मेरो सहर झरीले राज गरेको हुन्छ। झरीको सहर हो मेरो वासस्थान। जहाँ पानीको कमी कहिल्यै महसुस हुँदैन । न नै बादलले दिएको न नै भावनाले दिएको । बाटाहरू पनि प्रेरणाका श्रोत हुन् । सबैलाई आफ्नो छातीमा चढाएर आफू चोटमा लम्पसार परेको हुन्छ । कसैले मलम लगाएजस्तो गरे पनि त्यसको पछि चोट दिनेको ताँती कम छैन । यहाँ कहीँ कतै बाहिर जान पनि मौसमको अनुमति मिल्नु पर्छ । पछि मात्र आमाको । धेरै जसो कोठाभित्र कहिले उपन्यास त कहिले कविताका किताबहरूसँग दिन बिताइन्छ । कहिले बर्मेली किताब त कहिले नेपाली, मलाई अङ्ग्रेजी पढ्न त आउँछ तर त्यति स्वाद मिल्दैन नेपाली र बर्मा पढे जति । सायद मेरो भाषा कमजोरीको कारण पनि त हुनसक्छ ।

तातो कफीले चिसोमा परिणत गरेर मेरो मनको बिम्बलाई जिस्क्याइरहेको छ । कति कप भयो मैले पिएको कफी अनि कति पटक गए शौचालय, मनको तातो पन शौचालयमा बग्ने हो भने म एक चर्चित सन्त भइसक्थेँ पनि होला। मात्र तातो बाफ उडेको देख्छु मन भने त्यस्तै भतभत पोलिरहने । त्यैमाथि समातेको उपन्यास पनि मन बहकाउने । कतै अतीतको यादमा फाँसी दिन्छ त कतै सपनाको बगैँचामा घुमाउन लैजान्छ। हैन यसले वर्तमानलाई किन बिर्सिन लगाउँदै छ मलाई । म अन्योलमा छैन म पुरै होस र स्थिरमा छु । लाग्छ यो आफैलाई दिइने मिठो अनि झुटो सान्त्वना हो मेरो ।

यस्तै झरीमा हो मैले आफ्नो कविता लेख्न सुरु गरेको । गजलको मतला र शेरबारे नबुझेर सोधेको पनि हुँ उसलाई। कविताका रस, आख्यान, बिम्ब अनि के के हो के के मलाई उसले बुझाएकै हो । तर पनि मैले कहाँ बुझ्न सकेको थिएँ र । कफीको मकमा झरीको बुँद नपरोस् भनेर तर्काएर राख्दा राख्दै पनि उसको समयमा ऊ सेलाएर गयो। उसले उसको धर्म निभायो म भने आफ्नो धर्मबाट वञ्चित हुँदै कफी र मौसमप्रति दोष दिइरहेँ ।

ऊ..!

कता के गर्दै छस्… उसको अनुहार हेर्दै मैले सोधेँ। ऊ मौन थियो। मैले उसलाई गजल सुनाएँ। ऊ मौन थियो । अझै अर्को मुक्तक सुनाएँ । बिल्कुल बोलेन ऊ । म निरास भएँ र आफ्नो चिसिएको मनलाई न्यानो बनाउन कफीको कप लिएर चौकामा गएँ । पानी तताउन स्विच दबाएँ र केही बेर पर्खें । यो पानी तात्न पनि समय दिनु पर्ने। कोठामा बोल्दै गरेको मेरो साथी एक्लै छ । म ऊसँग निरास भएर आएको त हुँ तर म उसलाई लामो समयसम्म निरास बनाउन चाहन्न । झटपट पूरा नतातेको पानीमा कालो धूलो कफीलाई मुछिदिएँ अघिका निरास पनहरूसँगै ।

म कोठामा गएँ पुनः । ऊ त्यसै रूपमा बसिरहेको थियो जसरी अघि मैले छोडेर गएको थिएँ । उसलाई कविताको बारेमा धेरै चर्चा गरेँ । मैले लेखेका कविताहरूबारे ऊबाट टिप्पणी पछि माग्छु अहिले ध्यान दिएर सुन्नु मात्र भनेँ ।

हामी सँगै रक्सी प्युँथ्याैँ । उसले गिलासमा बोतलबाट रक्सीको छहारीबारे कविता बनाउँथ्यो । मैले बरफ हालेर गजल बनाउँथेँ । उसले सितन तयार बनाउँथ्यो लय मिलाएर । म गिलास र थालीहरू सजाउँथेँ मतला थपेर ।

तैँले भन्थिस् नि नि केटा, “सितन यदि नराम्रो हो भने शब्दकोशमा किन आयो लू भन्” । नराम्रो चिज हैन, यसले साथ दिन्छ । जसरी तैँले मेरो अनि मैले तेरो । रक्सी र सितनको मित्रताबारे हामीले धेरै कुरा गरेका हौँ । जब मैले नशा छोडेँ किन हो किन तेरो र मेरो सम्बन्ध पनि रक्सी र पञ्चामृत झैँ अन्तर हुँदै गयो । तैँले त त्यो मित्रताको अखण्ड काव्यबारे अध्ययन गर्दै गइस् म भने महाकाव्यबाट दूर हुन पो पुगेको रहेछु ।

आज मात्र थाहा हुँदै छ । जसरी रक्सी पनि सितन बिना सेवन गर्न सकिन्छ तँ वा म पनि हामी बिना केही महिना अलग हुन पुग्यौँ। तँलाई गाह्रो लाग्दो रहेछ प्युन छोडेको मलाई जबरजस्ती भट्टीमा बोलाएर पुरानो बानी फेरी उमार्न नखोज्ने । मलाई आभास हुँदै गयो यो रक्सीको कारण हाम्रो दूरी बढ्दै गएको । मैले नै हो तँलाई पन्छाएर तेरो घरमा घण्टौँ कुरेर तँलाई भेटेर मात्र जान्थेँ । त्यो झरीको देशमा कति पटक तेरो घरबाट तेरै लुगा लगाएर गएँ । तर म स्वार्थी मेरो चिसो लुगा कहिल्यै तेरो घरमा छोडिन ।

एक पटक भनेको थिइस् यो मलाई मन पर्ने कोट हो तँ बाहेक अरूलाई छुन पनि दिन्न। सम्हालेर लगा, अनि फिर्ता गर्नु । त्यो कोट मेरो सिरानीमुनि छ । हेर्छस् ? ऊ मौन नै थियो ।

ऊ नबोलेको देखेर मलाई पहिलो पटक मनमा आनन्द आयो । किनभने उसले ध्यान दिएर सुन्दै छ मेरा कुराहरू, मेरा कविताहरू, मेरा गजलहरू, अनि मुक्तक पनि ।

सुन्न तँलाई अर्को कुरा पनि सुनाउँछु ।

साेमबार मन्दिर जाँदा मलाई रक्सीको तलतल लागेको थियो र तैँले पुजारीकै छेउमा बसेर कोकाकोलाको बोतल दिएको थिइस् । मैले यसको हैन के भन्दा मन्दिरमा यो बाहेक अरू के मिल्छ भन्दै दम्काएर चुपचाप लागेर घिच् भनिस् । रातको नशा नउत्रेको झोक अनि गलाको प्यास निभाउन अस्थायी रूपमा चलाउन पर्यो भन्दै मैले बोतल मात्र खोल्न पाएको थिएँ तैँले उता जा यहाँ जजमानहरू आउँछन् भनेर खेदाइस् ।

म मन्दिरको कुनामा गएर बोतलको ओठ र मेरो प्यासी ओठ किस मात्र गर्न खोज्दै थिएँ यो मन आनन्द भएर आयो । मैले त्यो कोकाकोलाको रूप फेरिएको रक्सी पवित्र मन्दिरको आँगनमा शान्त मन भएर पिएको थिएँ । सबै पिएँ । सासै नफेरी पिएँ । यतिसम्म पिएँ कि बोतल नाङ्गो भएको पनि चाल नपाउन्जेल पिएँ । तब मनलाई राहत मिल्यो र फर्केँ तँ भएको ठाउँमा। तेरा आँखा मेरो अनुहारमा हैन मेरो हातमा थियो जुन हातले तेरो कोकाकोला बोकेर गएको थिएँ । तब मैले बुझेँ अनि भनेँ, “केटा त्यो प्रसादमा भएको स्याउ यता लेन…”

तैँले केही नभनी दिएको थिइस् । मैले अनुमान लगाउन नसकेको  हैन । नलगाएको हाे क्यारे । अनुमानमा तेरो प्यासलाई कुल्चिएर मैले एक्लै घोकेको थिएँ ।

बाइकमा तेरो पछाडिबाट बसेर तेरो कम्मर समाती त्यो झर्न लागेको झरीको बिचबाट खुसुक्क आइरहेको चिसाे बतासमा त्यो कोकाकोलाको तातोपन,  कति मिठो उपन्यास है..!

तेरो घरमा पुगेर तैँले  भनिस्, “मन्दिरमा झोला भुलेर आएछु । तँ आमासँग कुरा गर्दै गर म आइहाल्छु ।”  मैले बुझिहालेँ । नबुझ्नु पनि कसरी ? त्यसको प्यास आँखाबाट झल्किरहेको थियो । आमासँग कुरा गर्दै थिएँ । (हामीबिच यतिसम्मको मित्रता थियो मैले उसको आमालाई आमा भन्थेँ त उसले मेरो आमालाई आमा । यी जँड्याहाहरूकी आमालाई हाम्रो मित्रता देखेर खुसी थिए किन हो मलाई पनि आजसम्म थाहा छैन ।) आमा के भन्छ हो यसले भन्दा के भन्नु केटा तैँले जे भन्छस् उसले फेरि सुनाउने तै हो, तैँले जे खान्छस् उसले डकार्ने तै हो, तैँले जे लेख्छस् उसले गाउने तै हो । यो मित्रता कायम राख्नू । घर आउन नछाड्नू । मेरो पनि त ऊ बाहेक अब तँ त छस् केटा । यी आमाहरूको स्वार्थी ममता पनि अचम्मै को छ । हामी दुवैले आमा भनेर सम्बोधन गरे पनि आमाहरूले आफ्ना छोरालाई मात्र छोरा भनेर अर्कोलाई नामले नै बोलाउँथेँ । आमाको लागि आफ्नो सन्तानको ठाउँ कसैलाई दिन निको कसरी होला हगि । आमाका यी कुराले मन आनन्द भयो । झरीले विस्तार गरेपछि कुहिरोले बाटाहरू निल्दै गए ।

शौचालय गएर पेन्ट उतार्न खोज्दा मेरो पर्स खल्तीमा नभएको थाहा भयो । म त्यति लापरबाही त छैन, पक्कै त्यही गधाले लिएर गयो र त मन्दिरबाट अझै फर्किन सकेन । आउन लागेको पिसाबलाई मैले अन्याय गरेर बाटैमा रोकिदिएँ र उसको पछाडि लागेँ । ऊ साँच्चै नै मन्दिरमा थियो । हाम्रो मन्दिर ! हाम्रो कुराहरू पोख्न सहज हुने मन्दिर, जहाँ कुनै भेदभाव छैन, कुनै पक्षपात छैन, कुनै रोकावट छैन, कुनै नियम र कानुन छैन । कति पवित्र छ मन्दिर हाम्रो मन्दिर भट्टी !

मेरो आगमन देखेर उसले मुसुक्क हाँसेर एउटा गिलास मगायो, मेरो लागि तयार बनाएर छेउमा राखिदियो । म रिसाएको त छैन तर थोरै रिसाएझैँ गरेको देखेर तैँले भनिस्, “धेरै नखरा नगर । ला अनि फर्की मौसम राम्रो छैन ।” नशामा झुल भएर पनि मेरो चिन्ता गर्ने मनमा नशा पर्न दिएको थिएनस् है ।

तँ अझै मौन छस् ? अब त केही बोल न । म रिसाएको छैन के । मेरो मन बुझ्ने तँ त छस् । मलाई के भएको छ मेरा कविताबाट थाहा पाउँथिस् । मेरो मनमा के बितेको छ मेरा शेरहरूबाट बुझ्थिस् । मनमा के कुराको आक्रोश भएको छ मेरा मुक्तकबाट पक्रेर हाँसेर भन्ने गर्थिस्, “दुनियाँ स्वार्थी छ केटा ! आफ्नाे भनेको मन मात्र हुन्छ त्यसलाई सम्हालेर बस।”

झ्यालबाट चिसो हावा लाग्यो । मेरो कफीले उसको नित्य कर्म गर्यो । पख् है केटा म झ्याल बन्द गर्छु भनेर म त्यता लागेँ । कफी प्युनमा मस्त भएँ । झ्यालमा भएको सिसामाथि बिस्तारै बग्दै गएका पानीका धाराहरूमा भुलिएँ । गल्तीले आफ्नाे गाला पो पुछ्न पुगेछु ।

ढोका कसैले खटखटाएको आवाज सुनेँ ।

“हैन कोसँग बोलेछौ तिमी एकोहोरो ? छोरीले बाबा ख्वै भनेको भनै छे ।” श्रीमतीको पावरफुल आवाज आएपछि कसको मन थर्किन्न र तँ त बोल्दैनस् अब के गर्ने बोल्ने छोरीसँग मन भुलाउन पर्यो । तँ त लाटाे भएछस् क्यार ।

मैले उसको फोटो भएको एल्बम बन्द गरिदिएँ । र माया र सम्झनापूर्वक दराजमा सम्हालेर राखेका पुस्तकहरू बिच राखेँ । तँ त मेरो लागि साहित्यको सर्वनाम होस् केटा ।

छोरीसँग केही बेर खेलिसकेपछि म बाइक लिएर त्यो डाँडामा गएँ जहाँ हामी धूलोमा लेख्ने गर्थ्यौं ।

तँलाई थाहा छ यो बतास,  यो झरी, यो मौसम उस्तै छ । यो मन, यो सहर, यो बाइक उस्तै छ । मात्र छैन रक्सीको छेउमा तँलाई मन पर्ने स्याउको सितन… मात्र छैन यो बिरानो सहरमा तेरो पार्थिव शरीर… मात्र छैन तेरो नाम लिएर तेरो घर जाने मन..।

म्यान्मार