आकाश चरक्क चिर्ने को हो ?
जमिन धुजाधुजा पार्ने को हो ?
समुद्र सर्लक्कै पिउने को हो ?

झर्दै गरेका फूललाई
पातहरूले हताहरूले झैं टप्प टिप्न खोज्दा
पैतालाले टेकिदिने को हो ?

चराहरूको पखेँटामा झुण्डेर उड्नै नदिने को हो ?

बाँदरको मुटु झिकेर हेर्दै हेर्दै
आफ्नै मुटुको चित्र कोर्ने को हो ?

को हो
जो अरूलाई जन्मिन दिँदैन
र आफू मर्न चाहँदैन ?

बाक्लो आणविक तुवाँलोमा अल्मलिएर
जून एक अंगुल नहिँडेको कयौं रात भो
उत्ति नै भो सूर्य नआएको
उत्ति नै भो आकाशबाट उज्यालो नखसेको
हावा स्थिर छ
न उठ्छ, न उड्छ, न झर्छ बादल
हिउँ युगौं भो नजमेको
पानी युगौं भो नबगेको
ताल नग्न अस्थिपञ्जरमा बदलिएको छ
फूलमा रङ छैन
रूखमा हरियाली छैन
न सुवास, न सुगन्ध, न सौन्दर्य
कुनै जनावरको नशामा रगत छैन
प्राणमा जीवन मधुरो छ
तर पनि आँगनमा डाइनिङ टेबल सजाएर
भोज गरिरहेकाहरू को हुन् ?

ती को हुन्
जसको जीवन शुरू हुँदा
धर्तिको मृत्यु शुरू भएको थियो ?

शंखादेवी