अध्ययन ताका तीन वर्ष बिताएको शहर विराटनगर नोकरीको सिलसिलामा चौध वर्षपछि आएको आज ठ्याक्कै दुई महीना हुन लागेको छ । आज सार्वजनिक बिदा भएकोले केही सामान किन्न बजार निस्केको छु म । पञ्च मुखी हनुमान मन्दिर अगाडि एक जना परिचित मान्छे आउँदै गरेको मलाई भान हुन्छ । मैले उसलाई एक टक लगाएर हेरेँ । झुस्स दारी, पुरानो कमिज, पुरानै पाइन्ट, फितावाला चप्पल र हातमा चुरोट, हेर्दै भित्रभित्रै सल्किरहेको जीवन जस्तो तर आँखाको चमकबाट मैले अन्दाज काटेँ र बोलाएँ “सुवर्ण !”

ऊ टक्क रोकियो र मलाई नियालेर हेर्न थाल्यो ।

“मलाई चिनेनौ ? म दिपक ।”

“…”

“हामी सँगै बिए गरेको होइन महेन्द्र मोरङमा ?”

अब चाहिं उसले मलाई अडकल काट्न थाल्यो ।

म पनि एक्कासि बिए पढ्दाको समयमा पुग्छु । सुवर्ण त्यस समयको जल्दोबल्दो विद्यार्थी । साहित्यिक गतिविधिदेखि राजनैतिक जोशका साथ हामी बीच ऊ सेलिब्रेटी नै थियो । ऊ एक्लै कहिल्यै नदेखिने मान्छे । कोही न कोही उसको साथमा हुने ।

त्यस समयमा अर्को विद्यार्थी पनि चर्चामा थिई – स्वस्तिका । त्यो जोडीकै मात्र कुरा हुन्थ्यो महेन्द्र मोरङभरी । लाइब्रेरी, क्यान्टिनमा अक्सर दुवै गफिँदै गरेको हामी भेट्थ्यौँ ।

सुवर्णका कविता भनेपछि सबैजना हुरुक्क हुन्थे । कतिले त उनलाई कविता लेख्न लगाएर आफूले वाचन गरी पुरस्कार पनि लिने गरेका थिए । आफ्नो रचनालाई किन यसरी सबैलाई दिएको भनेर हामी सोध्ने गर्दथ्यौं सुवर्णलाई ।

“मलाई प्रसिद्धिको भोक छैन । मेरो सृजनामा अरूले नाम चडाए के भो ? मेरा पोखिएका भावना अरूले सुनाए । मलाई त्यसैमा आनन्द आउँछ ।” ऊ सहज उत्तर दिने गर्थ्यो ।

“अँ अहिले अलि याद आयो । तिमी दिपक ! तिमीलाई मैले नै छात्राबास मिलाइदिएको होइन त्यतिखेर ?”

सुवर्णको आवाजले म झसङ्ग हुन्छु । त्यो सुवर्ण र यो सुवर्ण कसरी सम्भव छ । म सोच्न सक्दिनँ तर उसलाई सँगै चिया पिउन अनुरोध गर्छु । हामी लाग्छौं नजीकैको चिया पसलमा ।

“अनि सुवर्ण तिमी के गर्दै छौ ? स्वस्तिका कहाँ छिन् ?” म अनायास प्रश्न तेर्साउँछु ।

ऊ मेरो प्रश्न सुनेर गम्भीर हुन्छ । चुरोटको लामो सर्को तानेर भन्छ, “बी ए सकिएपछि स्वस्तिकाको बिहे भयो । हामी छुट्टियौँ । त्यस पछि समय कसरी बित्यो पत्तो भएन । अहिले दुई-तीन वटा पत्रिकामा प्रुफ रिडिङको काम गर्दैछु । जे होस् जसोतसो चल्दै छ ।” ऊ फिस्स हाँस्ने कोशिश गर्छ ।

“घरमा आमा मात्र छिन् । आमालाई दमको रोगले ग्रस्त पारेको छ । मेरो अवस्था यस्तो छ । राम्रो उपचार गर्न सक्दिनँ । मेरो लाचारीले आमाको मृत्यु मात्र पर्खिरहेको जस्तो लाग्छ दिपक !” ऊ एकाएक पोखिन्छन् ।

म बोल्न सक्दिनँ । के भनूँ ? म आँट गरेर सोध्छु, “अनि तिमी त्यति राम्रो कविता रच्ने मान्छे । किन त्यसलाई संग्रहको रूपमा प्रकाशित गरेनौ । तिम्रा रचनाहरू त जसरी पछि जान्थ्यो । त्यसबाट तिमीलाई रोयल्टी पनि आउँथ्यो होला नि ? तिम्रो पहुँच र सम्पर्कले तिमीलाई हर क्षेत्रमा साथ दिन्थ्यो ।”

ऊ चूपचाप मेरो कुरा सुन्छ र केही बेर अर्को चुरोट सल्काउँदै जवाफ दिन्छ, “स्वस्तिकासँग छुट्टिएपछि मैले फेरि लेख्ने आँट गरिनँ । क्याम्पसमा उसको विवाहले ठूलै हल्ला फैलियो र मेरो आत्मसम्मानमा गहिरो चोट छोड्यो । सोचेँ – फेरि पनि मैले कविता लेखे भने सबैले मलाई देवदास भन्नेछन् । म हारेको मान्छे भएर दुःख दर्शाउन खोजिनँ । तर भने जसरी कहाँ बाँच्न सकिँदो रहेछ र ? मैले क्याम्पस छोडेँ । सबै सँगको सम्पर्कलाई एक किसिमले बन्द नै गरेँ ।”

म निःशब्द छु । हामी चूपचाप छौं । मेरो मनमा उथलपुथल भइरहन्छ । ऊ एक्कासि केही सम्झे झैँ उठ्छ र भन्छ, “ल दिपक तिमी विराटनगर मै छौ भने अवश्य भेट हुनेछ । एक ठाउँ पुग्नै पर्नेछ ढीला हुन लाग्यो । म निस्कन्छु ।”

ऊ मेरो जवाफ नपर्खी हिँड्न शुरू गर्छ । म उठ्न पनि भ्याउँदिनँ । मनमा त्यो सुवर्ण र यो सुवर्ण घुमिरहन्छ ।

फेरि ऊसँग कहिले भेट होला ? उसले मेरो बारेमा केही पनि सोधेन । म विचार शून्य हुन्छु । ऊ गइसकेको हुन्छ । परपर सम्म पनि म उसलाई देख्दिनँ ।