उसले दिएको फूल मैले सजाएर राखेको छु आज । ठ्याक्कै ऐनाअगाडि जहाँ म सधैं शृङ्गार गर्ने गर्छु । म अनन्य विषय बिर्सन सकुँली तर आफ्नो अनुहार हेर्न कसरी बिर्सुंली र..?

आफ्नो यो अनुहार हेर्ने बित्तिकै त्यो प्लास्टिकको फूलले मलाई ऐना सँगसँगै हेरिरहेको हुन्छ । यसो भनौं कि उसले मलाई हेरिरहेको हुन्छ । ऐनाले केही नबोल्ला तर त्यो फूल मसँग केही कुरा गरिरहेको हुन्छ । मेरो सुन्दरताको व्याख्या गरिरहेको हुन्छ । लाग्छ मेरो लालीमा ऊ रङ्गिंदै छ । मेरो गाजलमा डुब्दैछ । मेरो कपालको जगल्टामा ऊ अल्झिंदै छ ।

तर यहाँ त्यो दृष्य हेर्ने हामी दुई मात्र छौं । त्यो भाषा अरू कसैले बुझ्न सक्दैनन् हामी दुई बाहेक । किनकि हामी बीचको सम्बन्ध अनौठो छ ।

फेसबूकमा भेटेको उसलाई पहिलो चोटि बाहिर देखें । मैले सम्बोधन गर्दै उसको नजीक जाँदा उसले अपरिचित भएको कुरा खुलेर बतायो । मलाई किन हो किन दुःख लागेन त्यस विषयमा ।

मैले आफ्नो परिचय निडर भएर दिएँ । उसले स्वीकार गर्‍यो । स्वतः उसले पनि उसको परिचय दियो ।

भनें, “म हजुरलाई चिन्छु ।”

उसले सामान्य भावभङ्गीमा भन्यो, “शायद म पनि चिनुँला हजुरलाई थोरै दिनपछि ।” उसको जवाफमा एउटा काव्य लुकेको महसूस भयो । लाग्छ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ र बिपी कोइरालाको ‘सुम्निमा’ बसेको छ । धत् म पनि कस्तो बिछोड भएका प्रेम–कथाहरूसँग पो दाँजेछु ।

तर म अत्यन्त खुशी छु । कम्तीमा उसलाई आफ्नो परिचय दिन पाएँ । मैले मेरै ओठबाट मेरो नाम सुनाउन पाएँ । परिचय यस्तो होस् – जस्तोसुकै परिचय पनि कसैको माध्यम भन्दा आफ्नै मौलिकताबाट दिन पाऊँ । यो मेरो मान्यता हो । हामी बीच कुनै संवाद भएको थिएन । संवाद त परैको कुरा हेलो हाइ सम्म पनि थिएन । म स्त्री भएको अहममा पहिलो म्यासेज पठाउने साहस गरिनँ भने उहाँले किन गर्नुभएन त्यो भगवान् जाने । तर मैले लेखिरहने कवितामा उसको प्रतिक्रिया कहिलेकाहीं झुकेर आउँथ्यो । तर मैले भने उसलाई कुनै केही प्रतिक्रिया कहिल्यै दिएको थिइनँ । ऊ गहिरो चोटमा छ भन्ने आभास दिलाउँथ्यो कि फेसबूकमा पोस्टिएका उसका वियोगान्त वाक्यहरूले ।

तर विरक्तका गाथा रुचाउन मन टुट्नैपर्छ जस्तो लाग्दैन । त्यसैले मैले कहिल्यै प्रेम नगरे पनि प्रेमका कविता र गीत रुचाउँछु । प्रेम नै नगरेको मुटुलाई अप्रकृत संगीतप्रति लगाव हुनु प्राकृतिक मनोविज्ञान सम्झूँ या कलिलो मुटु । ख्वै खोजेको पनि थिइनँ । आज आफैप्रति यस्तो विघ्न समीक्षा कसरी गरिरहेछु किन गरिरहेछु, अनौठो मन है । मन अनौठो हुन्छ कि भावुकता ? यस्ता जटिल प्रश्नहरूमा आफैलाई अल्झाउन मन छैन । ऊसँग भेट्नु एउटा संयोग थियो । के कारणले हामीलाई भेट गराइदियो यो लगनमाथि मेरो गुनासो त छैन तर अभिव्यक्ति भने पक्कै पनि छ ।

ऐना हेरेर मुस्कुराएँ । प्रत्युत्तरमा त्यो प्लास्टिकको फूलले पनि मीठो मुस्कान दिए जस्तो महसूस भयो । मलाई यति भए पुग्छ ।

आजकल विना कारण स्कूलबाट घर र घरबाट स्कूलमा नै रहने गरेकी छु । त्यो फूलसँग बोल्ने गर्छु । र सुनाउने गर्छु – जग्जीत सिंह र गुल्जार साहेबका गजलका शेरहरू ।

“तुम इतना क्यूँ मुस्कुरा रहेहो…

क्या गम हेँ जिसको छुपा रहे हो… ।”

यो गीत मैले हैन प्लास्टिकको

फूलले मलाई सोधेको अभिनयमा गरेको प्रश्नको धुन थियो जसलाई म बाहेक अरू कसैले सुन्न सक्ने थिएन । म भने उसलाई पानी छर्किदिन्छु । धूलो र मैलो नहोस् भनी दिनरात सफा गर्ने गर्छु । मैले बिर्सेकी छु त्यो मात्र प्लास्टिक थियो ।

जुन फूलमा सुगन्ध थिएन त्यो फूलप्रति मेरो प्रेम किन यत्तिको बढेको छ ? जुन फूलको रङले प्रकृतिलाई झुक्काएको छ त्यो फूलप्रति मेरो यत्तिको श्रद्धा किन गाडिएको छ ? जुन फूल कहिल्यै सुक्दैन त्यो फूलप्रति मेरो मन किन यत्तिको झुकिरहेको छ ? मलाई ज्ञात छैन । तर त्यो फूललाई असाध्यै प्रेम गर्छु त्यसैले म देउताको स्थानमा पनि राखिनँ मेरो ऐनाको अगाडि राखेकी छु । जसलाई हेरेर मेरो दिनको शुरूवात होस् जसलाई हेरेरै मेरो दिनको अन्तिम पनि । उसले दिएको हरेक बखानमा म मग्न हुन्छु । उसको मौनता मेरोलाई महाकाव्य नै बनेर रह्यो । उसको मौनता मेरो लागि सदाबहार गीत बनेर गुन्जिरह्यो । उसको मौनता कालजयी चलचित्र बनेर आँखामा नाचिरह्यो । त्यसैले मलाई त्यो फूलप्रति कुनै गुनासो छैन ।

कहिलेकाहीं त्यो प्लास्टिकको फूललाई लिएर झ्यालमा बस्ने गर्छु । अझ भित्री कुरा गर्ने गर्छु । घाम नलागी सिमसिमे झरीको दिन पर्‍यो भने ऊसँग अझ लामो दिन बिताउने गर्छु । उसको जन्म अप्राकृतिक ढंगले भए पनि म उसलाई प्राकृतिक प्रेम गर्छु भन्ने कुरा सुनाइरहन्छु ।

उसलाई बाहिरी संसारको केही व्यथाहरू सुनाउने गर्छु । नफक्रिंदै झरेका फूलहरूको कथा सुनाउँछु । अनि तातो पिउनको लागि पकाए पनि छेउमा राखेर चिसो हुँदा बल्ल प्युनुको रहस्य भनौं कारण पनि सुनाउँछु ।

मेरो बिदाको दिन यस्तै यस्तै बितेको छ आजकाल । बिनाकारण उपन्यासहरू सुनाउने गर्छु, कविता सुनाउने गर्छु, मेरो वाचन सरल नभए पनि सुन है भन्दै बीचबीचमा बोल्ने गर्छु । हावाको झोकले हो कि आँखाले दिएको मीठो धोका, उसले शिर निहुराएर हुन्छ गरे जस्तो देख्छु । जे सुकै होस् उसको त्यो कारण मलाई मन पर्छ । माया लाग्छ । गीतामा कृष्णले भनेका छन् तिमी प्रेम गर… मात्र प्रेम गर… । म त्यो प्लास्टिकको फूललाई औधी प्रेम गर्छु ।

त्यो दिन शनिवार थियो । पढ्ने पुस्तक नयाँ केही मिल्छ कि भन्ने आशामा पसल पुगेको थिएँ । ऊसँग पनि त्यहीं भेट भयो । दोस्रो पटक । उसको हातमा पुस्तक र प्लास्टिकको फूल थियो । मैले यस पटक पनि आफै गएर परिचय दिएँ । उसले यस पटक मन्द मुस्कानमा भन्यो, “मैले तिमीलाई चिनेको छु नि…”

सोधें, “सर ! नयाँ कुन पुस्तक सिफारिस गर्नुहुन्छ नि ? म पनि पुस्तक किन्न आएकी हुँ ।”

“अरूको सिफारिसमा नजाऊ,” भन्छ ऊ, “आफूले सिफारिस दिने प्रयास गर…।”

“तर सर म त्यत्रो योग्य त भएकी छैन नि है…।”

“योग्यताको सीमा आफै नतोक न… लिएर जाऊ कुनै पनि पुस्तक मलाई मन नपर्ने पुस्तक तिम्रो निम्ति परम प्रिय पनि त हुनसक्छ । हैन र…?”

“तर सविनय अनुरोध गर्छु म हजुरलाई, एउटा पढ्ने विषय चाहिं दिनुस् न ।”

मेरो अठोट देखेर उसले हातको प्लास्टिकको फूल दिएर भन्यो, “लौ यसलाई पढ…।”

त्यसदिनबाट म पुस्तकलाई अझ बढी प्रेम गर्ने गरेकी छु । पुस्तकलाई मित्र बनाउने गरेकी छु । कुमारी छु तर पुस्तकको संसर्गमा हराएकी छु । पुस्तक निर्जीव छ तर ऊबाट सर्वस्व प्राप्त भएको भान गर्छु । त्यसदिन, जस दिन मैले आफूलाई पुस्तकहरूमा पाउन थालें, त्यस दिनदेखि मैले त्यो प्लास्टिकको फूलमा आफूलाई खोज्ने प्रयास गरिरहेकी छु । म अनभिज्ञ छु यो मेरो पागलपन त हैन । पागल भने पनि म स्वीकार गर्न तयार छु । त्यसैले ऐनाअगाडि मलाई हेरिरहने प्लास्टिकको फूलको सामु नग्न भएर बस्छु । उसले मलाई कुन भाषाको दृष्टिले हेर्छ म त्यसको व्याख्या गर्न आतुरमा हुन्छु । आफ्नो नारीत्वको प्रदर्शन गर्छु ऊ कुन धुनको गीतले मलाई नचाउन खोज्छ म बयान गर्न आतुरमा छु ।

मेरो कृत्रिम सुन्दरता र नैसर्गिक सुन्दरताको तुलना उसको तराजुमा छोडिदिन्छु र म परिणामको आतुरमा छु । तर ऊ स्थिर भएर टोलाइरहन्छ मात्र । उत्तर दिन नचाहेर हो कि उत्तर नभएर हो उसलाई पढ्ने आतुरमा छु । तिमी मलाई पढ्ने प्रयास नगर प्रिय, म तिमीलाई पढेर मेरो बारे वृत्तान्त सुनाउनेछु । तिमी मलाई नखोज प्रिय, म आफैलाई खोज्दै तिमीसामु हाजिर हुनेछु । तिमी मेरो बारे केही लेख्ने प्रयास नगर प्रिय, मेरो पठनयात्रामा तिमीलाई पाउनेछु । हेर त झरीले हामीलाई केही भन्दै छ आऊ प्रकृतिसँग कुरौं …