सिकुवामा बसेर चोया खिप्दै गर्दा
यन्त्रझैँ चल्ने बुबाका ती परिश्रमी हातहरू।
चामल निफन्दै गर्दा सेताम्ये हिउँसरि
भुसले छोपिएकी आमाको त्यो मुहार ।
आँगनमा छताछुल्ल हाँस, परेवा र कुखुराहरूको साम्राज्य ।
गोठ अनि खोरमा गाई–बाख्राहरूले चलाउने मनमौजी ।
घुरेनमा टुसाउँदै गरेका बेलचण्डा र खोर्सानीका कलिला मुनाहरू।
रहर उमारेर करेसाबारीमा हर्लक्कै बढेका कोबी,
धनियाँ, रायो र आलुका बिरुवाहरू ।
तँछाड–मछाड गर्दै लहराउने गोलभेँडाका लहराहरू।

बर्खामासमा बाछिटाले हान्दा बलेँसीमा
झङ्कृत प्रतिध्वनी कुनै सुमधुर सङ्गीतको तालजस्तै सुनिन्थ्यो।
हिउँदमा मुटु हल्लाउने गरी चल्ने शीतलहरको वेग
घरको चार दिवारीमा कैदीजस्तै थुनिन्थ्यो ।
दलिनभरि बिहानै पाहुना लाग्ने घामका किरणहरू।
कर्कलाका पातमा टल्किने मोतीजस्ता शीतका थोपाहरू ।
साँझ बास बस्न फर्केका पन्छीहरूको कल्याङमल्याङ ।
आरु र अम्बाका फूलमाथि भुनभुनाउने मौरीहरू ।
आफैँसँग लुकामारी खेलेर नथाक्ने सेता, पहेँला, खैरा पुतलीहरू।
हक जमाएर आफ्नो घर बनाउन व्यस्त कमलकोटीको भुनुनुँ।

मंसिरको चटारो होस् वा असारको हतारो,
याम अनुसारको कामको भारीले थिचिनुको बेग्लै मज्जा थियो।
खमारभरि धानको कुनिउँले हल गोरूसँग साउती गर्थ्यो दाइँ गर्नलाई।
टहटह जून टल्किने खेतका गराहरूले बाटो कुर्थे
अधीर भएर रोपाहारलाई।
मानौँ यो एक प्रजनन चक्र हो
मानव र माटोबीचको, जहाँ
दुवै हतारमा हुन्छन् गर्भधारण गर्नलाई।

एकैछिन फुर्सद निकालेर लाम्पाते सुर्तीको सर्कोले
थकानलाई गलहत्याउँदै छिमेकीसँग गफिनु
देशको भविष्यदेखि सन्तानको भविष्यसम्म,
कुलो–पैनीको समस्यादेखि बालीनाली बिग्रेकोसम्म
किञ्चित चिन्ताले पिरोलिएर हतारमा बिसाइ राखेर मनको गरुङ्गो भारी
कोदालो काँधमा भिरेर खेततिर लम्कनु
यो एक दिनचर्या मात्र थिएन
त्यो त एक आहुति थियो
त्याग अनि समर्पणको
त्यो त एक तपस्या थियो, जीवन अनि भोगको।

वल्लो ठाउँबाट पल्लो ठाउँ
बुर्कुसी मार्ने गाईका बाच्छाहरू।
बेलगाम खुसीले बगैँचातिर उफ्रिहिँड्ने बाख्राका पाठाहरू।
छानोमाथि चिरबिराउने भँगेरीका बचेराहरू।
बाँसको झ्याङबाट एकतमासले आउने झ्याउँकिरीको झ्याउँझ्याउँ।
चुक घोप्टिएको अँध्यारोमाझ बेफिक्र नाच्ने जूनकिरीसँगै त्यो पुरानो घर
जहाँ, घाम उदाउँथ्यो, इन्द्रेणी हाँसो लिएर, घाम अस्ताउँथ्यो, गुलाबी खुसी छोडेर।

के थिएन त्यो घरमा ? सबथोक थियो
मैले देख्न नजानेको सपनाबाहेक।