सधैंझैं कृष्ण मन्दिरमा
उसै गरी घण्टा बज्दै थियो
उस्तै गरी प्रांगणमा परेवाहरू
निर्विघ्न चारा टिप्दै थिए
मन्दिर पछाडि हाँसिरहेका थिए
बारूदमाथि बाँचिरहेका निर्भीक मान्छेहरू
अनि मेरा साथीहरू र म

हामीलाई थाहा थियो
हाम्रो जमिनमा धाप छ
हामीलाई गन्ध आउँथ्यो
हावामा बारूदको राप छ
हामीलाई अनुभव थियो
नदी तरङ्गका लयमा
रक्तबिन्दुहरू विलय भएका छन्
समयले मस्तिष्कमा
भयको हुस्सु उडाएको थियो
तर बाँच्नको खातिर
मृत्युको तरबारमाथि
हाँसी हाँसी हामी
निक्लेका थियौं कुरूक्षेत्रको शहरमा
चराहरू चारा टिप्दैथिए
र घण्टाहरू बज्दैथिए

बीच चौबाटोमा एक्कासि
एउटा ब्याधा आयो
उसले बाटाहरू छेक्दै सुनायो
धनुषले पशु उग्रता मासी
शान्तिको मन्दिरमा ऊ
मनुष्यताको मूर्ति राख्नेछ
परेवाको मष्तिस्कमा लुकेका त्रासहरू
विस्मित आँखामा देखिए
उस्ले हाम्रो हामित्वमाथि शंङ्का गर्यो
उस्का चंख आँखाहरू
हाम्रो परिचय खोज्दैथिए
के उसले बुद्धको आँखाको
मनुष्यतालाई चिनेन ?

शंकित आँखाबाट आकाशमा
परेवाहरूले जाल खस्दै गरेको देखेँ
निमेषमा शान्ति भंग भो
र डरले ती बिजुली सरी उडे
तर झट्ट जालपाशले
केही जोडी परेवाहरू बाँधिए

ब्याधालाई परेवा
परेवा हुनुको विश्वास थिएन
र केही निर्दोष परेवाहरू
पिँजडाभित्र कैद थिए

अझै बज्दै थिए घण्टाहरू
तर ध्वनि भित्र कतै क्रन्दन थियो ।

 

 

शंखादेवी