उहिले
दुनियाँले
पत्थरलाई पत्थर भने
मेरो मनले फूल मान्यो
लाख सम्झाए दुनियाँले
मानिनँ
कारण थियो
पत्थरलाई
फूल मान्दा
मेरो स्वार्थबाग महकिन थाल्यो
मेरो मन बहकिन थाल्यो
आखिर
जे पनि एक्स र वाई मानेर
हिसाब मिलाउने
म
एक हिसाब मास्टर
बढी सकारात्मक भएर
जानी जानी
पत्थरलाई फूल मानिरहने आदत भयो
एक युग गयो
अहिले
आखिर पत्थर पथर नै हो
उसले फूल हुने अभिनय मात्र गरेको रहेछ
बिरालो बनेर बाघ आएको रहेछ
मेरो जिन्दगीमा
पत्थर
त्यो कालो पत्थर
पटक पटक
मेरै यात्रामा तगारो बन्यो
ठेस लाग्यो मलाई
मेरो निर्दोष जीवन
घाइते हुन थाल्यो
केही नलागेर
सहन न सकेर
मैले पनि
पत्थरलाई पत्थर भन्दा
कसैले सुनेन
कसैले टेरेन
बल्ल मेरा भित्री चक्षु खुले
दुनियाँले भन्दा
मेरो मनले मानेन
मैले भन्दा दुनियाँले मानेन
यसरी
दुनियाँ
र
मेरोबीचको हिसाब मिल्यो
हिसाब बराबर भयो
भुक्तान सन्तुलन कायम भयो
दुनियाँ
तिमीसित मेरो गुनासो छैन
पत्थर त आखिर पत्थर नै हो
उसलाई
विवेक र मानवतासित के मतलब?
सुनेको छु
त्यही पत्थर मूर्ति भएर
देवता भयो अरे !
कान्तिपुरमा!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 









