
न कालो
न सेतो
बेरङको
न चिसो
न तातो
न तीतो
न मीठो
बेस्वादको
न नै आगन्तुक हो
न नै परिवार
न नै विस्मात हुन्छ अलप हुँदा
न नै हर्षित भइन्छ झल्किदा
न नै छेउको
न नै टाढाको
नभई नहुने तर
भए पनि अनावश्यक ठहरिने
न नै छाया हो
न नै बिम्ब
टाँसिरहन्छ हरपल
टुक्राउन खोज्यो जति
उतिउति टाँसिन खोज्छ
टकटकीउन खोज्यो जति
उति उति झुन्डिन खोज्छ
मेरो हैन अब भनौँ
साइनो लगाइहाल्छ
भुलिएका सबै कुरा
कुहिरो बनाई ल्याउँछ
न थर छ, न आफ्नै जात
न गोत्र छ, न नै वंश
क्षणमा आउँछ चलचित्रझैँ
कणकणमै बिलाउँछ
अतीत हो भूमिका त लामै हुन्छ भन्थे कसैले
लेखेर पो सकिएन
अतीतले कविलाई त छोडेन
मैले उसको भूमिका अधुरो छोडी दिएँ
सायद उसले पनि मेरो साथ छोडेस्



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 










