तिलक पोखरेल

वर्षमा एकपटक झुल्किने यो घाम
यो वर्ष अल्छी भयो की
बिरामी भयो अनभिज्ञ छु म…..

मेरो आँगनमा
मेरो चोकमा
मेरो गल्लीमा
मेरो क्षेत्रमा नआएको
निकै भयो……….
मेरो निधारका रेखाहरू
धमिलिँदै गएको छ
त्यो त थाहा छ मलाई
तर पनि…..
म स्विकार्न असमर्थ छु
या सामर्थ्य छैन मसँग….
मजबुत भएको यो मुटु
भावनाको तरङ्गमा
मजदुर भएर भौँतारेको छ……
यो पटक पनि
दसैँको मुख हेर्न
नपाइने पो हो की ??
यसपटक पनि
दीपावलीको दियोमा
तेल थप्ने रहर कतै
बिलाउने पो हो की ????
ती हारहरूमा विजयी को भयो ???
विश्व काँपेको रोगमाथि
राजनीतिको वर्षाले
बिराम बनाएर
एकान्तमा पनि म हारेको छु
एक्लै दौडेको प्रतियोगितामा पनि
परिस्थितिसँग हारेको छु
भो…..
तिहारसँग चित्त दुख्यो मलाई….
ती हारसँग चित्त दुख्यो मलाई….
न कुनै देवीदेवताको आश रह्यो
न कुनै भाग्यको प्रायोजन
न कुनै नेतासँग आकाङ्क्षा बढ्यो
न कुनै कर्मको खेल………
हार-हार बार-बार जप्दा
कतै त्यसैलाई अपनाउने बानी पर्ने हो ?????
हार-हार बार-बार नजिकिँदा
कतै त्यसैलाई आफन्त ठानिने हो ????
हार-हार बार-बार ठोक्किँदा
कतै त्यसैलाई जीवनसाथी मान्नुपर्ने हो ????
भो मलाई न नै तिहार चाहियो
न नै ती हारहरू……
न नै ती हारहरू….
न नै ती हारहरू