तिलक पोखरेल (म्यान्मार)

जिज्ञासाको ज्वालामा
जलिरहेको छु

प्रतिदिन गल्दै गएका
पात्रोका अक्षरहरूमा
समवेदनाको वर्णहरू
कोतर्दै धिक्कार्दै छु….

ज्योतिषीका वाक्यमा
बादल छायो
वाणीहरू आज
लाजको कठघरामा
मुन्टो निहुरिएर
परिवेशलाई दोषीलाई
पर्खिरहेका छन्……

कसको भरोसामा
पग्लिरहेछ विश्वासका
कोणहरू….
अंशहरू..।
टुक्राहरू…..

मन्दिरमा पातलिँदै गएका
भक्तहरूको बाटो हेरेछन्
ती शीला भएका मूर्तिहरू

बगैँचामा तन्दुरुस्त भएका
वस्तु र फूलहरू
सुन्दरताको प्रदर्शन गर्न
पर्खिबसेका छन् दर्शकहरू…..

अमूल्य संसारको मूल्यको रङ्ग
हराएको समाचार सबैको ओठमा
बगिरहे पनि
कसैमा सुन्न सक्ने क्षमता रहेन…..

अमूल्य सम्पत्तिको गुणगान
लेख्नेहरूले जलाउँदै छन्
पानाभित्रका प्रपञ्चकारी वाक्यांशहरू…..

फल्दै गए सबैको मनमा
निराशका काला फूलहरू
जसको बास्ना विषालु बन्यो
घुम्दै छन् पुँजीवादका
पुतलीहरू
जसको आकारको चित्र बनाउन
चित्रकार पनि थर्कमान भएको छ…..

भो मलाई नसोध…
मेरो स्वासको रङ्ग कस्तो छ…
बाँच्ने रहरको उमेर कहाँ छ?
खुसीको विधुवापन हेर्ने रहर
मसँग शेष छ……

र त बाँच्नका लागि हाँस्दै छु
हाँस्ने आशमा बाँचेको छु ।