फेसबुकमा आँसुको फ्रेण्ड–रिक्वेस्ट आएर बसेको थियो । फोटो टाँस्ने ठाउँमा नेपालको नक्सामाथि आँसुको ठूलो ढिको टिलपिलाइरहेको एउटा आँखो मलाई नै हेरिरहे जस्तो लाग्थ्यो । तर, त्यो आँखो कसको थियो, मैले चिन्न सकिन । एकछिन छक्क परें । टोलाइरहें । र, गहिरिएर अवलोकन गरें । जत्ति कोशिश गर्दा पनि स्त्रीलिङ्गी त्यो आँखाको पहिचान पटक्कै खुलेन । नाम र पोस्ट गरिएका फोटोग्राफहरू बेजोड लाग्यो । त्यसैले उनको अनुरोधलाई अवज्ञा गरिहाल्न पनि सकिन ।

बरु खोज र अनुसन्धानलाई अघि बढाएँ । उनको फेसबुकको वाल खोलें । र, अन्य पोस्टहरू नियाल्न थालें । प्रकृतिका सुन्दर र कलात्मक फोटोग्राफी र चित्रकलाका कोलाजहरूले भरिभराउ थिए– फेसबुकका भित्ताहरू । हेर्दै गएँ । उनको रुचीले मन्त्रमुग्ध पार्दै लग्यो । सुन्दरातिसुन्दर फोटोग्राफी र चित्रकलाका सृजनात्मक पोस्टहरूको नशामा लट्ठ परें । र, आह्लादित भएँ ।

मेरो लट्ठिएको दिमागले सोच्यो, ‘मान्छे कस्तो विचित्रको प्राणी, बहुरङ्गी ! रूप हेर्दा उस्तै–उस्तै लाग्छन्, सबै मान्छे । तर, सारमा कति रङ्गीन सुरुचिहरू लुकेको हुन्छ, मान्छेभित्र । र, कति रङ्गहीन दबिएका अरुचिहरू बोकेका हुन्छन्, मान्छेले आफूभित्र । फेसबूक आधुनिक माध्यम बनेको छ, पोख्ने र पोखिने ।

‘नेपालको नक्साको पृष्ठभूमिमा आँसु टिलपिलाएको आँखो पक्कै पनि रोइरहेकी मातृभूमिको प्रतीकात्मक अभिव्यक्ति हुनुपर्छ ।’ तर, मात्तिएको दिमागले कल्पना गरेको त्यो निष्कर्ष धेरै लामो टिकेन । किनभने खोज्दै जाँदा एउटा यस्तो चित्रकला देखा पर्यो जसले मेरो विस्मृत अतीतको दैलो ढकढक्यायो ।

उक्त चित्रकलामा – खोलाको किनारमा दौरा र कट्टु लगाएको एउटा केटो दुई हातले ढुङ्गो उचालेर उभिएको थियो । र, छेउमा घाँगर लगाएकी एउटी सानीकेटी माछाको शील हातमा बोकेर उभिएकी थिई । र, चित्रकलाको पुछारमा आँसु लेखिएको थियो ।

उक्त चित्रमार्फत खोलाको किनारमा ढुङ्गामाथि ढुङ्गाले ठोङ् हानेर माछा मार्दै गरेको दृश्य पस्किन खोजिएको थियो । उक्त चित्रकलाको पृष्ठभूमिमा देखिएको सेतो–पहिरो र पहिरोको काखमा कलकल बगिरहेकी एउटी सानी र कञ्चन खोलाको सुरुचिपूर्ण पोस्टले मेरो मस्तिष्कलाई झकझक्यायो । मानौं, ती चित्रकला र आधुनिक फोटोग्राफीको सुन्दर कलाकृतिको समासले कोमामा बसेका मेरा बाल्यकालीन विस्मृतिहरूलाई बिस्तारैबिस्तारै प्राण–सञ्चार गर्दै थिए ।

अनायास मेरो दिमागले एउटा नाम सम्झिन पुग्यो ‘आशा’ । मेरी बालसखा । ससाना कुरामा पनि रोइरहने । एकदमै जिद्दी– फुच्ची । म रुन्ची, पिन्ची भनेर जिस्क्याउँथे । झन्, मन दुखाएर रुन्थी । अनि फकाउँथे पनि । उनका बाआमा मायाले ‘आशु’ भनेर बोलाउँथे । तर, म ‘आँसु’ भन्थे । उनको वास्तविक नाम थियो आशा पुलामी ।

कतै उनै त होइनन् ?

यस्तो बहुआयामिक प्लेटफर्म आविष्कार गरिदिएकोमा मार्क जुकरवर्ग र उनका सहकर्मीहरूलाई धन्यवाद दिएँ । र, हत्त न पत्त फ्रेण्ड रिक्वेस्ट स्वीकार गरें ।

मेसेन्जरले उनी अनलाइनमा भएको जनाउ दियो । विनाविलम्ब मेसेन्जरको कलबटन् थिचें ।

धन्य ! ऊ आाशा नै थिई । अथवा मेरी बालसखा ‘आँसु’ । अभिवादनहरू साटासाट भए । अलिअलि तीतामीठा नोकझोकहरू भए । बाल्यकाललाई सम्झियौं । उतिवेलाका सरारतहरू सम्झिएर एकछिन हँस्सीमजाकमा रमायौं । बेलाबेला भावुक पनि भयौं ।

‘देख्ने बित्तिकै चिन्छौ भनेर तिमीले नै राखिदिएको नाम ‘आँसु’ लेखेकी थिएँ । तर, कहिल्यै याद आएको भए पो चिन्छौं ? हामी गाउँले कति मूर्ख र बेवकुफ हुन्छौं, हगि ? त्यस्ता निष्ठुरीको यादमा खुशी हुन्छौं, जसले आफू जन्मेको, बढेको, पढेको अकृत्रिम ठाउँ, साथीसङ्गी सबै बिर्सिसकेको छ, केवल कृत्रिम खुशीको लागि ।

कति सस्तो छ हगि, मेरो खुशी ? तिमीजस्ता निष्ठुरीलाई देख्दा पनि प्रसन्न हुन्छु । ल ल रमाऊ आफ्नै दुनियाँमा ।’ उनले बीच्चैमा मलाई रोकी र नजाने–किन फोन राखुँला जस्तो गरी रीस पोखी ।

मैले उनको बारेमा जान्ने भरमग्दुर कोशिश गरें । गाउँको बारेमा सोधें । माछा मार्दै हिंडेको खोला, गाईवस्तु चराउने जङ्गल, उनको घर अगाडीको चिप्लो ढुङ्गा, जहाँ बसेर गोडा हल्लाउँदै भुटेको मकै र साँधेको गुन्द्रुक खान्थ्यौ, बारेमा पनि सोधें । तर उसले पटक्कै भनिन । भन्दै भनिन । केवल यति मात्रै भनिरही, ‘त्यस्तो जान्ने नै मन भए, गाउँको र साथीभाइको साँच्चै माया नै लागेको भए, हेर्न आऊ न । तिम्रो नखरमाउलो शहर जस्तो छैन यो गाउँ तिमीले बिर्सिए पनि, तिमीले टेकेका प्रत्येक ढुङ्गा र माटोले तिमीलाई चिन्छन् ।’

‘थाहा छ ? तिमीले यो ठाउँ छोडेर जाँदा, म सँगसँगै यहाँका डाँडा–पाखाहरू पनि रोएका थिए । यो सेतीपहिरो, कमला, यी भीर, यी पाखा, भन्ज्याङ र चौतारीहरूले मेरो अनुहारमा पोतिएको निराशा र बिछोडको पीडा देखेर पटकपटक सोधेका थिए ‘तिम्रो सखा खै ?

‘हिजोआज पनि जब म ऐसेलु, गलेनी, घङ्गारु, थाकल, धयेँरो, खन्यू, कटुस, काफल, चिउरी फुलेका र फलेका बेला वनजङ्गल जान्छु, सबैले तिमीलाई सोध्छन् । खोज्छन् । तर, तिमी कति निठुरी, आउने त कुरै छोडौं, तिमी त सम्झँदा पनि सम्झदैनौ ।’ उनले लामै छटपटी पोखिन् । र, एकाग्र भएर सुनिरहें ।

जत्ति नै सम्झाउने प्रयत्न गर्दा पनि सफल भइनँ । अन्ततः गाउँ जाने बाचा गरें ।

उसले बेजोड खुशी हुँदै भनी, ‘म बाटो हेरी बस्छु । सेती पहिरोको टुप्पोमा गएर चिच्याउँछु एक चोटी– मेरो बालसखा आउँदै छ, भनेर । बरु, कहिले आउँछौं भन त ?’

‘यसै हप्ताभित्र । हो यसै हप्ता ।’ बाचा गरें ।

गफिंदागफिंदै म त्यहाँ पुगे पछिको मेनुमा गएर कुरो टुङ्गियो, ‘कोदोको ढिंढो, लोकल भालेको झोल, सुँगुरको मासु र माछाको सिद्राको चटनी ।’ घुटुक्क थुक निल्दै वार्तालापको को बिट मार्यौं ।

एउटी बालसखा जोसित कयौं अविस्मरणीय यादहरू जोडिएका हुन्छन्, झलझली सम्झिएँ । र, जन्मथलो जाने तयारीमा जुटे । खै किन उत्साहित थिएँ । यो उत्साह श्रीमती जीले थाहा नपाउन, भन्ने कुरामा सचेत हुँदै सोचेँ, ‘यत्रो वर्षपछि जाँदैछु । खाली हात कसरी जानु ? बालखकालकी सखा, केही उपहारहरूको इन्तिजाम गरें !’

घरपरिवारसित २ दिनको बिदा लिएर, पर्सिपल्ट अलि सबेरै घरबाट निस्किएँ । आँसुलाई घडी । उनकी आमालाई एउटा फरिया । उनका दुइटा भाइहरूलाई एउटा–एउटा टी–सर्ट र केही विदेशी चकलेट झोलामा हालेर निस्किएँ ।

सिन्धुलीको माइक्रो चडे । र, लागें जन्मथलो तिर । दिनभरी हिँडेपछि लखतरान भएर साँझपख सेतीपहिरो पुगें । सन्ध्याकालीन धूमिल दृश्यहरूसित रम्दै, म आँसुको दलानमा पुगेँ । दलान माथिको चेप्टो ढुङ्गो, निर्जन यथावत् सुतिरहेको देखेँ । त्यही ढुङ्गोमा गएर थ्याच्च बसेँ । र, वरिपरि हेरेँ । स्वच्छ, सुशान्त र शीतल बतासले शरीरको प्रत्येक अङ्गप्रत्यङ्ग चुम्दै मेरो स्वागत गरेको अनुभव गरें । हाय, प्रकृति !

उठेर आँगनको डिलमा गएँ । कमिजको टाँक खोलेर सानान्दले जन्मभूमिको छातीमा टाँसिएर शान्तिको सास फेरेको अनुभव गरें ‘मानौं एउटा नाबालक म, लामो समयपछि आमाको न्यानो काखमा लुटपुटिंदै थिएँ ।’

गाउँका प्रत्येक घरहरू बत्तीको टिलपिल–टिलपिल प्रकाशमा मलाइ च्याउँदै थिए । मादलको तालमा लय मिलाउँदै झ्याउँकिरीहरू गीत गाउँदै थिए । बस्तीमाथिको आकाशमा जूनकीरीहरू आभा छर्दै मादलको तालमा नाचिरहेका थिए । लाग्थ्यो, म आडम्बरपूर्ण जीवनबाट मुक्त भएर स्वर्गपुरीमा आमाको काखमा लुटपुटिंदै सांसारिक खुशी अनुभूत गर्दै थिएँ ।

सहसा, पछाडिबाट कसैले आवाज दियो । म फनक्क फर्किएँ ।

‘तिमी साँच्चै आयौ ? मलाई त विश्वास गर्नै गाह्रो भैरहेको छ ।’ एक जना महिला खुसीले ठूलिएको स्वरमा कराउँदै नजिकै आइन् ।

‘आँसु ?’ चोरी औलोले संकेत गर्दै सोधेँ ।

‘टाउको तलमाथि गरेर ‘हो’ को संकेत गरिन ।  मैले आँसुको बुबा लाहुरे दाइलाई सम्झिन पुगें । र, दुवै हात फैलाएर भनें ‘कोइ शक ।’

ऊ केटाकेटी जस्तो कुद्दै आई र झ्याम्म अँगालो मारी । हामी अँगालोबाट छुट्दा आँसुकी आमा र केही छिमेकी महिला र केटाकेटीहरू रमिता हेरिरहेका थिए ।

‘हिँड भित्रै जाऔं, बाहिर चिसो सिरेटो चल्दै छ’ आँसुले तानेर भित्र जान संकेत गरिन ।

‘जति चिसो भए पनि यो चिसोभित्र आफ्नो पन छ । मायालु स्पर्श छ । त्यसैले होला न्यानो छ र आनन्ददायी पनि । यस्तो लाग्छ कि जनम–जनमको नातो छ हाम्रो बीचमा, जति लडीबुडी गरे पनि धितै नमर्ने ।’ म गएर त्यही दलानमा सुतिरहेको ढुङ्गोमा बसें ।

ऊ पनि आई र मेरै छेवैमा बसी । दुवै जना गोडा झुण्ड्याएर हल्लाउन थाल्यौं । र, बाल्यकाल सम्झिएर मरिमरी हाँस्यौं ।

‘लु, आओ, घरभित्रै आओ ।’ आमा बोलाउँदै घर भित्र पसिन ।

हामी पनि आमाको पछि लाग्यौं ।

घरभित्र छिर्दै गर्दा के के नपुगेजस्तो, केही गुमाए जस्तो । अपुरो, अधुरो, कताकता अनौठो र उदेकलाग्दो लाग्यो मलाई । एकै पटक धेरै वटा प्रश्नहरूले घेरिएँ, म ।

तीनै प्रश्नहरूको उत्तरको कारण हाम्रो यो मिलन, सामान्य भेट नभएर, एउटा कथा बन्न पुग्यो ।

आँसुले तान्दै भित्र लगिन । म दायाँबायाँ हेर्दै, प्रश्नहरूको गुजुल्टो बोकेर पछि लागेँ ।

‘तिमी चेन्ज गर । म आमालाई सघाउँछु ।’ आँसु एउटा कोठामा मलाई छोडेर बाहिर निस्किइन ।

आमा नाङ्लोमा चामल केलाउँदै हुनुहुन्थ्यो ।

‘अस्ति फोनमा के भनेका थियौं ? बिर्सियौं ?’ मैले मेनु सम्झाएँ ।

‘साँच्चै हो र ?’ आँसुले हाँस्तै सोधी ।

‘हो नी ।’ मैले स्वीकृति दिएँ ।

‘आमा, ढिंढो खान्छ अरे । ए…सरी सरी खानुहुन्छ अरे ।’ हाँस्तै भनिन् । आमाले केलाउँदै गरेको चामल थन्क्याइन ।

आँसु बाहिर निस्किइन् र कसैलाई बोलाइन् ‘आभास…ए आभास…। एकछिन यता आइज त ।’

आभास भन्ने भाइ आयो र बास बसेको एउटा भालेको ज्यान लियो  । र, काटकुट गरेर हिंड्यो ।

मैले अपराध बोध गरें, ‘मेरै कारण एउटा बास बसेको प्राणीको ज्यान गयो’ र सोचेँ ‘मान्छे दया र हिंसा साथसाथै प्रकट गर्न सक्ने एउटा अद्भुत हिंसक प्राणीहरूको राजा हो ।’

प्रश्नहरूसित पौठेजोरी खेल्दै आँसुले औंल्याएको कोठामा कपडा चेन्ज गर्दै थिएँ । आँखा गएर ढोकामाथि झुण्ड्याइएको तस्वीरमा अडियो ।

म लल्याकलुलुक भएँ । हातगोडा खत्रक्क गले । स्फूर्तिले कुलेलाम ठोके । पलङमा थ्याच्च बसेँ । मेरो मस्तिष्कमा उब्जिएका लगभग धेरै प्रश्नको उत्तर त्यो तस्वीरले दियो , सिवाय एउटा ।

कसरी ?

‘आँसु…!’ आत्तिएर कराएँ ।

भित्तामा झुन्ड्याइएको फोटोतिर औंल्याउदै सोधें, ‘कसरी ?’

आँसु भक्कानिंदै मेरो छातीमा टाउको राखेर रुन थाली । म तस्वीरमा हेरेकोहेर्यै भएँ । भर्खरै तस्वीरबाट फुत्त निस्किएर बोलौला जस्ता, झरझराउँदो अनुहार भएका दुई युवा अभिशेक र अभिनास पछाडि उभिएका, र लाहुरे दाइ अगाडि कुर्सीमा बसेको त्यो तस्वीरले मलाई मर्माहत बनायो । यसकारण कि उक्त तस्वीरमा फूलको माला ओढाइएको थियो ।

‘कसरी आँसु ?’ तस्विीतिर औंल्याउँदै, फेरि सोधें ……।

‘भाइहरू, बुहारीहरू, नातिनातीनाहरू घरभरी हुनुपर्ने ! तर, किन कोही देखिंदैनन् ? किन कोही चकलेट माग्न आउँदैनन् ?’ अघिदेखि मेरो दिमागले सोच्दै थियो । आँखाहरू घरपरिवारका अन्य सदस्यहरू खोज्दै थिए ।

लाहुरे दाइ, अथवा आँसुको बुबा, भारतीय सेनामा थिए– हिन्दी सिनेमाका पारखी । अभिताभ वचनको छोरोसँगै जन्मिएकोले जेठो छोराको नाम अभिशेक राखेको भन्थे । त्यसवेला हामीलाई को अभिताभ वचन को अभिशेक के थाहा र ?

आँसु रुँदै भन्न थाली;

‘ठूलो भाइ अभिशेकलाई बाले भारतीय सेनामा जान कर गर्नुभएको थियो । तर, पटक्कै मानेन । नेपालकै सशस्त्र प्रहरीमा भर्ना भयो । राम्रै थियो । असई भएको थियो । माओवादी जनयुद्धको मध्य काल । उसको दरबन्दी पनि सिन्धुली जिल्लाकै भिमानमा थियो ।

‘कान्छो अभिनास पनि आइ.ए. पढ्दै थियो, सिन्धुलीमा । पढाइ राम्रो थियो । आइ.ए. सकेपछि भाइलाई काठमाडौंमा पढाउने हामीले सल्लाह गरेका थियौं । उ पनि राजी थियो । आइ.ए.को परीक्षा सकेर, भाइ घर आउला भनेर बाटो हेरेर बसेका थियौं, हामी । तर, उ त माओवादी जनसेनामा गयो भन्ने खबर आयो ।

‘हाम्रा नौ नारी गले । बाआमा मणि हराएको सर्पजस्तो निस्रिक्क पर्नु भयो । शोक र सुर्ताले भोक न निद्रा भयौं हामी सबै जना । अभिशेकले ज्यादै पीर गर्यो ।

‘के बनाउँला भन्ने थियो भाइलाई के पो भयो, दिदी !’ भनेर रुन्थ्यो ।

‘माओवादीको चलखेल बढेकोले अभिशेक त्यति घर आउँदैन थियो । बुबा आफै भेट्न जानुहुन्थ्यो, भिमान । २०५९ साल भदौ २० गते पनि, ‘भाइलाई भेट्छु र दशैंको अलिअलि किनमेलपनि गरेर आउँछु’ भनेर निस्किनु भएको थियो, बा ।

‘हरेक दिन बिहान उठेर समाचार सुन्दा हामी आधा मरिसकेका हुन्थ्यौं । समाचार सुनिसकेपछि मात्रै हाम्रा हातगोडा लाग्थे । यो हाम्रो दैनिकी बनिसेको थियो ।

‘२०५९ साल भदौ २३ गते बिहान, घरमा आमाछोरी मात्रै थियौं । सधैं झैं अर्धमृत शरीर लिएर बिहानै टिभीको अगाडि बस्यौं । तर, त्यस दिन हामी बौरिएनौं । टिभीको स्क्रिन अगाडि नै ढलेछौं । छिमेकीहरूले पानी छेपेर बल्लबल्ल बौराएछन् ।

‘मान्छे प्रकृतिको साह्रै ज्याद्रो सृजना रहेछ । आफूले ९–९ महिना पेटमा राखेर, छाती चुसाएर, नखाई-नपिई हुर्काएका दुईवटा मुटुका टुक्रा छोराहरू र अर्धाङ्ग श्रीमान्को रक्तमुछेल भएको लास देखेर पनि मेरी आमा बाँचेकी छिन् ।

‘बा र भाइहरूको त्यस्तो अवस्था देखेर पनि म मर्न सकिनँ । हामीलाई के ले बँचायो ? हामी किन बाँच्यौं ? किन बाँच्दै छौं ? अचम्म लाग्छ ।

‘थाहा छ वीरेन्द्र ! अस्ति आमालाई जरोले इन्तु न चिन्तु पार्यो । आमा त ‘आँसु, स्वास्थ्य चौकीसम्म जान पाए, डाक्टरले ओखती दिन्थ्यो कि’ पो भन्छिन् ।

‘ओखती गरेर ल्याएँ र सोधे, ‘आमा तिमीलाई के ले बाँच्ने प्रेरणा दिइरहेको छ ?’

‘आमाले छक्क परेर भनिन् – साचि त हगि ! मलाई किन बाँँच्न मन लागेको होला ? सायद, तेरो लागि… ।’

भान्साबाट हाम्रो कुरा सुनिरहेकी आमा कोठामा दौडँदै आइन् र भनिन्, ‘यसले ढाँट्दै छे, बाबु । यो बिहे गर्न मान्दिन । हुने हार दैव नटार, दुवै छोरा बिहे नगरी गए । कमसेकम यसले बिहे गरिदिए, नातिनातिनाको मुख हेरेर सजिलै मर्ने थिएँ । यो कुरा यसले बुझ्दैबुझ्दिन । तिमी आयौ, यत्ति चाहिं सम्झाएर जाऊ है ।’

आमालाई बीचैमा रोकेर आँसुले भनिन्, ‘मान्छे भन्छन्, आमा हुनु नारीको सौभाग्य हो, पूर्णता हो । तर, मेरी आमाको जुन अवस्था मैले देखे, मलाई आमा बन्न डर लाग्यो । त्यसैले मैले विवाह नगर्ने निर्णय गरें । यदि बाहरू र सन्ततिहरू यसरी नै मर्नुपर्छ । र, आमाहरू यसैगरी नै बाँच्नुपर्छ भने मलाइ आमा हुन मन्जुर भएन । र, मेरो गर्भबाट कसैलाई बा बनाउने रहर पनि जागेन ।’

‘२०५९ साल भदौ २२ गते राति १० बजेतिर भिमान प्रहरी बिट, जहाँ बाको ठूलो छोरो अभिशेक थियो, माओवादी पक्षले पहिलो फाएर खोलेछन्, जहाँ बाको कान्छो छोरो अभिनास थियो ।

‘अब, तिमी नै भन त, एउटा बाबुले के गर्छ, त्यो अवस्थामा ?

‘बा अभिनास ! अभिसेक ! युद्ध बिराम गर..युद्ध बिराम गर… भाइभाइ न लड, यो देशलाई तिमीहरूको एकताको खाँचो छ, युद्धको होइन । दाजुभाइ बीचको हिंसाले विनाश ल्याउँछ । यो देशलाई विनिमार्णको खाँचो छ ।

‘युद्ध बिराम….युद्ध बिराम…को आह्वान गर्दागर्दै बाको छाती छियाछिया भयो । र, बा गल्र्याम्म ढल्नु भयो, बीच सडकमा ।

‘उक्त घटनामा ४९ प्रहरी र २४ माओवादी को मृत्यु भएको समाचार आयो । थाहा छैन बाको गणना कतापट्टि गरियो । त्यो सहादतले मेरो देशले के पायो ? उनीहरूका बाआमाले के पाए ? मैले आजसम्म बुझ्न सकेको छैन ।’ आँसु फेरी भावुक भइन र भक्कानिंदै रुन थालिन् ।

आमा पनि भुइँमा थ्याच्च बसिन् । आँसुको घुँडामा टाउको राखेर रुन थालिन् ।

आँसुले आमाको टाउको सुमसुम्याउँदै भनिन् ‘कार्गिलको युद्धमा नढलेको बाको शरीर आफ्नै छोराहरूको युद्धमा ढल्यो । अब, भन ? कल्पना गर्दा पनि मुटुको धड्कन रोकिने घटना यी आँखाले देखे, यो जुनीले भोग्यो । अनि म कसरी कुनै लोग्ने मान्छेलाई मेरो पाठेघरमा वीर्य रोप्न अनुमति दिन सक्छु । मैले सकिन । किमार्थ सकिन ।

आँसु बोल्दा बोल्दै, बोल्नै सकिन । लामो सास तानेर हिक्क हिक्क गर्दै भनी, ‘मैले कुनै पनि पुरुषलाई बाबुको दर्जा दिने साहस गर्नै सकिन ।

‘मलाई विवाहको निम्ति नफकाइएको होइन । फकाइयो, कर गरियो । तर, मसित तिनै सामान्य प्रश्नहरू थिए; नितान्त मानवीय प्रश्नहरू, जसको चित्त बुझ्दो उत्तर उनीहरूसित थिएन ।

‘के तपाईँहरू चाहनु हुन्छ कि म सानो भाइ अभिनासको बदला लिन अभिशेकहरू जन्माउन विवाह गरौं ?

‘के तपाईंहरू चाहनुहुन्छ, कि ठूलो भाइ अभिशेकको बदला लिन अरू अभिनासहरू जन्माउन विवाह गरौं ?

‘के तपाईँहरू चाहनु हुन्छ, कि म मेरो बाबुको बदला लिन अरू धेरै अभिशेक र अभिनासहरू जन्माइँरहूँ ?

‘हिजोसम्म आदर र सम्मान गर्ने मान्छेहरूसित मलाई घिन लाग्न थाल्यो…।’ आँसु चित्त माझ्दै रोइन ।

मैले बीचैमा रोकेर भनें, ‘तिमी अति निराशाजनक कुरा नगर । तिमीजस्ता आमाहरूले अब, थुप्रै बुद्धहरू जन्माउनु पर्छ । यो भूगोल अभिषेक र अभिनासहरूको मात्र होइन । बुद्धको पनि हो । तिम्रो कोखबाट महात्मा गान्धीहरू जन्मिनु पर्छ । मार्टिन लुथर किङ्गहरू जन्मिनु पर्छ । नेल्सन मण्डेलाहरू जन्मिनु पर्छ । अब, माओ, लेनीन, स्टालिन, चे, क्यास्त्रो, गोन्जालोको ह्याङ्गओभरबाट नेपाली समाजलाई मुक्ति दिनुपर्छ ।

‘आँसु ! म अरू कुरा जान्दिन । म अर्को पटक आउँदा तिम्रो शुभ-विवाहको निम्तो मान्नेगर आउनेछु । आमाको काखमा बुद्धहरू खेलेको हेर्न चाहन्छु । र, म तिमीलाई अनुरोध गर्छु, यी बूढी आमालाई नातिनातिनाहरूको काखमा शान्तिपूर्वक मर्ने बाटो खनिदेऊ । जो भाइहरूले गर्न सकेनन्, तिमीले गर्नुपर्छ । र, आज राष्ट्रको संवृद्धि र विनिर्माणको निम्ति यो जरूरी छ । र, संयोगले बाँचेका तिमीजस्ता चेली र आमाहरूको यो ऐतिहासिक दाइत्वपनि हो । आमाबाट प्रेरणा लेउ र दाइत्वबाट नभाग । ’

‘लु हिँड ढिंढो सेलायो । सेलाको ढिंढो कसरी खान्छौ ?’ फरियाको फेरले आँखा पुछ्दै उठिन् आमा ।

‘हामी पनि उठ्यौं र आमाको पछि लाग्यौं ।

‘ला ! चिसिइहाले छ नि । अब, ढिंढो तताउन पनि नमिल्ने । कसरी खान्छौ ? यत्तिका वर्षपछि साथी भेट्न आएको, चिसो ढिंढो ।’ आमा गुनगुनाउँदै ढिंढो पस्कन थालिन् ।

आँसुले कुखुराको भालेको झोल तताइन् । भोक हराइ सकेको थियो । त्यै पनि भाग बसियो ।

रात निक्कै छिप्पिसकेको थियो, ज्यान थकित । अप्रत्याशित र अप्रिय घटनाको व्याकुलताले निद्रा भने पर्दैपरेन ।

……

बिहान अलि ढिलै उठियो । नुवाइधुवाइ सकिएपछि आँसु चिया लिएर आइन । त्यही ढुङ्गोमा बसेर चिया पियौं ।

‘के गर्दै छौ ? दिनहरू कसरी काट्दै छौ ? अनि आमाको कुरालाई कसरी लिएकी छ्यौ ?’ सोधें ।

‘जो मान्छेसित भविष्य हुन्छ, उनीहरू भविष्यको गर्भभित्र रहेको रङ्गीन सपनाहरू चुम्ने रहरमा बाँच्छन् । जो मान्छेसित भविष्य हुँदैन, उनीहरू पुराना स्मृतिहरूलाई रङ्ग पोतेर बाच्ने कोशिश गर्दारहेछन् । जस्तो म…. ।’ बसेको ठाउँबाट जुरुक्क उठ्दै आँसुले फेरि उही निराशा पोखिन् ।

बोल्दै आँसु अघि लागिन्, सुन्दै म पछि लागें, ‘सोच त, यदि मसित तिम्रो जस्तै भविष्य भएको भए । मेरो तिमीसित भेटै हुन्न थियो । मसित पनि अँगालोभरिको पोइ हुन्थ्यो । छोराछोरी हुन्थे । उनीहरूको रङ्गीन भविष्य हुन्थ्यो । म पनि त्यसैमा रमाउँथे ।’

एउटा पेन्टिङ गृहमा प्रवेश गर्दै उनले भनिन्, ‘मेरो बा र भाइहरूको भौतिक शरीरको अन्त्यसँगै म र आमा भविष्यहीन भयौं । त्यसैले पुराना स्मृतिहरू बटुलबाटुल पार्दै, त्यसैमा रङ पोत्ने कोशिश गर्छु । र, अहिले यही जीउने सहारा बनेको छ ।’

कोठाको चारैतिर आँखा डुलाएँ । चार कुनामा तीनचार ओटा क्यानभास र पेन्टिङले भरिएको आर्ट–ग्यालरी । अधिकांश पेन्टिङहरू भयानक, बीभत्स, रौद्र र करुण रसका । मैले सरसर्ती हेरें र फेसबुकको वालमा पोस्ट्याइएका सबै चित्रकलाको श्रोत त्यही ग्यालरी रहेछ भनेर अनुमान गरें ।

उनले चिया पिउँदै भनिन्, ‘काठमाडौं पढ्न जाँदा मेरो रस पेन्टिङमा बस्यो । त्यहीं सिकेको थिएँ । अहिले काम आयो । तिमीले दिएको नाम आँसु र मैले रुचाएको शौक पेन्टिङ मेरो जीवनको पराय बनेर प्रकट भयो । र, त्यसैको सहारामा बाँच्दै छु ।’ आँसुले आफ्नो एकालाप यसरी पोखिन् । मैले एक चित्तले सुने ।

मैले भनें, ‘त्यसो होइन आँसु । तिम्रो भविष्य निर्माण गर्ने तिमीले हो । अरूले होइन । तिम्रो भविष्यको लक्ष्य निर्धारण गर्ने तिमीले हो । अरूले होइन । तिम्रा यी पेन्टिङमा रस भर्ने काम पनि तिम्रै हो । अरूको होइन । अब तिमीले आफूलाई, तिम्रो भविष्यलाई, भविष्यको लक्ष्यलाई र तिम्रो पेन्टिङको रसलाई बदल्नु पर्छ ।

‘बद्लिएर त हेर । सबैभन्दा पहिले पेन्टिङको रस बदल । यहाँ शृङ्गार, वीर, हास्य, शान्त, अद्भुत रसका पेन्टिङहरू पनि थप । त्यसले तिमीलाई बदल्न सघाउँछ । सम्भवतः बुद्धहरू जन्माउने प्रेरणा मिल्ला । आमाले बरु आफूलाई बदलिसक्नु भएको रहेछ । हेर त, तिम्रो कोखबाट जन्मिएका बुद्धरूपी नाति–नातिना हुर्काएर मर्ने आमाको कत्रो महान् धोको छ ? उमेरको कारण उहाँको कोख नबाँझिएको भए, के थाहा आफै त्यो आँट गर्थिन् कि ?’ आँसु बिना कुनै प्रतिक्रिया, एक चित्तले सुन्दै थिइन् ।

मैले अन्तमा भनें, ‘म कुनै प्रवचक त होइन । जो तिमीलाई बुझाउन सकूँ । तिमी आफैले आफैलाई बुझाउनु पर्छ । आमाले आफूलाई बुझाइसक्नु भएको रहेछ । आँसु, म अब जान्छु । अरू केही भन्दिन । तिमीलाई धेरै दुखाउन पनि चाहन्न । किनभने तिमी पहिल्यै दुःखी सकेकी छौं ।

प्रसवपीडा पछि नै आमाहरूले सन्तानको जन्म दिन्छन् । तर, प्रसव पीडाको डरले आमा, आमा बन्न इन्कार गर्दिनन् । बस्, म तिम्रो शुभविवाहको निम्तोको प्रतीक्षामा बस्छु । र बसिरहन्छु ।’

म फर्किने तयारीका साथ बाहिर निस्किएँ ।

‘अब त नबिर्स है । आउँदै गर ।’ आमा र आँसु दुवैले बिदा दिए ।

‘तिम्रो शुभविवाहको निम्तोको प्रतीक्षामा हुन्छु ।’ हात हल्लाउँदै म पनि बिदा भएँ ।

‘अब बुढेसकालमा कसले बिहे गर्छ हौ मसित ।’ आँसु शिर झुकाएर घरभित्र पसिन् । आमा फनक्क फर्किन् र आँखा झिम्क्याउँदै घरभित्र पसिन् ।

……..

यसले यो कथा किन हाल्यो भन्नु होला ? यसकारण कि मेरो हातमा आँसुको शुभविवाहको चुह्लेनिम्तोको कार्ड छ ।