
डिल्लीराम अधिकारी
शीत र ताप त्यो त छँदैछ यो कस्तो बन्धन
मदेखि टाढा हाँसिरहेछ स्वतन्त्र उद्यान ।
त्यो वाटिकामा उम्रने फुल्ने द्विकोटी फूलझैँ
म पनि थिएँ फूलको जात भएछु शूलझैँ ।
लालस थियो उही माटोमा फक्रेर फुल्ने
आफ्नै बारी मलिलो पारी मगमगाई झुल्ने ।
ती सारा आशा भए निराशा हे दाजु हे भाइ
विराना वनमा म मर्ने भएँ गुहारै नपाई ।
देशमा आई आँधिबेहरी खलबल पर्न गो
कठैनी बरा हुरीका चरा मुग्लान भर्न गो ।
घरैमा टिपी ल्याएको बिऊ विदेशमा बिष्टाए
दैवले आई लौ हामीलाई यसरी छुट्टाए ।
त्यो कालो बादल फारेर मादल घन्काई क्रान्तिको
आएछन् देव लिएर साथ साम्राज्य शान्तिको ।
हिमाली शीतल लेकाली काफल स्वधन्दा विहार
कर्मले मेरो पारेछ फेरो के हुन्छ रोएर ।
जो हुनु थियो ऊ त भइगयो बिन्ती छ हे हरि
यो जन्मान्तरमा आफ्नै घरमा जन्मिऊँ म मरी ।
गुनासो मनको बन्दी जीवनको उडाई सरर
जहाँ छन् स्वजन लगिदे पवन गरिदे खबर ।
टाउजी, बर्मा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

