अस्मिता, उनको नाम अस्मिता शर्मा, पहिले उनका बाआमाहरू बसेको बर्मा, यतिखेर आलोकनगर शहरमा चार पुस्ता बसे त्यो रुबीको पवित्र भूमिमा र फर्किए नेपाल, जसरी अरू नेपालीहरू फर्किएका थिए । यसमा राजा महेन्द्रको भूमिका पनि महत्त्वपूर्ण थियो । परिवार नै अवतारलाई अति मान्ने, दाजी रघुनाथ शर्मा भने राता फूलहरुको प्रतिकूल थिए । जोगिएर हिंडे । रघुनाथ शर्माको अति मिल्ने सहपाठी कल्याणनाथ विवेकी, घर आदर्शनगर, विवेकी साँच्चि नै आदर्शवादी । घरमा बा, आमा, दाजु रघुनाथ र भाइ रवि शर्मा, सबैको पढाइ अब्बल । अस्मिता स्नात्तक दोस्रो वर्षमा, अति राम्री, तर गम्भीर र अन्तरमुखी ।

एक दिन, उनी एक्लै घरमा बसेर पढिरहेकी थिइन्, अचानक आइपुग्यो दाजुको साथी कल्याणनाथ विवेकी, पुसको महीना, अति जाडो । अस्मिता र कल्याण गफ्फिए । परिवारका चारै सदस्य टाढा आफन्तको घरमा पूजामा गएका रहेछन् । पूर्ण परिचित कल्याणमाथि अस्मिताको पूर्ण भरोसा, कल्याणकी बैनी करुणासित उनको गहिरो मित्रता, सहपाठी ।

“पढाइ कस्तो चलिरहेछ त अस्मिता ?” कल्याणले पढाइको कुरा शुरू गर्यो । “सबै राम्रै छ, तर यो कलेजमा नोट लेखाउने चलन मलाई कत्ति पनि मन परेन । अंग्रेजीको पढाइ त्यति गतिलो छैन । हजुर त अंग्रेजीमा एम.ए. होइन ?”

“हो त, म विद्यावारिधि गरेर मात्रै पढाउने सोचमा छु । यो नोट परम्परा, यो विद्यार्थी राजनीति, यी सबै कुराहरू सरस्वतीको मन्दिरका लागि अभिशाप हुन् । तिमीलाई राजनीतिमा चाख छ ?”

“छैन, छैन, बिचरा अल्लारे युवक र युवतीहरूलाई मोहोरा बनाएर दुईचार वन्चकलालहरु शीर्षमा पुगी रजगज गर्ने योजना हो । सबै थाहा छ दाजी, मलाई साहित्य पढ्नु छ । पढाउने हो । बरु दाजी, मलाई अंग्रेजीको एउटा पाठ पढाइदिनुहोस् न है, कविता हो । हाम्रो मोहन कोइरालाको फर्सीको जरा जस्तै लाग्यो । केही बुझिनँ । कक्षामा गुरुले नेपालीमा अनुवाद गरेर छोडिदिए । नेपालीमा अंग्रेजी पढाउने चलन आयो । म किताब लिएर आउँछु ।“

अस्मिता किताब लिन गइन् । टेबुलमा गरिमा थियो । कल्याणनाथ गरिमा पढ्न थाल्यो । अस्मिता किताब लिएर आइन् । सोफामा एकसाथ, नजीकै । टाँसिएर बसिन् । कुमार हो कल्याणनाथ, स्त्रीस्पर्शले अलिकता झंकित भयो । अस्मिताको हातले उसको हात छोयो । मुलायम स्पर्श, दैवी आनन्द अनुभूत गर्यो । अस्मिताको लामो केशराशि हावाले उडाएर उसको गालासम्म ल्यायो । अनौठो मादकता अनुभूत गर्यो । अचानक अस्मिताको पछ्यौरा भुइँमा खस्यो । पुरुष आँखाहरू हुन्, त्यही भयो, जे करोडौं बर्षदेखि हुँदै आएको थियो । तात्यो कल्याण । काखमा लियो अस्मितालाई ।

“दाजी, के भयो हजुरलाई ? हजुर होशमा हुनुहुन्छ ?” कराइन् अस्मिता । बाघले मृगलाई झम्टिए जसरी झम्टियो, कल्याणको विवेक निदाइसकेको थियो ।

“पापी, हरामी, आफ्नै साथीको बैनीमाथि…” शक्तिको सामुन्ने के लाग्ने ? प्रतिकारमाथि प्रतिकार गर्दा पनि अस्मिताले आफ्नो अस्मिता जोगाउन सकिनन् । ठण्डा भएर बाटो लाग्यो कल्याणनाथ विवेकी, आफ्नै कारमा । ऊ सम्पन्न परिवारको एक मात्र छोरो थियो, बैनी करुणा । अस्मिता बेहोश । दुई घण्टामा होश आयो ।

“अब के गर्ने ?” किंकर्तव्यविमूढ । राति आए परिवार, ११ बजे । आमाको काखमा घोप्टो परेर रोइन् र सम्पूर्ण दुर्घटना बताइन् । रघुनाथ आगो भयो । बाउ बेहोश भयो । रातभरि सुत्न सकेनन् । उज्यालो भयो । थानामा गएर बलात्कारको मुद्दा दर्ता गरे । तुरुन्त प्रहरीहरू रघुनाथसहित लागे आदर्शनगरतिर । कल्याणको घरमा गए । सबै कुरा सामान्य छ, तर कल्याण छैन । कल्याणको कोठामा गए । एउटा चीट टेबुलमा, “म पापी हुँ, अपराधी हुँ । मलाई नखोज्नू । सम्झिनू, म मरें ।” यत्ति लेखिएको थियो ।

“साला, कुत्ता, अपराधी, मरे हुन्छ । फेला पारेको भए म हरामीलाई मारेर जेल जाने थिए ।” रघुनाथको मनले भन्यो । प्रहरीहरु फर्किए । व्यापक खोजी भयो । पत्रिकामा तस्वीरसहित जन्मियो आदर्शनगरमा । छोराको कारणले परिवारकै बेइज्ज भयो । कृपनाथ शर्मा, कल्याणका पिताले सम्पूर्ण सम्पत्ति बेचबिखन गरेर बसाइँ सरे, कसैलाई पनि थाहा नदिईकन । सेकेण्ड, मिनेट, घण्टा, दिन, रात, हप्ता महिना गर्दागर्दै ९ महिना बित्यो । अस्मिताले एउटी फूलजस्ती बच्चीलाई धरतीमा उतारिन् । सबैले सहानुभूति प्रकट गरे । भित्र भित्र बदनाम हुनुपर्ने हो, त्यस्तो भएन । आलोकनगरमा रघुनाथको परिवारले टाउको निहु¥याउन परेन । एम.ए.एड. अस्मिताले कलेजमा पढाउन थालिन् । यो काम छोरी ६ बर्षकी हुँदा आरम्भ भयो । “यिनी त एक देवी हुन्, साहसी हुन् । उस्तै केटी भए आत्महत्या गर्थे । बहादुर केटी !” सबैको मुखमा अस्मिताको नाम र तारीफ । ‘कुमारी आमा’ यो पदक पनि पाइन् ।

“छोरी, जे भयो, घरबार त चाहिन्छ । त्यस्तै उदार पात्र खोजेर युग्म हुने कि ?” आमाको प्रस्ताव । घर सल्लाह भएको थियो ।

“आमा, मलाई पुरुषगन्धले पोल्छ, म कुनै पनि पुरुषको नजीक पर्दा त्यो दनुजको अनुहार सम्झिन्छु, आगो हुन्छु । मनमा सुनामी लहर चल्छ । यसैले अब आइन्दा यस्तो प्रस्ताव नल्याउनुहोला । म मेरो जीवन यही छोरी ‘अपराजिता’ र आफ्ना मातापिताका नाममा अर्पण गर्नेछु । साहित्यले मेरो मन बहलाउनेछ ।” त्यसपछि अस्मितालाई कसैले पनि सम्झाएनन् । सहकर्मी साथी कुमार यात्रीले प्रस्ताव राखेका थिए । “कुमारजी, धन्यवाद ! मलाई मेरो एकान्त धेरै प्यारो छ । नारी पनि पूर्ण मान्छे नै हुन् । पुरुष नामको बैशाखी चाहिन्न । सद्भाव हो हजुरको । हजूर असल मान्छे हो । जुठो थालमा किन भात खानुहुन्छ ?”

त्यसपछि अस्मितासित कसैले पनि आँखामा आँखा मिलाएर कुरा गर्न सकेन । उनका लेख रचनाहरू भटाभट छापिन थाले । पढाउने र सिर्जना गर्ने, उनको दिनचर्या । सातवटा किताबहरु प्रकाशित भए । अंग्रेजीमा दुइटा । अस्मिताकी छोरी अपराजिता, आमाकै फोटो कपि । प्रथम, प्रथम, प्रथम, एम.ए. सम्म प्रथम । समय चिप्लेको थाहा नै भएन । अपराजिता पनि २५ वर्षकी, आमा ४५, तर अस्मिता पनि ३० की जस्ती । आमाछोरीमा अध्यात्मले पनि प्रवेश गर्यो । आलोकनगरको शिव मन्दिर, भव्य, बाटिका ! नयाँ पुजारी आए । डम्म दाढी, तेजिला आँखा । स्वयम् महादेव जस्ता । अस्मिता र अपराजिता हरेक दिन मन्दिरमा जान्थे । पुजारीसित परिचय भयो । ‘आयुष्मान भव पुत्री’ भने अपराजितालाई ।

‘सोभाग्यवती भव’ भने अस्मितालाई । ‘पुजारीज्यू, यो आशीर्वाद फिर्ता लिनुहोस्’ गम्भीर स्वरमा बोलिन् अस्मिता ।

“देवीजी !” नम्र भएर बोले पुजारी, “महादेवको प्रसाद हो यो आशीर्वाद, फिर्ता हुन्न । किन यसो भन्नुभयो, थाहा छैन । आशुतोषको कृपाले सबै कुरा ठीक हुनसक्छ ।” अचम्मको भाषा प्रयोग गर्यो पुजारीले । छोरी लिएर फर्किइन् अस्मिता । क्याम्पस प्रमुख बनिन् अस्मिता, आफ्नो ठाउँमा छोरी । छोरी गोल्ड मेडलिस्ट ।

एक दिन, “आमा, आज मलाई सहकर्मी पूजाले मलाई ‘ड्याडी’ मेरो बा को हो ? भनेर सोधी । आमा, म कसकी छोरी हुँ ?” २५ वर्षमा नभएको कुरा आज भयो ।

दृढ स्वरमा बोलिन् अस्मिता, “लवकुशले पिता खोजेनन् । म तिम्रो लागि सीता पनि राम पनि । किन चाहियो बा ? बाआमा दुवै म हुँ, म !” “आमा, ….” मज्जाले रोई छोरी ।

“अब म यस्तो प्रश्न गर्ने छैन, छोरीले हजूरले खाटा बसेको घाउ कोट्याउने छैन ।”

त्यसपछि अस्मिताले पूरै कथा सुनाइन् ।

“आमा, ती पात्र पापी कि देवता त ? पाप कर्म थियो । गलत थियो । तर परिणाम ? आमा, अलि गहिरिएर सोच्नुहोस् त, यदि त्यो दिन त्यो दुर्घटना नभएको भए आज हजुरको काखमा यो छोरी हुन्थी ? आमा, यो दुनियाँ अचम्मको छ । मेरो अति नै आदरणीय गुरुदेव प्रोफेसर जगमोहन आजादले भन्नुहुन्थ्यो – गल्ती पनि सधैं गल्ती हुन्न । दुःख पनि सधैं दुःख हुन्न । नराम्रो गर्दा राम्रो हुने र राम्रो गर्दा नराम्रो हुने घटनाहरू दुनियाँमा अनन्त । हो, मैले नदेखेको ‘मेरा बा’ कर्मले पापी नै हुन्, बलात्कारी नै हुन् । तर, म छोरीका लागि त ‘बा’ हुन्, देवता हुन् । त्यो बिन्दुमा हो त्यो कर्म अपराध नै थियो, यो बिन्दुमा त त्यो अपराधको विनिर्माण भएन र आमा ?”

“आम्मै, आज त नदेखेको अपराधी बाउको पक्षमा यत्रो वकालत ? पापीलाई देवता भन्ने ?”

“आमा, यो दुनियाँमा यस्तो दुर्घटना बेहोर्ने नारी हजूर पहिलो र अन्तिम होइन, धन्न हजुर बहादुर बन्नुभयो, समाज पनि विवेकी भयो, आत्महत्या गर्नुभएन, आज म पनि यति सुन्दर संसारमा छु । यो सुन्दर संसारमा विचरण गर्न आउन पाएको, भीसा लागेको त, पापी बा ‘कल्याणनाथ विवेकी’ ले गर्दा पनि हो नि, होइन र ? मैले त मेरो पापी बालाई क्षमा गरें । सक्नुहुन्छ भने हजुरले पनि क्षमा गरिदिनुहोस् । मन हल्का हुन्छ ।”

“यो क्षमादानको पाठ सिकाएको पनि तिम्रै गुरु प्रोफेसर जगमोहन आजादले होला, होइन ? महाभारतको कीरो, चेलाचेलीको सामुन्नेमा हिरो, तेरो गुरुलाई मैले पनि चिनेकी छु ।”

“हो त आमा, गुरुदेवले भन्नुभयो, क्षमा माग्नु पर्छ, गल्ती गरिएमा, क्षमा दिनुपर्छ, अक्षम्य नभएमा । त्यो विन्दुमा अक्षम्य अपराध थियो, पक्कै । तर अब त समय उही रहेन । आमा, मेरो बालाई क्षमा गर्नुहोस् है, मेरो लागि भए पनि ।”

“ल, ल, मलाई सोच्न देऊ, भेट भए पो क्षमा दिनु !”

“संसार हो आमा, मलाई त मेरो बा आउनुहुन्छ जस्तो लाग्छ ।” अपराजिताको आत्मविश्वास ।

“छोरीको सपना पूरा होस्, पापी देवता आउन् ।” नरम स्वरमा बोलिन् अस्मिता ।

“रघुनाथ, म मरेको छैन । मर्ने विचारले नै घरबाट निस्किएको थिएँ, तर ज्यान फाल्न सकिनँ । म तेरो अपराधी हुँ । अस्मिताको अपराधी हुँ । आखिर जेल गएको भए पनि रिहा हुन्थें । २५ वर्ष भयो । म यही संसारमा छु । प्रकट हुन लज्जाबोध भइरहेछ । अस्मिता र अपराजिताको बारेमा जान्दछु । बरु मलाई आफ्ना आमा, बा र बैनीको खबर भएन । साथी, यो पापीले यो भन्दा बढी सजाय अरू के भोग्छ ? क्षमा गर्न सक्ने भए म प्रकट हुनेछु । ‘हामीले तँलाई क्षमा ग¥यौं’ भन्ने एउटा सन्देश सामाजिक सन्जालमा राख्नू, म हेर्छु । अनि म प्रकट हुनेछु । यतिखेर मलाई त म स्वयम्ले पनि चिन्दिनँ ।” यस्तो पत्र आयो रघुनाथको घरमा । अस्मिता र अपराजिताले पनि पढे । अपराजिता अति खुशी, मदनपुरस्कार पाएको सर्जकजस्तै । यो कुरा उनले आफ्नो गुरुदेव प्रोफेसर जगमोहन आजादलाई पनि सुनाइन् । रघुनाथ भने बोल्न सकेन । “बैनी, तिम्रो विचार । अभियुक्त खास तिम्रो हो । चोट त हामी सबैलाई लागेको हो, जीवन बर्वाद त तिम्रो भएको हो । तिमी नै प्रधानन्याधीश !”

“दाजी …यो कस्तो अग्निपरीक्षा हो ?” मज्जाले रोइन् क्याम्पस प्रमुख । भोलिपल्ट, खतरनाक दुर्घटना, अपराजिताको स्कुटीलाई एउटा डम्फरले ठक्कर दियो । स्कुटी धूलो भयो । अपराजिता बेहोश । तुरुन्तै प्रहरी आयो, उनलाई अस्पतालमा लगियो । “क्याम्पस प्रमुख अस्मिता शर्माकी सुपुत्री सहप्राध्यापक अपराजिता सिरियस, अस्पताल भर्ना” भाइरल भयो समाचार । प्रोफेसर जगमोहन आजाद अनुज बलराम दंगाललाई लिएर आयो । जिल्लाका साहित्यकारहरू पनि आए । संकट, अत्यधिक रगत बगेका कारणले अपराजितालाई होशमा ल्याउन चिकित्सक टोलीलाई गाह्रो भयो । अपराजिताको रगत समूहको रगतको स्टक असपतालमा शून्य । मुहार पुस्तिकामा सूचना प्रवाह गरियो । आधा घण्टामा अस्पतालमा शिवालयका पुजारी हाजिर । प्रोफेसर जगमोहन आजादसित आँखा जुधे । आजादले संकेत गरे । डाक्टर पुरस्कृत खनाल र डाक्टर दीपक गुप्तालाई पुजारीले भेटे, “बालिकालाई म दिन्छु रगत । मेरो ब्लड ग्रुप यही हो । डाक्टर बाबु, ढिलो नगरौं ।” अस्मिता र रघुनाथ आशावादी भए ।

“देवीजी, म आएँ । महादेवकी सौगन्ध मेरो आशीर्वाद खेर जान्न । १०० वर्ष आयु छ, हाम्री छोरीको !”

‘हाम्री छोरी’ अचानक पुजारीको मुखबाट निस्कियो । कसैले पनि ध्यान दिएनन् । प्रोफेसर जगमोहन आजादको अनुहारमा भने दैवी चमक थियो । ‘आमा…’ होशमा आएपछि, अपराजिता । पुजारी गइसकेका थिए । सबै खुशी भए । १५ दिन अस्पताल बसेर अपराजिता घर आइन् । अस्मिता पनि बिदा लिएर बसेकी थिइन् । प्रोफेसर जगमोहन अजाद पनि आइरह्यो । रघुनाथलाई उसले ‘मित भान्जा’ बनाएको थियो ।

“अपराजितालाई जीवनदान दिने पुजारी हुन् । एक पटक हामी सबै मन्दिर गएर शिवजीको दर्शन पनि गरौं र पुजारीलाई धन्यवाद पनि भनौं ।” आजादको प्रस्ताव । पारित भयो । “पुजारीजी खोइ ?” मन्दिर पुगेर एक भक्तिनीसित सोध्छन्, आजाद ।

“त्यो कोठामा हुनुहुन्छ, जान सक्नुहुन्छ ।” गए सबै । भित्र पसे, सन्नाटा ! सबै (आजाद बाहेक) स्तब्ध ।

“कल्याण, तिमी !” चिच्यायो रघुनाथ ।

“शान्त भान्जा, शान्त । पुजारी नै हुन् । जे, भयो भयो । त्यसै मिल्छ दुर्लभ रक्त समूह, अपराजिता, तिम्रो हराएको बा !”

“बा…” फिल्मी भयो सबै । आजादले सबै हिसाब मिलायो । गोजीमा एउटा मंगलसूत्र र सिन्दूर लिएरै गएको थियो । अस्मिता र कल्याण एक भए । पुजारी पनि कलेजमा अंग्रेजी नै पढाउन थाले । यता नयाँ पुजारी नियुक्त गरिदिए । “पापी देवता” को विनिर्माण भयो ।