न कालो
न सेतो
बेरङको

न चिसो
न तातो
न तीतो
न मीठो
बेस्वादको

न नै आगन्तुक हो
न नै परिवार

न नै विस्मात हुन्छ अलप हुँदा
न नै हर्षित भइन्छ झल्किदा

न नै छेउको
न नै टाढाको

नभई नहुने तर
भए पनि अनावश्यक ठहरिने

न नै छाया हो
न नै बिम्ब
टाँसिरहन्छ हरपल

टुक्राउन खोज्यो जति
उतिउति टाँसिन खोज्छ
टकटकीउन खोज्यो जति
उति उति झुन्डिन खोज्छ

मेरो हैन अब भनौँ
साइनो लगाइहाल्छ
भुलिएका सबै कुरा
कुहिरो बनाई ल्याउँछ

न थर छ, न आफ्नै जात
न गोत्र छ, न नै वंश

क्षणमा आउँछ चलचित्रझैँ
कणकणमै बिलाउँछ

अतीत हो भूमिका त लामै हुन्छ भन्थे कसैले
लेखेर पो सकिएन
अतीतले कविलाई त छोडेन
मैले उसको भूमिका अधुरो छोडी दिएँ

सायद उसले पनि मेरो साथ छोडेस्