शरण खत्री
भोजपुर । राजेन्द्र कार्कीद्वारा लिखित र फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ का युवा समीक्षकहरू पुरस्कृत हुनुभएको छ ।
भोजपुरको दावाँस्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा गत मंसिरदेखि अतिरिक्त पाठ्यक्रम अन्तर्गत ‘खाइराइड’ को पठनपाठन सुरु गरिएको थियो । विद्यार्थीहरूले सङ्ग्रह अध्ययनपश्चात् शिक्षकको निर्देशनमा समीक्षा लेखन गर्नुभएको थियो ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कृष्ण-लक्ष्मी, लक्ष्मी स्मृति प्रतिष्ठानद्वारा नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयका विद्यार्थी तथा शिक्षक-कर्मचारीलाई ट्याक सुट वितरण कार्यक्रमको अवसरमा नेपाल सरकारका पूर्व परराष्ट्र सचिव एवम् संयुक्त राष्ट्रसङ्घका पूर्व स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, जिल्ला समन्वय समिति, भोजपुरका प्रमुख कमल थुलुङ राई, वि.व्य.स.का अध्यक्ष ज्ञानबहादुर बस्नेत र दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व सचिव भट्टराईले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता र अरूका कृतिमाथि आफ्नो दृष्टिकोण राख्ने क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँका अनुसार, युवा पुस्तामा साहित्यिक चिन्तनको विकास गर्नु आजको आवश्यकता हो र यस्ता पहलले त्यसमा टेवा पुर्याउँछ । विद्यार्थीहरूको उत्साहजनक सहभागिता र उहाँहरूले प्रस्तुत गर्नुभएको समीक्षा कार्यक्रमको सफलताको सूचक भएको पनि उहाँले बताउनुभयो । यस कार्यक्रमले साहित्यिक चेतना फैलाउन र युवा पुस्तामा सिर्जनात्मकताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










