झलक्क देखेको मात्र हुँ
तर देखिनँ
छोप्न खोजेको हुँ
तर सकिनँ
खोजेको पनि हुँ
यी आँखामा तस्बिर बनाएर सजाउन
तर लाचार भएँ
जतिखेर देखेँ ध्यानमा मग्न भएँ
तिमीलाई हेर्ने साधनामा
प्रेमको निर्वाणको ढोकासम्म पुगेँ
को हौ तिमी ?
चिनेको छैन
कहाँकी हौ ?
जानेको छैन
ठेगाना ?
यो पनि खोजेको छैन
तर
सपनामा मलाई जिस्क्याउने गर्छौ
र जगाउने पनि
शायद
मेरो निद्रा खाएर तिमी तृप्त हुन्छौ

मलाई तिम्रो मुस्कान मन पर्छ
हैन
मन पर्छ
गुलाबी रङ हराएको सुकिलो तिम्रो ओठ
चाहन्छु ती ओठमा साधना गर्न
चाहन्छु आफैँलाई खोज्न

मन पर्छ
सर्लक्क परेको तिम्रो घाँटी
लाग्छ मेरो भविष्य
त्यो भर्याङमा रमाइरहेको छ
यो पनि मन पर्छ
छाती तिम्रो
चोखो घिउमा तारेर मगमगाइरहेको
फुलेको पुरीजस्तो
लाग्छ
त्यो आकारमा मेरो शिर राखेर निदाउन पाऊँ
पेट तिम्रो त्यो
न दुब्लो न पातलो
जहाँ मेरा हातका औँलाहरू नाच्दा
तिमीभित्रका चाहनाले गीत गाउन थाल्छ

वास्तवमै थाहा छैन
नाम के हो तिम्रो ?
थर ?
कुन जातकी हौ ?
अनि कुल ?
मलाई फरक पनि पर्दैन नजान्नुमा
बरु जान्नुमा दुःख लाग्ने थियो
कहिलेकाहीँ मूर्ख हुनुमा धेरै फाइदा छ
मन छ मलाई
पाखुरा तिम्रा निचोड्न
तिम्रो ओठबाट गुन्जिने प्यासिला स्वरहरूमा
आफूलाई नचाउन मन छ
निभ्न लागेको दियो झैँ
चिम्लिन नसकेका तिम्रा आँखाहरू
हेर्दै मुस्कुराउने मन छ
पैँताला तिम्रा मन पर्छ
जसले मेरो यात्राको अन्तिम घडीको निधो गर्छ
मन पर्छ पिठिउँ पनि
त्यो फराकिलो मैदानमा हाम्रा कल्पनाका विरुवाहरू रोप्न सकौँ
पुक्क परेको तिम्रो नितम्ब समाइरहुँ
लाग्छ…
स्वर्गमा फलेको कुनै फल मेरो हात लागेजस्तो
नरिसाउनु तिमी !
तिम्रो बयानमा अश्लिलताले ठाउँ लियो
कुनै नियम हुँदैन प्रेमको
विधान पनि
हुन्छ भने यदि
त्यसलाई तोड्न
चाहनाको हतियार र
इच्छाको कवच मात्र चाहिन्छ
हे निद्रा देवी !
तिम्रो आगमनले मेरो स्वास्थ्यमा घाटा हुनसक्छ
तिम्रो अनुगमन भएर
वर्तमानको मेरो त्यो पल
हत्या गर्ने दुश्साहस छैन मसँग
कस्ले देवीको दर्जा दियो तिमीलाई ?
अनभिज्ञ छु
कस्ले अभिश्राप दियो
सुतेको समयमा मात्र आउन
खैर
प्रेम गर्छु तिमीलाई
अथाह प्रेम
तिमी नहुनुमा मलाई त्यति नै दुःख लाग्छ
जति तिमी हुनुमा
म दुविधामा छु
तिम्रो अनुसरण गरौँ या
आफ्नो वर्तमानको हत्या
थाहा छैन
साँच्चै थाहा छैन
अहिले कहाँ छौ तिमी ?
तिम्रो निम्ति लेखिएको मेरो यो चिट्ठी
पक्का पुग्दैन
थाहा छ
तर
तिम्रो नामको केही कुरा कोर्न पाउनु
म सुखी छु
वास्तवमै सुखी छु
हो झुटो बोल्दैछु
म सुखी छु ।

बर्मा