
किन होश गुमाउँछ, समय समयमा सडकले?
हिमालदेखि कावा खाँदै, त्यसै ओर्लिएको हैन गिद्द
सडकमा कोही लडेको छ
धेरै बेर भो नचल्मलाएको
शायद मुटु अन्तै उछिट्टिएको छ
पानी नपाएपछि
साह्रै तिर्खाएको काकाकुलले
गिद्ध आउनुअघि नै
रगत पिइसकेको पो थियो कि?
कतै रगतको टाटो देखिन्न।
के उसलाई गोली लागेको हो?
चोकमा कसैको सालिक छ
उसलाई त गोली लागेको छैन
फुटपाथ छेवैको मन्दिरमा जो देवता छन्
उसलाई पनि गोली लागेको छैन
कुनै टिभीका समाचारमा, यस्तो समाचार छैन
कसैले गोलीको आवाज सुनेँ भनेका छैनन्
अरू कोही घाइते भएको
त्यता ढलेको
सडकमा कोही घस्रिएको रगतको दाग
लाठीचार्ज, हाथापाई, ग्याङफाइट
सरकार यो बाटो हुँदै हिँडेको
या विद्रोही यताबाट गएको
कोही कसैले केही देखेँ भन्दैनन्
सिधा जवाफ छैन
के उसलाई गोली लागेको हो?
अहँ थाहा छैन
बिहान जोगाएको चिसो दाल तताउन उठ्नु पर्ने हो
घरमा पैसा पठाउनु थियो होला, उठ्नु पर्ने हो
रक्सी खाएर लडेको भए पनि
रक्सीकै उधारो तिर्न पनि त उठ्नु पर्नै हो
आमा-बाका आँखा
श्रीमतीका नुनिला आँशु
छोरीको हत्केला
सरकारको ज्यालादारी
केही न केहीले झल्याँस्स ब्युँझनु पर्ने ऊ
निदाएकाहरू त अघि नै उठेर हिँडिसके
ऊ हिजै साँझ जानुपर्थ्यो
पाँच बजेपछि सरकारलाई त छुट्टी हुन्छ
विरोध जुलुसले त झण्डा समेटी सके
कोही आफ्नै देशमा
कसरी यत्ति बेवारिस पल्टिन सक्छ ?
तर अपरिचित छ उस्को परिचय
को हो ऊ?
किन होश गुमाउँछ सडकले?
वरपरका कुनै क्यामेरामा पनि
चिसा रातमा
सडकले उसलाई अंगालोमा बेरेको देखिएन
सडक तन्ना हुनसक्छ, सिरक हुन सक्दैन
खुजमुजिन सक्छ, च्यातिन सक्छ
कात्रो हुन सक्छ, सिरक हुन सक्दैन
रातभर ऊ यसैगरी चिसोमा लडिरहेछ
सर्टको मुजामा तुसारोको सेतो धर्को छ
बिहानको घाममा पनि नीला हत्केला तातेको देखिन्न
मान्छेहरूलाई त्यति फुर्सद नहुँदोरहेछ
बोलाइदिएको भए पनि त हुने
झक्झकाइदिएको भए पनि हुने
भनिदिएको भए हुने
आज बेस्मारी हुरी चल्ने पूर्वानुमान छ
तिम्रो धुरी उडाउन सक्छ, तिमी घर जानु पर्छ
कुरिरहेकाहरू भोकै हुन सक्छन्
भोलि, पर्सि, निपर्सि पनि भात नजुर्न सक्छ
छोराको फिको बिल आएको हुनसक्छ
आमाको अपरेसन गर्ने बेला भएको हुनसक्छ
साहुले अर्को कामदार राख्न सक्छ
तर मान्छेहरू नरोक्किकन बेतोडले कुदिरहेछन्
गाडीहरू उसलाई नछोइने गरी पन्छिएर गइरहेछन्
उनीहरूलाई डर छ
चक्काको डाम पिँडुल्लामा बस्ला भन्ने
कुकुरले पनि सुँघेर मात्रै गयो
ऊ उठेन
गिद्ध आइपुग्दैछ
तर सोधिनुपर्ने प्रश्न चाहिँ
कुन हिंस्रक जनावर आएको थियो ऊ लड्नुअघि?
किन होश गुमाउँछ सडकले समय समयमा
र दिनदहाडै मसानमा परिणत हुन्छ सडक ?
दिन आधा नै घर्केपछि
पुलिसहरू
एम्बुलेन्स र शववाहन
सबै आइसकेपछि पनि
हस्पिटल, मुर्दाघर जताततै घुमाइसकेपछि पनि
क्यामराहरू, पत्रकारहरू
र समाचारमा समाचार आइसकेपछि पनि
ऊ बेवारिस नै थियो
बल्ल आइपुगेछ
गिद्द ऊ लडेको सडकमाथि घुमेको घुम्यै छ
साँच्चै भन्नुपर्दा गिद्ध जानीजानी ढिलो आइपुग्यो
सूर्य डुब्छ
रात सुनसान हुन्छ
सब चुपचाप निदाऊ
नबोल, ननिस्क, औंलाले कतै इशारा नगर
कारणको खोजी नगर
नत्र होश गुमाउँछ सडकले
अर्को बेवारिस मान्छे भेटिनसक्छ यही सडकमा
तर थियो
उसको छातीमा एउटा दुलो
जहाँ थियो
त्यतिञ्जेलसम्म ननिभेको एक लप्को आगो
र यही नै त्यो कुरा थियो
जो कहिल्यै हामीहरूलाई भनिएन ।
शंखादेवी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

