भर्खरै यो सहरमा क्रान्ति भएको थियो
तर दाम्लो झैँ गलामा बाँधिएको पुरानो बन्धन
अझै लत्रिरहेको छ
मान्छेहरूको घाँटीबाट।

सुन्न सक्छौ अँध्यारो कोठामा रुमल्लिएका
आमाहरूको रोदनको अवशेष
जसका छोराहरू फर्केर आएनन् ।

सुन्न सक्छौ भित्तामा शिर बजार्दै
कुदिरहेका प्रतिध्वनिहरूमा
ती दिनहरूका गल्लीका जुलुसहरूको बुलन्द नारा,
भागिरहेका पैतालाहरूको आवाज
र गोलीको पट–पट–पट विस्फोटका ध्वनिहरू।

खुट्टाका प्रतीक्षामा अझै पनि
सडकमा छन् बेवारिसे जुत्ताहरू।

खरानीको गन्ध अझै तिख्खर छ,
सहरका चम्किला भित्ताहरूमा
विद्रोही आँखाहरूले कोपरेका
छिया–छिया धर्काहरू अझै जीवित छन्।
त्यहाँ लावारिस नाराहरू उदास पल्टिरहेकै छन्।

हामी अझै घर आइपुगेकै छैनौँ,
तर मस्तिष्कमा रक्तिम हत्केलाका छापले लेखिएको
विद्रोह क्रमशः सड्न शुरू गर्दै छ
र नेपथ्यबाट ब्युँझँदै छ उही जर्जर पुरातन सत्ता।

आइपुगेको छैन हामीले छुन खोजेको शान्तिको क्षण,
न छुटेको छ पुरानो भय।
एउटा गरुङ्गो मौनता मात्र छ फैलिएको।

पीडाले घण्टाघर अझै मौन र जडवत् छ,
युवाहरूको मृत्युमा धरहरा मौनधारण गरेर उभिएकै छ,
तर थाकिसकेका छन् ती हिजोका बुलन्द आवाजहरू।
सडक छेउमा मिल्किएको छ पोस्टर अस्ताएका अनुहारहरूको।

शहीदगेटमा तिनका सालिक बनेका छैनन्,
हरेक सत्ताको चरित्र रहेछ अनुहारहरूलाई चिन्न अस्वीकार गर्नु।

फैलिएको छ सहरमा अनुत्तरित प्रश्नहरूको जथाभावी जङ्गल,
देश खोज्नुपर्ने भएको छ काँडाका झाडी जस्ता
अनेकौँ जवाफहरूमा,
अनेकौँ अफवाहहरूमा।

छायापछि पुनः छायाकै सत्ता छ,
अधुरो विजयको दर्पणछाया भएको छ वर्तमान।

क्रान्ति सकिनु र जित्नु नहार्नु होइनरहेछ,
कहिलेकाहीँ विजयघोष नयाँ कुहिरोको उद्घोष हुने रहेछ,
लुकाइएका सत्ताका सयौँ चिहानहरू उत्खनन हुन छुट्ने रहेछन्,
फर्केर आउने रहेछन् गाडिएका भूतहरू।

छलाङ नहान्दो रहेछ,
घिस्रिँदै/ लत्रँदै हिँड्दो रहेछ समय।

यो समय नेपथ्यमा अपरिचित पात्रहरू
हलचल नगरी उभिएका छन्,
तर मञ्चमा तिनका छायाले
एकअर्काको छायालाई तर्साइरहेछन्/ लखेटिरहेछन्/ खाइरहेछन्,
सहरमा एउटा निस्तब्ध नाटक मञ्चन भइरहेछ।

बचेको उज्यालोलाई हत्केलाहरूको छेकोले जोगाएर
हामी घडी हेरिहेरेका छौँ अझै कति प्रहर,
कति रात बाँकी छ।

भर्खरै यो सहरमा क्रान्ति भएको थियो
तर क्रान्ति सकिनु अर्को युगको आरम्भ होइनरहेछ।