बाँझिएको मनभित्र
कल्पनाका थाँतीहरू
केही उत्कर्षका
केही खुशीका
केही सपनाका
एउटा विष्फोट पर्खिएर
बसेका हुन्छन्

युगले दिँदैन
युगले खोस्दैन
युग बनाउनेहरू मात्र
युगको बिम्ब कोरेर
आफैँ दानव र देव बन्ने गर्छन्

इतिहास साक्षी छ
दानव र देवहरू
आए गए
आए गए
तैपनि
समय अगाडि कोही
चट्टान झैँ
समयसँग पौंठे जोरी खोज्दै
टिकिरहन सकेनन्

तर,
मनभरि चट्टान बोकी
वा
चट्टानको मन बनाई
बाँच्न विवश छ मान्छे
विडम्बना वा उसको
यो कस्तो उत्सर्ग ?
यो कस्तो दिग्भ्रम ?
तैपनि
उसरी नै
बाँचिरहेकै छ मान्छे ।


इलाम
हालः विराटनगर