तिलक पोखरेल (म्यानमार)

पतकरहरूलाई
नहेरी
अहंमले हो कि
के ले हो
बूढो रूख
आकाशलाई हेरिरहेको छ

कति सुके होलान्
कति कुहिए होलान्
कति घाँसमा गए त
कतै वायुको तेजमा
लक्ष्यहीन बटुवा भए

तर त्यो बूढो रूख
घरको आँगनमा
दक्ष भई
उसकै धर्तीमा
आँसु झार्दै
आफूलाई बचाउँदैछ ।

उसको आँसुका बुँदहरूले
ती पतकरहरूलाई
लोभलाग्दो आस नदिए पनि
केही बेर बाँच्ने वास त मिल्दो न हो

र पनि ऊ
आफ्नै टाउकामा
नाचिरहेको मौसमहरूमा
रमाएर बाँचिरहेको छ

कतिसम्ममा ती पतकरको
कोमल छातीको तलबाट
चिसो खाएर बसेको धर्तीको कुनामा
एउटा कलिलो विरूवाको जन्महुने हो ।