जीवनको अन्तिम क्षणमा
उसले
आफ्नो विगतलाई
धिक्कारेन
बरु
बाँचेका क्षणहरूलाई
सम्झदै
नमन गर्न खोजेथ्यो
समयले उसलाई
ठगेको
उसले गुनासो पनि
गरेको होइन
समयसँगै हिँड्न नसक्नु
उसैको ठूलो भूल भएको
उसले कबुल गरेथ्यो
म मृत्यु हुँ
उसको अन्तिम क्षणको साक्षी
उसको मृत शरीरको
कसम खाएर भन्छु
उसले कसैलाई दोष
लगाएको पनि होइन
जब
बाटाहरू साँघुरिदै गए
एकाकीपनले गाँज्दै गयो
टाढिएका सम्बन्धहरू
उसलाई लखेट्ने स्यालहरू बने
बचेखुचेका माया गर्ने हातहरू
उसलाई तर्साउने
नराम्ररी गिज्याउने
बुख्याचा जस्ता लाग्न थाले
अनि आफैँसँग भाग्दा भाग्दै
मेरै हातमा
उसले आफूलाई अन्त्य गर्यो
र म तपाईलाई यो क्षण
उसको अन्त्यको
बकपत्र गर्दैछु ।
०००
इलाम ६,
हालः विराटनगर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला