एयरपोर्टबाहिर टेक्नासाथ कायरा कुदेर आई ‘किस’ गर्दै मागिहालिन्— ‘मेरो गिफ्ट यहीँ दिनोस् भिनाजु ! हजुरको घरमा सामान पुगेपछि त के हो, के हो ।’

— “कसलाई केको धन्दा, टाढाकी सालीलाई आइफोनको धन्दा भनेको यही हो !”

अलिक पछिल्तिर बसेकी निर्मलाले प्याच्चै भनिदिइन् । निर्मला मेरो कान्छा ससुराकी एक मात्र छोरी हुन् । कायराचाहिँ फुपूकी छोरी । निर्मला एक हस्पिटलमा नर्स छिन् भन्ने कुरा मलाई पनि थाहा थियो । तर कायरा ? अहँ, जानकारी थिएन ।

भावनाका अभिभावकहरूको रोजाइको केटो म परेँ । त्यसका दुई कारणहरू थिए । पहिलो त एन.आर.एन.भइहाल्यो । दोस्रोचाहिँ म घरको यौटै छोरो हुँ । यद्यपि, मभन्दा माथि सात जना दिदीहरू छन् । मेरी हुनेवाली दुलही भावना । बल्लतल्ल ब्याचलर्स उत्तीर्ण ।

भावना बैँस ढल्किन ढल्किन लागेकी केटी तर उत्पातै राम्री । पहिलो पटक हाम्रो साक्षात्कार हुँदै थियो । फोटोमा भन्दा झनै सुन्दरी देखेँ । छोरीलार्ई यही वर्षभित्र ‘हुत्याइहाल्नु पर्छ’ भन्ने विराट् चाहना थियो, बाबु गुञ्जमानको ।

केटा र केटीको चिनापर्ची गराउने मेरी साहिँली दिदी थिइन् । तथापि, वास्तविक लमीचाहिँ फेसबुक हो । त्यसैले ‘च्याटिङ्डे-टिङ्’लाई ‘इजी’ बनाइदियो ।

एक रात…

हाम्रो घरमा ‘ग्यादरिङ्’ गरियो । त्यही दिन मलाई मनग्गे जानकारी मिल्यो- नेपालमा आधुनिक समाजको विनिर्माण कसरी भइरहेछ भन्ने कुरा । यहाँ अचम्मको दृश्य देखेँ ! ‘प्लस टु’देखि नै ‘लभ’ को चक्कर । जात हैन, अभिभावकहरूको छनोट एन.आर.एन.। यस्तै यस्तै ।

आयातित संस्कृति । फोटो शुट, मेहेन्दी रसम, सङ्गीत कार्यक्रम । माला आदान—प्रदान कार्यक्रममा मिनी जन्ती, पार्टी प्यालेसमा जग्गे । कन्यादानजस्तो थोत्रो चलनको अङ्गीकार, एकादशीको दिनमा पनि गिद्धे भोजन, गहना र पोषाकमा अस्वस्थ प्रतिस्पर्धा । आदि आदि ।

लुकाएर बिहेपूर्व नै दाइजो प्रदान, दर्शन—भेट कार्यक्रममा दुलाहाका नातेदारहरूलाई समेत सुनैसुनका गहना प्रदान तैपनि बिहे भएको ६ महिना नपुग्दै ‘डिभोर्स’ < के सिकाइरहेका छन् नेपालका ‘दर्शनाचार्य, समाजशास्त्री’हरूले ?

नेपाल कहाँ पुगेछ त ? मेरी साहिँली दिदी जसका सबै छोराबुहारीहरू एन.आर.एन हुन्, तिनले नाचेको देखेर मलाई नै लाज लागेर आयो ! मेरी साहिँली दिदी मदिराको नशामा मलाई चेताउनी दिन्छिन्— ‘तैँले यो कुटुम्ब गुमाउने काम नगरेस् । जे गर्छे, यो साहिँलीले गर्छे । कि कसो गाइज <’

— ‘हो दिदी, हो । हजुरले भन्नुभएको कुरा सोह्रैआना सत्य हो ।’

सबैभन्दा पहिले जेठी फुपूको कान्छो छोराले सहमति जनाए । ‘छोरी पनि एन.आर.एन. हुने भई । सन्तानको त झन् कुरै गर्नु परेन ।’ गुञ्जमानजीको परिवारको एक मात्र सपना-जपना त्यही थियो ।

मेरो बुबा परलोक हुँदा म पाँच वर्षको मात्र थिएँ । त्यसको ठीक तीन वर्षपछि ममीलाई कालले लग्यो । मजस्तो बाल-टुहुरोलाई दिदी-भेनाहरूले खर्चेको मिहिनेत र पसिनाको अवमूल्यन मैले कसरी गर्न सक्थेँ र ?

राति भावनाको मोबाइलमा बल्लतल्ल स्वर सुन्न पाएँ तर ‘क्यामेरा अन’ गरिनन् । म उता हुँदा त दिनको सात पटकसम्म कल गरेर हैरान पार्थिन् । यहाँचाहिँ नखरा देखाइन्, ‘म त हुनेवाली दुलहीरानी पो त । त्यत्तिकै मेरो बोली खेर जान दिन्छु र म ।’

मैले पनि झोक्कैले जवाफ फर्काइदिएँ, ‘ठीकै छ । यसको बदला लिने रात पनि त आउला मैया । हेहेहे…। हेहेहे…।’

अघिल्लो रात गिज्याएको कुफल मलाई भोलिपल्टै मिलिहाल्यो । निर्मलालाई हपार्दै कायरा जान्ने भइन्— ‘तँलाई माया लागे तँ केही पनि नली न । हामी त लिन्छौँ हैन त भावना ?’

‘महँगो सपिङ्ग’ र पाँच तारे होटलको खाजाले मलाई भसक्कै बनाइदिए भावना, कायरा र अरू दुई सालीनानीहरूले । त्यसमा निर्मला अपवाद रहिन् । मलाई निर्मलाको असाध्यै माया लागेर आयो ।

यसोयसो गर्दै भावना र मेरो टीकाटाला गर्ने दिन पनि आइपुग्यो । कायराले निर्मलाको श्रृङ्गार-कलालाई ‘डेट एक्सपाएर स्टाइल’ भनेर हियाइदिइन् । तिनले आफ्नो मेकअपका लागि मेरो पर्स नै हाइज्याक गरिदिइन् ।

टीकाको कार्यक्रम निकै विलासीपूर्ण थियो, पाँच तारे होटलमा । मेरी साहिँली दिदीले मिनी जन्ती नै लगेकी थिइन् । कोही भन्दै थियो— “उहिले उहिलेका केटाकेटीको बिहे ‘भाँडाकुटी खेल’ जस्तो ! अहिलेका ठेउका—ठेउकीको बिहे ‘पैसाको भेल’ जस्तो ?”

होटलको फूलबारीमा ‘फोटो-कुमार’ र ‘टिकटक-कुमारी’हरूले भयङ्कर लीला मच्चाएछन् ! त्यसको हर्जाना दुलहीहरूले तिर्नु पर्यो । मैले बिहेको खर्च बराबरी गर्न चाहेँ । अहँ, मानिएन । दुलहीकै परिवारले व्यहोर्नुपर्ने रे !

मैले राति फोन गरेर भावनासँग मेरो मनको कुरा पोखेँ, ‘हाम्रो बच्चाको प्लानबारे के सोचेकी छौ भावना ? भोलि एकान्तमा बसेर छलफल गरौँ न ।’

‘बिहे गर्नु कहिले कहिले, बच्चा पाउने अहिले !’ भावनाले आश्चर्यवाचक चिन्ह उभ्याइन् ! म कुरा गर्न चाहिरहेको थिएँ तर भावनाले बीचैमा मोबाइल फोन काटिदिइन् । मैले तत्कालै साहिँली दिदीलाई कोठामा बोलाएर भनेँ ।

दिदीले ठाडो जवाफ दिइन्, ‘सबै कुराहरू त महिनौँ दिनदेखि फेसबुकमार्फत नै भइसकेका छन् नि । तँलाई पनि अमेरिकनहरूको सङ्गतको दुश्प्रभाव परेको रहेछ !’

===

बिहेको दिन पनि आइपुग्यो । मैले दिदीहरूलाई भनेकै हुँ, ‘मलाई केही चाहिँदैन ।’

— ‘तँलाई नचाहिएर के भो त ? हामीलाई त चाहियो नि ।’

साहिँली दिदीले सबै दिदी-बहिनीहरूलाई सामान भाग लगाउने दृष्टान्त सुनाएकी थिइन् । मेरो मनले सोच्यो, ‘धनीको चित्त, माखाको पित्त’ भनेको यही होला, सायद ! बेहुलाबेहुलीका गोडा धुने कार्यक्रममा लफडा हुने देखेँ ।

मेरी साहिँली दिदी कराउन थालिन्— ‘लौ त नधोऊन् दुलहाका गोडा ! अहिलेको जमानामा पनि जातभात र उँचनिच भनेर हेला गर्न पाइन्छ ? म त पुलिस बोलाउँछु ।’

— ‘पुलिस बोलाउँदा आफू पनि त जान पर्ला नि मामाघरतिर हजुर !’

मेरी दिदीको ओठमुख सुक्ने गरेर दुलहीका मामाले जवाफ दिए । मलाई शङ्का लाग्यो, दुलहीका बाबासँग मेरी साहिँली दिदीले गोप्य लेनदेन त गरेकी छैनन् कतै ?

जग्गेका पुरेतलाई रिस उठेछ र भने, ‘यसरी जातिपातिको बखेडा झिक्नेले किन यत्रो लफडा गरेको ? खुरुक्क अदालतमा गएर ‘कोर्ट मेरिज’ गरेको भए त टन्टै साफ हुन्थ्यो नि ।’ पुरेतले दुलाहा र दुलहीतर्फका तीनपुस्ते नामावली-पत्र देखाउँदै बताए, ‘शास्त्रमा लेखिएअनुसार दुलाहा र दुलहीका तीन पुस्तालाई जोड्नुपर्छ, तब मात्र कन्यादानको रित पूरा हुन्छ । तर यहाँ त दुई फरक फरक जातबीच नाता जोडिँदै छ ।’

जग्गेतिर होहल्ला सुरु भयो । ए, सालीनानीहरूले बेहुलाको जुत्ता चोरिसकेछन् ! सालीनानीहरूको उपद्रो हेर्न लायकको थियो । ‘डिमान्ड’ निकै उच्च ! त्यो पनि हरिया डलर ! बेहुलाको हातको रुमाल खोस्न चारवटी सालीनानीहरू हात धोएर लागे ।

अति भएपछि मैले कायराको हातमा ट्याप समातेर भनेँ— ‘यो त भएन नि सालीनानी ! चोर्ने भनेको त लुकेर पो हो त । यसरी हाकाहाकी हातबाट खोस्नु त संस्कृतिमा आएको विकृति हो । यसलाई नेपालीमा डकैती भनिन्छ ।’

— ‘हजुरले सही कुरा गर्नुभयो भिनाजु ।’

मेरो सपोर्टमा निर्मलाले भनिन्— ‘मलाई त भिनाजुको जुत्ता चोरेको पनि मन परेको छैन ।’

निर्मलालाई खाऊँलाझैँ गरी अर्की जीरेगान्टी सालीले हपारिन्— ‘ओके, फाइन् । तिमी राजकुमारीलाई चित्त दुखेछ ! अलिबेरमा पैसा भाग लगाउँदा सुको पनि नलिनू । के छ विचार राजकुमारीजी ? ‘

तिनको कुरा सुनेर मानिसहरू बेसरी हाँसे ।

अर्को उटपट्याङ्ग कार्य पासा खेल्ने बेलामा पनि देखियो । कपडामा लावा भुट्दै छन् । पुरेत मन्त्र पढ्दैछन् । तर दुलही पक्षकाले एक्कासि लावा भुटिरहेको कपडा तानिदिए । मेरा केटाहरूले छाडिदिएछन् । कायरा चार हात पर लड्न पुगिन् । देख्नेहरूलाई भरपुर मनोरञ्जन प्राप्त भयो ।

सालीनानीहरूको हर्कत बेहुली अनमाउने बेलामा पनि देखियो । बेहुली दङ्ग, फुरुङ्ग छिन् तर कायराहरू रोएर वानेश्वर थर्काए । नरुने मानिसहरूलाई पनि रुवाइदिए । कारमा बसेपछि मैले बेहुलीका छड्के तिलहरीसहितका तिलहरीहरू फुकालेर लोकन्तीलाई राख्न दिएँ ।

लगनको पोते भएपछि भैगयो त । बिचरी बेहुली ! पोतेको झुप्पाका बोझले शिर ठाडो पार्नै दिएको थिएन । म चाहन्थेँ, मेरी भावना उँचो शिर पारेर मेरो दैलोभित्र प्रवेश गरून् ।

सुहागरातको समय…।

कोठामा बेहुली-बेहुला मात्र छौँ । म बेहुलीको गाला मुसार्दै जिस्किन थाल्छु । ठट्टिन थाल्छु । भावनालाई त मेरो कुराले डसिरहेझैँ लाग्थ्यो ।

निकै बेरपछि उनले राजसी भाषामा भनिन्, ‘हजुर सुतिस्योस् । दिनभरिको थकाइ पनि होला । म पछि सुत्छु ।’

भावना मसँग बेड सेयर गर्न चाहँदिन थिइन् । विवशता र सहजताबारे छुट्याउन नसके त्यो के पति ? के जीवन साथी ? तर घटनाले अर्को मोड लियो । अचानक कसैले ढोका ढकढकायो । मैले ढोका खोलिदिएँ ।

सामुन्नेकी युवतीलाई देखेर छक्क पर्छु, ‘कायरा, तिमी ! आधा रातमा यहाँ के गर्दैछ्यौ, त्यो पनि यस्तो ड्रेसमा !’
— ‘यसमा हैरान हुनुपर्ने कुरै के छ र श्रीमान् लोकेशजी ?’

कायरालाई कोठाभित्र प्रवेश गराउँदै भावना जान्ने पल्टिएर अगाडि भन्छिन्— ‘बेहुलीकी लोकन्ती भएर आएकी मेरी बहिनीलाई अपमान गर्ने हजुरले ? त्यसमाथि हजुरसँग जुत्ताको हिसाब—किताब अझै बाँकी छ रे नि त ।’

मैले कुरा बुझिहालेँ । भावना नै मेरो भिलेन बनेर त्यो सब गर्दै थिइन् । नत्र त अहिलेको जमानामा किन चाहिन्थ्यो लोकन्ती सोकन्ती ? फेरि दुलही कति नै नौली हुन् र । वास्तवमा मेरो जुत्ता चोरिएकै थिएन । त्यो त सालीनानी निर्मलाले पहिले नै सुरक्षित राखिदिएकी थिइन् ।

म सोझो भिनाजु, सालीहरूको महँगो मेकअपको सोध भर्ना गरिदिनै पर्यो । फेरि मेरो परिवारको इज्जतको सवाल पनि त थियो । त्यसमाथि मेरी साहिँली दिदी असाध्यै जान्ने ! ‘एक लाख छुट्याएकी छु’ भनेर धाक देखाइसकेकी रहिछन् !

निर्मला एकदमै सोझी साली । तिनीलाई एक स्पेशल गिफ्ट दिएको थिएँ । कायरा डाढोले झण्डै मरेकी ! सुहागरातको समयमा बेहुली र लोकन्तीले मेरो गिदी चाटे । केके मात्रै गफ आएको होला !

त्यही रात मैले थाहा पाएँ, कायराको डिभोर्स भइसकेको रहेछ ! भावना र मलाई पुल बनाएर कायरा अमेरिका उड्न चाहँदै रहिछन् ! नेपालीहरूले ‘अमेरिका—अमेरिका’ जपेका देखेर म आश्चर्यचकित हुन्छु ! जहाँ र जस्तोसुकै कम्प्युटरमा फिट हुने पेन ड्राइभ त हैन नि अमेरिका । चन्द्रमामा बस्ती बसाल्छौँ भनेर विश्वलाई तर्साउन सक्षम महाराष्ट्र । उसलाई त मालिक हैन, नोकर चाहिएको छ । नेपालमा पीएच.डी.गर्नेहरू अमेरिकाका होटलमा भाँडा माझ्छन् ! कायरा पुच्छर लागेर जान चाहिरहेकी थिइन् । चित्त दुखाउलिन् भनेर मैले अन्टसन्ट बोलिनँ । झुटै भए पनि आश्वासनको बर्फीचाहिँ खुवाइदिएँ ।

===

भावनाले मेरो परिवारलाई रिझाएर खान सकिनन् । चार-पाँच महिना कटाउन पनि कठिन पर्न थाल्यो । म सम्झाउने गर्दथेँ तर भावना ठाडै जवाफ दिन्थिन्, ‘एक—दुई जना मात्र भए पो । हाफ दर्जन आमाजूहरूलाई म एउटीले कसरी सेवा पुर्याउन सक्छु ?’

मलाई अलिक चित्त नबुझेर परिवारको परिभाषा दिन्थेँ, ‘परिवार भनेको लोग्नेस्वास्नी मात्र होइन भावना । समाजमा बसेपछि नातागोता, कुटुम्ब, मामा, माइजू, फुपू, आमाजू, भिनाजु सबैको मान, मर्यादा राख्नुपर्छ । तब न हामी सामाजिक प्राणी हौँ । नत्र त वनमा गएर बसे भैहाल्यो नि ।’

— ‘मलाई अरू कुरा केही पनि थाहा छैन । मलाई छिटोभन्दा छिटो अमेरिका उडाउनु पर्छ । हजुर यहीँ हुँदा पेपरहरू रेडी गरिस्योस् । म त एन.आर.एन.बन्ने हो र हजुरसँग अमेरिकामै आनन्दले बस्ने हो ।’

मेरी साहिँली दिदीलाई अमेरिकन हैन, नेपाली भदाहा नै चाहिने रे । तिनले भावनाको परिवारलाई ढाँटेकी रहिछन् । फ्याक्ट्रीको जुनियर मेनेजरलाई मेकानिकल इन्जिनियर हो भनेर बडो धाक दिएकी रहिछन् ! म त छक्कै परेँ !

म जापान र फ्रान्स हुँदै अमेरिका पुगेको नागरिक हुँ । मेरो योग्यताअनुसार नेपालमा काम गरेको हुन्थेँ भने उताको पदभन्दा माथिकै हुन्थेँ होला । तर  ग्यारेन्टी थिएन । मभन्दा अब्बलहरू बेरोजगार भइबसेका रहेछन् यहाँ । त्यही कारण त हो, सबकासब युवाहरूलाई ‘परदेशको पानी मिठाे’ भएको ! यहाँको दाल-भात-तरकारीभन्दा परदेशको रेडिमेड फुड्सको स्वाद चाहिएको !

मेरी साहिँली दिदीको अर्को बदमासी पनि रहेछ । म त दस लाख रुपियाँमा बिक्री भएको रहेछु ! ‘ओ माइ गड !’ के भएको यो ? म एन आर एन हुनुको नियति यसरी भोग्नु पर्यो ! तर गर्नु के मैलै ? सायद यो जन्मभूमिको श्राप होला मलाई !

भावना आमा बन्ने भइन् । अर्को सन्तान होस् या नहोस् देखा जायगा भनेर ढुक्क थियौँ तर साहिँली दिदीलाई पाच्य भएन । गर्भ तुहाउने पो भन्छिन् बा ! तिनको बुहार्तन खपेर कति दिन टिक्न सकिन्छ ? आफ्ना छोरा-बुहारीचाहिँ विदेशमा बस्ने । आफू ‘तेल भिसा’ मा विदेश बसेर आउने । तर विचारचाहिँ थोत्रो ! भाइ-बुहारीमाथि कत्रो अन्याय हँ !

अन्ततः मैले बिदा  घर छाड्ने ‘डिसिजन’ लिएँ । संयाेग पनि काइदाको पर्यो । उनी एक हप्ताको लागि हेटौँडा गएकी थिइन्, जेठी दिदीको घरमा । यता कायराको पनि नाकमुख देखिएन । पाँच-छ महिनाकै बीचमा भावना र कायराको सम्बन्ध खत्तम भयो ।

निहुँ ठूलो होइन । कायराले उधुमै गरेपछि भेनाले उनको शरीरमा एक स्पर्श मात्र गरिदिएका हुन् । त्यो एक स्पर्श नै कायराको लागि साह्रै महँगो पर्न गयो । कता हराइन्, कता ।

राति करिब एघार बजेतिर हाम्रो दुवै परिवार विमानस्थलमा उपस्थित छन् । मलाई भने साहिँली दिदीको सम्झना आएर उधुम भइरहेको हुन्छ । तिनको उपस्थिति खट्किएको छ । जे भए पनि तिनले मलाई आजको लोकेश बनाइन् । लोकको ईश्वर । तर मानिसरूपी ईश्वरले कर्म दिने आमाको मुखै नदेखी कर्मभूमि फर्किँदै छु । सोचेजस्तो जीवन कहाँ रहेछ र । मेरा बाका सात-सातवटी छोरीहरू । वंशलाई अघि बढाउने आकाङ्क्षाले गर्दा ज्वाइँहरूका लागि सन्तान उत्पादन गराउने मेसिनहरू निर्माण गरिदिए मेरा बाले ।

देवीदेवताका नाम राखेर हुने भए देश किन यति बिघ्न कङ्गाल बन्न पुग्थ्यो र ! देशको नाम नै कुनै महादेवीको नाममा समर्पित गरिदिए काफी हुन्थ्यो केरे ।

यतिखेर म भावशून्य मुद्रामा छु । भावनालाई उकुसमुकुस भइरहेको छ । पहिलो अनुभव हो, परदेशस्तरीय जहाजी यात्राको । तिनी पाँच-छ पटक रेस्टरुम धाइसकेकी छिन् । म भने प्रतीक्षालयको कुर्सीमा घरी बस्छु । घरी उठ्छु ।

अब हाम्रो प्रतीक्षाको घडी समाप्त भएको अवस्था छ । प्लेनको भरेङ उक्लिनुअघि आफ्नो जन्मभूमिको भुइँमा एक पटक शिर जोतेर क्षमा मागेको छु । अब कहिले होला मैले आफ्नी जननीलाई यसरी ढोग्ने ? कहिले आउला त्यो समय, जब नेपाली मन र नेपालीपनसँग साक्षात्कार गर्न पाउनेछु ?

अब कहिले होला मेरी साहिँली दिदीसँगको साक्षात्कार, जुन पल म उनकै काखमा आँसु बगाएर यो भारी मनलाई हलुको बनाउन सकूँ ?

सबै यात्रुहरू आ—आफ्नो सिटमा बसिसकेका छन्। मेरो मन साहिँली दिदीकै घर वरिपरि घुमिरहेको छ । जुन घरमा मेरो शैशवकाल बित्यो, जुन घरबाट मेरो सच्चारित्रिक इतिहास सुरु भयो, मैले चाहेर पनि अब फर्किन सक्दिनँ । प्लेनलाई रोक्न सक्दिनँ । अब मेरो लागि कर्मघर नै सबै थोक हो । किनकि म एक एन आर एन हुँ । हो, म एन आर एन हुँ ।