कुवामा कराउँछन्
भ्यागुता ट्वार ट्वार
कान खाइसक्यो
लौ भन भानु
अब कता जानु ?

जुन दिन खनायो
घाँसीले कुवा
भ्यागुतालाई भयो
त्यही दिनबाट खुवा
भानु ! तिमीले
किन रामायण लेख्यौ?
किन पुराएनौं कुवा?

तिनै भ्यागुता
तिम्ले खनेको जग भत्काउँछन्
कता के के पाउँछन्
त्यही त्यही लत्काउँछन्
नेपालीमा अंग्रेजी पीठो फत्काउँछन्
च्याख्ला र ढिढो पकाएर
सुजी पस्कन्छन्
ऋषिलाई रिसी बनाइसके
शहीदलाई सहिदको सूलीमा चढाइसके
दीर्घलाई मिर्ग झैँ लखेटी सके
शुद्धलाई असुद्द बनाइसके
धनको पोकोमा जताततै गनाइसके

अब त गन्धलाई सुगन्द भन्छन्
आफ्नै दुर्गन्धमा आनन्दित छन्
तर त्यो दुर्गन्धले पुरै कुवा
विषाक्त छ
मूर्छित छ
हायलकायल छन् किरा फट्यांग्रा
कुवाबाट चुहुँदै गएको पानी
अनि त्यो पानीसँग भागेका जीव
चिन्तित छन् बेलाबखत
तर खाने मेलोमा कुवाभित्रै रमेका
विषाक्त भ्यागुता
छाड्दैनन् कराउन
ट्वार ट्वार कराइरहन्छ

सुन्दा सुन्दा ट्वार ट्वार
दुनियाँमा कानै खाइसक्यो
लौ भन भानु
अब कता जानु ?