रिमाल ज्यूले भनेझैँ
एक जुगमा एक दिन
एक पटक उलटपुलट आयो
“व्यवस्था” लाई बढारेर गयो
तर परिपाटीलाई उल्टाउन सकेन
त्यो त झन् संस्थागत बन्नेतिर लाग्यो

अहिले शहर
शहरहरू खाली हुँदैछन्
अनि गाउँ
गाउँहरू रित्तो हुँदैछन्
सम्भावना भएकाहरू
धेरै पलायन भए
भविष्यको खोजीमा
आफ्ना वृद्ध आमाबुबाहरूलाई
एक्लो छाडेर…
कोही खाडीमा
बुढ्यौलीको दिन निम्त्याउँदै
देशको अर्थतन्त्रमा ‘रेमिट्यान्स’को
‘इन्जेक्सन’ भएर…
जीवनको आफ्नो उर्वर कालखण्ड
तिलाञ्जलि दिँदैछन्
कोही अन्यत्र
आफ्नो अस्तित्वलाई नै
दाउमा राखेर
नेपाली हुनुको गर्व
भावनामा साँचेर
राष्ट्रियता नै धमिलो
हुने गरी
देश फर्कने कि फर्कन नसकिने
दोधारमा छन्

यता देशमा हुने
आफन्तहरू
स्वजनको पर्खाइमा
रित्ता घरको कुनै कुनामा
दिन गन्दै शून्यतामा
बस्न बाध्य छन्

कहिले उताबाट
बाकसमा आफ्नो भविष्य
प्लाष्टिक भित्र बेरिएर आउछ
अन्धकार, आँधी बेहरी लिएर…
कहिले यता
छिमेकीहरूले
‘भिडियोकल’मार्फत
मृत बाआमाहरूको शरीर
विदेशमा भएकाहरूलाई देखाई
अन्तिम संस्कार गरिदिनु पर्छ …

अनि देश चलाउनेहरू
दैनिक विदेशिनेहरूको आँकडा
तथ्याङ्कको ठेलीमा बन्द गरेर
आफ्नो अभीष्टमा लिप्त हुन्छन्

तर
अझै पनि देशका लागि
बलिदान दिन्छु भन्नेहरू छन्
देशका लागि केही गर्छु भन्नेहरू छन्

भो
अब बलिदानका कथाहरू
धेरै नसुन
बलिदानले देश बन्छ भन्ने
झुट्टा कथाहरुको भ्रममा नपर
अब त
आफू बाँचेर
देश बचाउनु पर्छ

बलिदान दिने हाम्रा अग्रजले
देश होइन
देश खानेहरूलाई
बलियो बनायो

अब पनि त्यो
यो पिँढीले दोहोर्याउनु हुन्न
भो अब
बलिदान दिन्छु नभन
आफू बचेर
देशलाई बचाउने
प्रण गर ।