साहित्यपोस्टद्वारा स्थापित “साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार” २०८० का लागि ५ गैरआख्यान कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’का स्रष्टा राजेन्द्र कार्कीसँगको संवाद प्रस्तुत गरिएको छ ।
===
राजेन्द्रजी, ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को छोटो सूचीमा तपाईँको पहिलो पुस्तक छनौट भयो । कस्तो महसुस गरिरहनुभएको छ ?
पहिलो त, खुट्किला चढेर खाइराइड अलि माथि पुगेछ भन्ने अनुभूति भैरहेको छ। आफ्नो सिर्जनाले सफलताको सिंढी चढ्दा अवश्य खुशी लाग्छ।
दोस्रो, ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को छोटो सूचीमा खाइराइड पर्नु भनेको धेरै पाठकको नजरमा पर्नु हो। सहित्यपोस्ट दशौँ हजार पाठकले देश विदेशमा पढ्छन्। हरेक दिन पढ्छन्। तन टाडा भए पनि मन मातृभूमिमा गाढा हुने हामी जस्ता लाखौं नेपाली जनका लागि साहित्यपोस्ट साथी हो। यस्तो लोकप्रिय साथीले खाइराडको लोकप्रियता माथी पुर्याइरहेको छ। जसले गर्दा लेखक, समीक्षक र पाठकको नजर परिरहेको छ। यो त एउटा अवसर हो ! अवसरले नै अवसरविहिन प्रतिभालाई प्रस्फुटित हुन दिने हो नि।
अझ महत्त्वपूर्ण कुरा त पुरस्कारको सूचीमा पर्नु भनेको कृतिको उच्च मूल्यांकन पनि हो । ल तपाईँ आफै भन्नुहोस् त – एउटा स्रस्टालाई यहाँ भन्दा खुशीको क्षण कुन होला त ?
बजारमा कुन किताब आयो? कुन किताब कस्तो छ? भन्ने जानकारी साहित्यपोस्टले हरेक दिन गराउछ। कुन नयाँ, कुन पुराना, कुन नाम चलेका, कुन नाम नचलेका नभनी हरेक लेखकलाई स्थान दिन्छ, त्यो साहित्यपोस्टको सबै भन्दा सुन्दर पक्ष हो। अव हामी जस्ता पतालवासीलाई साहित्यपोस्ट एउटा राम्रो प्लेटफर्म बनेको छ।
अक्सर पहिलो कृतिका रुपमा कवितासङ्ग्रह प्रकाशनमा आउने गर्छन् । तपाईँले ज्यादै कम पढिने गैरआख्यान विधामा हास्यव्यङ्ग्य किन लेख्नुभयो ?
ज्यादै कम पढिने गैरआख्यान विधामा हास्यव्यङ्ग्य किन लेख्नुभयो भन्ने महत्त्वपूर्ण प्रश्न हो। यस सन्दर्भलाई अलिकति मेरो विगत जोड्न चाहेँ । म बच्चैदेखि अलि हसाउने पाराको थिए। मलाई घर परिवारका मान्छेले उल्फट्याङ्ग भन्थे। म सानै छँदाको कुरो हो, त्यति बेला कोलगेट नामको नयाँ टुथपेस्ट बजारमा आएको थियो। कुनै एकजना दाइले यो त कोग्ल्याँटो कुरो गर्छ फ्याट्ट भनेका थिए। त्यसपछि च्याट्ट मेरो नाम कोलगेटमा परिणत भयो। तर मेरो बोली र प्रस्तुतिमा हास्यचेत छ भन्ने मलाई थाहा थिएन।
अक्सर पहिलो कृतिका रुपमा कवितासङ्ग्रह प्रकाशनमा आउनेचाँहि “जता हावा चल्यो उतै पात हल्लियो” जस्तो हो कि लाग्छ । फेरि हावा चलेको दिशामा हल्लिन सजिलो पनि हुन्छ कि, खै के हो ! तर अधिकांश मान्छेमा एउटा प्रवृत्ति हुने रहेछ – अरुले जे गर्यो त्यही गर्ने। साहित्यमा पनि त्यही प्रवृत्ति हावी छ कि जस्तो लाग्छ मलाई । फेरि तँ चाहिँ यो प्रवृत्तिबाट अलग छस् ? भन्नु होला। म पनि छैन। किनकि म पनि अरु मान्छे जस्तै मान्छे हुँ। लेखनको हिसाबले त मैले पनि पहिलो कृतिको रुपमा “निरिह देउता” नामक कवितासङ्ग्रह तीन वर्ष पहिले नै तयार पारेर राखेको हुँ। तर गर्भमा पहिलो भए पनि जन्ममा कवितासङ्ग्रह पहिलो हुन सकेन। लेखनको गर्भमा तेस्रो भए पनि जन्ममा हास्यव्यङ्ग्य कृति खाइराइड पहिलो हुन पुग्यो। किनकि म जे गर्छु भनेर सोच्छु, त्यो हुँदैन। जे गर्छु भनेर सोच्दिनँ फेरि त्यो हुन्छ।
यो निबन्धसंग्रह लेख्छु भनेर लेखिएको होइन । तर लेखियो । लेख्दै गर्दा ममा गजबका दार्शनिक र वैचारिक भाव आउँथे। हिँड्दै गर्दा आउँथे, गाडी चलाउँदा आउँथे। सुतेको बेला आउँथे र म जुरूक्क उठ्थेँ । “मध्यरातमा फेरि के फुर्यो यो बुढोलाई, खुरूक्क सुत, आफ्नो पनि निन्द्रा बिगार्यो, अर्काको पनि निन्द्रा बिगार्यो ।” सखी कराउँथिन् । तर म लुसुक्क चुपचाप बैठक कोठामा जान्थेँ र लेख्थेँ ।
पताल देश क्यानडा आएपछि एकपटक पिसाब रोक्किने रोगले मित लगायो। मिताको चिता जलाउन अस्पताल गएँ। क्यानडाका अस्पतालमा आठ दश घण्टा कुर्नु त सामान्य रहेछ । कुर्दा कुर्दै किड्नीले बाटो तताउला कि जस्तो भइसकेको थियो। तर पनि फास्टट्रयाकको माध्यामबाट उपचार भएकोले आठ दश घण्टा कुर्न परेन, तर पनि मेतेरी साइनो नटुटेकोले पटक पटक अस्पताल जानु पर्यो । त्यसरी जाँदा त आठ दश घण्टा कुर्न सामान्य भयो। फेरि यहाँका मान्छेको अस्पताल, बैंक, ट्रेनलगायत जुनसुकै ठाउँमा लामो लाइन लागेर कुर्न सक्ने जुन धैर्य छ, त्यो देख्दा मलाई अचम्म लाग्छ। हामी कहाँ भए त तोडफोड, नाराजुलुस भैसक्थ्यो होला।
एक महिनाभन्दा बढी समय पिसाबको थैलो पिँडुलामा बाधेर ट्रेनबाट काममा आउने जाने गरेँ । डाक्टरले पिसाबको थैलो त निकाले, तर पिसाब छिटो छिटो आउँथ्यो। म बस्ने भ्यानकुभर शहरको ट्रेन स्टेशनमा शौचालय छैनन् । त्यसले मलाई साह्रै आपत पार्थ्यो। त्यस्तो आपत नेपाल हुँदा पनि भोगेको थियो। त्यस्तै भगाई समेटेर “धारा शौचालय माहात्म्य” निबन्ध लेखेँ । तपाईँकै साहित्यपोस्टमा छापियो। जतिले पढे, त्यो निबन्धले हसाएन भन्ने कोही भएनन्। फेरि त्यस्तो पीडा नभोग्ने पनि कमै हुँदा रहेछन्। पाठकले त्यो निबन्ध अत्याधिक मन पराएपछि जन्म नै लागेका दाइदिदीलाई गर्भमा धकेलेर हास्यव्यङ्ग्य कृतिको रुपमा “खाइराइड” पहिलो सन्तान भएर जन्मियो ।
नेपाली साहित्यमा गैरआख्यान कम लेखिन्छ । अझ हास्यव्यङ्ग्य लेखन त मृतप्रायः बनेको अवस्था थियो । यस्तो अवस्थामा ‘खाइराइड’ प्रकाशनमा आएको हास्यव्यङ्ग्य विधाको कृतिमा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हास्यव्यङ्ग्य लेखन मृतप्राय: बनेको अवस्था भनेर यहाँले भन्नु भयो, तर खाइराइडले पाएको प्रतिक्रिया र चर्चा देख्दा हास्यव्यङ्ग्य त बैंसले भरिएकी सुन्दरी हो जस्तो लाग्यो । तर कस्ती सुन्दरीलाई कस्तो मेकअप गर्ने भन्ने कला र सीप मेकअप गर्नेले जान्नु पर्छ जस्तो लाग्छ । तर नेपाली हास्यव्यङ्ग्य मृतप्राय: हुनुमा राजनति बाहेक अर्को विषय नै छैन झैँ ठानेर लेख्ने हामी लेखक नै जिम्मेवार छौं कि जस्तो लाग्छ । फेरि राजनीतिज्ञलाई जति गाली गरे पनि कुनै महानहानीको मुद्दा नलाग्ने रहेछ । गालीले साह्रै चित्त दुख्यो भनेर राजनीति छोड्छु भन्ने नेता नेपालमा कतै देखिँदैनन् । नेपाली नेतालाई दुख्दै नदुख्ने रहेछ । उनीहरूको छाला पनि गैँडाको जस्तो हुने रहेछ कि क्या हो !
फेरि हसाउनु राम्रो कुरा हो भन्ने मान्यता समाजमा पहिले थिएन। अहिले श्रव्यदृश्यले गर्दा कमेडी लोकप्रिय हुँदैछ। नत्र पहिले त जो गमी छ, उही दामी र भलाद्मी मानिथ्यो। उही उदारहण बन्थ्यो । उसैको प्रशंसा हुन्थ्यो । हास्यो कि नास्यो भन्ने सामाजिक मान्यता भएकाले नै हसाउने मान्छेलाई जोक्करको उपमा दिइन्थ्यो। उसको खासै इज्जत र पहिचान हुँदैन थियो। साहित्यमा पनि हास्यव्यङ्ग्य साहित्यको अवस्था अझै लगभग त्यस्तै छ। ल तपाईँ नै भन्नुहोस् त, नेपाली साहित्यमा कतिवटा हास्यव्यङ्ग्य कृतिले पुरस्कार पाइएका छन् ? कुनै कृतिको नाम भन्न सक्नु हुन्छ ? फेरि स्कुल कलेजको पाठ्यपुस्तकमा पनि हास्यव्यङ्ग्यको स्थान कति छ ? न्यून । अनि यस्तो अवस्थामा हास्यव्यङ्ग्य साहित्य मृतप्रायः नभएर के होस् त ?
हास्यव्यङ्ग्य साहित्य मृतप्रायः अवस्थामा हुँदा पनि खाराइडले यति धेरै चर्चा परिचर्चा बटुलेको छ, त्यो मैले कल्पना पनि गरेको थिएन। यो पुरै हास्यव्यङ्ग्य साहित्यको लागि शुभलक्षण हो जस्तो लाग्छ मलाई। राजनैतिकभन्दा सामाजिक विषयमा अधिकांश निबन्ध लेखिएको भएर होला खाइराइडले अत्याधिक चर्चा परिचर्चा पाएको होला । प्रकाशित भएको आठ महिनाको छोटो अवधिमा लगभग एक दर्जनभन्दा बढी समीक्षात्मक लेख प्रकाशित भइसकेका छन् । मेरो जन्म गाउँ भोजपुरदेखि काठमाडैँ, क्यानडा र अमेरिकासम्म आधा दर्जनभन्दा बढी कार्यक्रममा धेरै स्थापित साहित्यकारहरूले टिक्का टिप्पणी र परिचर्चा गरिसक्नु भएको छ । गुगलमा खाइराइड खोज्नेबित्तिकै बीसौं लेख, टिप्पणी, समाचार र युटुभ भिडियो देख्न सकिन्छ । यो तहमा खाइराइडको बहस, चर्चा र परिचर्चा हुनुले पुरै हास्यव्यङ्ग्य साहित्यको लागि सञ्जीवनी हो जस्तो लाग्छ।
छोटो सूचीमा तपाईँको कृतिसँगै अन्य चार बलिया गैरआख्यानकृतिहरु रहेका छन् । तपाईँले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के–कस्तो अर्थ लाग्छ ।
पुरस्कार जित्नु र नजित्नुले साहित्यक यात्रा ठूलै अर्थ लाग्छ नि, होइन र ? पुरस्कार भनेको उत्कृष्ट साहित्य लेखनको मापन हो । त्यो मापनको कसीले कृतिको मूल्याङ्कन गर्छ । लेखकको हैसियतलाई माथि उठाउँछ । तथापि पुरस्कार ढिकुटी झैँ भयो भनेर बेलाबखत आलोचना पढ्न र सुन्न पाइन्छ । यदि त्यस्तो हुन्छ भने त्यो त विकृतिको चरम रुप हो । तन परदेशमा भएर पनि मन सधैँ घरदेशमा हुने म जस्ता सर्जकका लागि त पुरस्कार प्रेरणा हो, उर्जाको स्रोत हो ।
विकसित देशमा कामको दैनिकीबाट समय निकालेर लेखन कर्म गर्नु सजिलो छैन। हो, परबाट देख्दा विकसित देश सुन्दर देखिन्छन् । त्यहाँका मान्छे खुशी देखिन्छन् । आउनुभन्दा पहिले म पनि त्यस्तै ठान्थेँ । तर यो सुन्दरता अभिनेत्रीको सुन्दरता जस्तै रहेछ । उनलाई सुन्दर बनाउन सिँगारकर्ताले कति मिहिनेत गरेका हुन्छन् । क्यामेराको कति चमत्कार हुन्छ। निर्माताले कति लगानी गरेका हुन्छन्, त्यो त निर्देशक र निर्मातालाई जति अरू कसलाई थाहा होला र ! विकसित देशको सुन्दरता र खुशीमा पनि त्यस्तै हो जस्तो लाग्छ मलाई । जुन ठाउँमा बाँच्न अधिकांश मान्छेले मेशिन बन्नु पर्छ । त्यस्तो परिस्थितिमा साहित्य सिर्जना गर्नु आफैँमा चुनौति हो ।
फेरि यो परदेशमा अग्रज साहित्यकारलाई भटौं, सिकौं भन्ने अवसर पनि “आकाशको फल आँखा तरी मर” हुँदो रहेछ। उता देशमा दिनदिनै साहित्यक गोष्ठी र पुस्तक विमोचन भएको देख्दा लोभ लाग्छ। सहभागिता जनाउने रहर जाग्छ। तर कोभिडपछिको भर्चुवल दुनियाँले सीमित मात्रामा भए पनि अग्रज साहित्यकारसँग साक्षत्कार हुने मौका दिएको छ । योचाँहि एउटा थप अवसर बनेको छ ।
मान्छेको जात न हो, छनौट सूचीमा परेपछि पुरस्कार पाउन पाए त हुन्थ्यो भन्ने लाग्ने रहेछ । यदि कसैलाई त्यस्तो लाग्दैन भने मृतआत्म र जीवत आत्ममा कुनै फरक नदेख्नु जस्तै हो । मचाँहि त्यो आडम्बर देखाउन सक्दिनँ ।
फेरि म साहित्य नै लेख्छु भनेर लेख्दिनँ । जब कुनै भाव र विचारले मलाई गाँज्छ, तब म लेख्छु । जब म मेरो बाल्यकाल सम्झन्छु । जन्म भूमि सम्झन्छु । म भावुक बन्छु । त्यही भावनामा थरीथरी विचार र सोचको बाढी आउँछन्, अनि म त्यहीबेला लेख्छु । लेख्नको लागि कनीकुथी लेख्दिनँ ।
यो लेखन पनि नसा जस्तो रहेछ । अलि अलि रमाइलोका लागि, अलि अलि मातृभूमिका तिर्सना मेटन लेख्दालेख्दै नलेखी नसक्ने भएको छु । पुरस्कार पाए मन खुसाउँदै लेख्छु (हाँस्दै) । पुरस्कार नपाए केही दिन मन दुखाउँदै लेख्छु । तर लेख्नचाँहि लेख्छु । अब बाचुन्जेल लेख्छु ।
मानिलिऔँ, तपाईँले ‘साहित्पोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ जित्नु भयो र ५० हजार नगद प्राप्त गर्नुभयो । अब यो पुरस्कार रकमले के गर्नुहुन्छ ?
अघि नै मैले भनिहालेँ नि, पुरस्कार मेरा लागि प्रेरणा हो । लेखनका लागि उर्जा हो । लेखकको सम्मान र पहिचान हो । पुरस्कार घोषणा नभई अहिले नै यसो गर्छु उसो गर्छु भन्नु “नानी जन्मनु कहिले कोक्रो बुन्नु अहिले” भने जस्तै होला । नानी जन्मेपछि नै भनौँला नि त्यो रकमले कस्तो कोक्रो बुन्ने भनेर।
अन्त्यमा, तपाईँका आगामी साहित्यिक योजनाहरु के के छन् ?
त्यस्तो योजना नै बनाएर म कहिल्यै केही गर्दिनँ। साहित्य लेखन पनि त्यस्तै हो मेरा लागि । तर चुपचाप पनि बस्दिनँ। तयारी हालतमा रहेको “निरीह देउता” कवितासंग्रह प्रकाशित गरौँ कि भन्ने लाग्दै छ। फेरि अर्को निबन्ध पनि लगभग तयार हुने क्रममा छ। फेरि कवितासंग्रह पछाडि धकेलियो भने साहित्यिक गर्भको पहिलो सन्तानप्रति अन्याय हुने हो कि जस्तो पनि लाग्दैछ। त्यही भएर सम्भवत: दोस्रो कृतिको रुपमा “निरीह देउता” नै आउला।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










