अकास्मात
एउटा तारा
छातीमा झरेको थियो

ताराको आगमनमा
केही मागे पुग्छ भन्ने
किंवन्दतीहरू त थिए
म माग्न सकिनँ

बरू त्यही तारालाई
छातीमा टाँसेर राखेँ
मुटुमा अल्झाएर राखेँ
पछि हुने सम्झनाको पोकोमा
बिम्ब बनाएर राखेँ

थाहा छ यो भ्रम हो
तर कहिलेकाहीँ
भ्रममा रमाउनुको मजा
अलग्गै छ म बुझाउन थाल्दिनँ

एकदिन ताराले आकाशलाई र
जूनले तारालाई सम्झेको दिन
म त निहत्था रहन्छु यो धर्तीमा

त्यसैले चम्किनु पर्दो रहेछ
आकाशमा रहुन्जेल
सबैको लगन र जवानी
सीमितको मात्र कुरा हो
त्यो ज्ञात भयो मलाई

पछुतोमा पनि
रमाउने बानीले
बाँच्न सिकाउँदो रहेछ
सिकाउँदो रहेछ ।