाडि दियोधरमा सानो दियो बल्ने गर्छ हरसाँझ
र दियोबाट उत्पन्न भएका आशाका किरणहरुले
घर झलमल्ल भैरहेको छ।
जब छिँडिबाट दस खुड्किला माथी चड्छौँ
तब निन्द्रादेविको मन्दिरमा पुगिन्छ।
जहाँ केवल रातीमात्र निन्द्रादेविको दर्शन गर्न पाइन्छ।
त्यहाँबाट दस खुड्किला माथि
उक्लिएपछि बुँइगल
देख्न पाइन्छ।
जहाँको भुइँमा मकैका घोगाहरु छन्।
भकारीमा धानका पाथीहरु छन्।
कोदोका बालाहरु छन्।
या भनौ हाम्रो साँझबिहानका निवालाहरु छन्।
पुल्चोक क्याम्पस, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।