काँधमा एउटा गह्रुँगो जुवा
अनि बेरिएका छन्, घाँटीमा एक डोरी
उ सकिनसकी घिच्याइरहेछ
मेरो काकाको हातले थिचिएको
एक लामो हलो अनि उसका
मेरुदण्डमा बर्सिरहेछन सिर्कनाहरु ।

जब त्यो हलो ढुङ्गामा अडकिन्छ,
अनि बर्सिन थाल्छन् सिर्कनाहरु
तर ऊ हलो तान्न सक्दै सक्दैन त्यसपश्चात
मेरा काका आफ्ना हातैले त्यो हलो उठाउँछन्
ती गोरुका आँखाबाट खसेका आशुका थोपाहरु
भर्खरै जोतेको खेतका आलो माटोमा बिलाएछ्न्
क्यारे, त्यसैले त काकाले ती आँशुहरु देखेनन।

ऊ आँशुले टिलपिल भएका आँखाले मलाई
हेरिरहेको छ, म उसका आँखामा आफैँलाई देखिरहेछु
सायद ऊ भनिरहेछ तँ पनि त एक गोरू नै होस्।

हो म पनी त एक गोरू नै त हुँ,
मेरो पनि त काँधमा जिम्मेवारीको एक गह्रुँगो जुवा छ
मैले पनि त ती तमाम रहरहरुलाई
बाध्यताको डोरीले पासो लगाइदिएको छु
हो म पनि त एक गोरु नै हुँ

हो म पनी त एक गोरू नै त हुँ,
म मेरो वर्तमानको फराकिलो गरालाई
विगतका तीता यादहरुको तिखो फालीले
जोतिरहेछु अनि भविष्यका
सुन्दर योजनाहरु रोपिरहेको छु
हो म पनि त एक गोरू नै त हुँ।

लाग्छ कि
मभित्र पनि एक गोरूपनाको बास हुन्छ
त्यसैले त कसैले गोरू भन्दा गाली होइन
तारिफ गरेको आभास हुन्छ।

पुल्चोक क्याम्पस, ललितपुर