न आमाको गर्भलाई फुर्सद भो

मलाई जन्माउने

अग्नि पुत्री हुँ

त के आश्चर्य भो

अग्निझैं दिप्त रूप

र अग्निझैं क्रोधको

 

मेरो भाग्यलाई

नक्कली माछाको आँखा

र अज्ञात योद्धाको तिरसँग जोडिदिएर

मलाई नै दोषी बनायो युगले

 

रोटीझैं भाग लगाइयो

मेरो यौवनलाई

ढोकामा पालो कुरेर पालैपालो

चिथोरियो मेरो शरीर

कसरी बुझ्नु प्रेम

जब टुक्रा टुक्रा अंशबण्डा हुन्थ्यो मुटुको,

अनि

मुखबाट आगो नओकले के ओकलुँ म ?

 

अर्धाङ्गिनीको अस्मिता

जुवाको बेश्यालयमा बेच्ने लोग्ने

मलाई कुरिरहेको निर्लज्ज राजसभा

काँतरहरूको कामातुर तिघ्राहरू

मेरो अस्तब्यस्त केशराशी

असरल्ल सारी

र मेरो नग्न देह हेर्न

प्रतिक्षारत आफन्तका नजरहरू

तब कसैले भनोस्

किन नगरूँ म प्रतिज्ञा

तिघ्रा चिथोरेर रगतले केश रंग्याउने ?

 

मेरो प्रतिज्ञाले

जन्मन्छ भने जन्मोस् महाभारत

पटक पटक होस् युद्ध

मर्नै पर्छ

यस्तो युगका वीर कहलिएकाहरूले

बुझून् प्रत्येक पुरूषहरूले

प्रत्येक द्रौपदी

सुहागरातका योद्धा मात्र हैनन्

 

युद्धपछि

छ त केवल एउटै अव्यक्त पश्चाताप

किन बाँचे यी पाण्डवहरू ?

जो मलाई जुवामा बेचेर पनि

अझै कोठाबाहिर पालो कुरिरहेछन् ।