(१)
जवानीको डकार लिएर खासेको हो
गुनासो छैन इच्छाले उमेर मासेको हो

कुखुरा बासेर घाम झुल्केको हैन आमा
घाम झुल्किन लागेरै कुखुरा बासेको हो

नजिकको दुश्मनले परिचय लुकाउँछ
बाँसको बिटो बाँध्न बाँस तासेको हो

बादलले छेकेर घाम नै त हराउँदैन
नसोच हाँस्दैमा मनबाटै हाँसेको हो

मित्रहरूले पनि चरित्र फेरिरहँदाखेरि
आज अभावसँग नै मित्रता गाँसेको हो

(२)
धेरैले भने नलेख गजलमा हात चल्दैन
आरे हो कस्ले भन्छ आगोमा आगो बल्दैन

आफ्नै आँखाले आफूलाई दिन्छ धोका
कस्ले भन्छ साँचो प्रेमले कहिल्यै छल्दैन

भगवानलाई त निर्वाणले मोहित बनायो
म त मान्छे हुँ नयाँ कुरामा मन ढल्दैन ?

आँखा हो यस्को भाषा बुझ्न साह्रै गाह्रो
हाँस्दा झर्छ आँसु रूँदाखेरि किन फल्दैन

मन यस्तो मजदूरी हे विचार र विवेकको
नसोच्नु पर्ने कुरा सोचेर पनि कहिल्यै गल्दैन

(३)
छोरो जवान भयो गर्व छ आमालाई
पढ्न विदेश गयो गर्व छ आमालाई

के ल्याइदेला र परदेशबाट आउँदा
मेरो आशीष ल यो गर्व छ आमालाई

सम्झिन नि फुर्सद हुन छोड्यो आजकल
याद त पक्कै गर्छ यो गर्व छ आमालाई

बिहे गर्यो उतैतिर घरबार बस्यो भन्छन्
सत्य कुरा हैन यो गर्व छ आमालाई

यी हातले हुर्काएको मायाले फुर्काएको
फर्किआउला घर यो गर्व छ आमालाई

(४)
न त वार भैदियो यार न त पार भैदियो
यस्तो त एकचोटी हैन बारबार भैदियो

थोरै वासना त छ झैं लाग्छ मलाई अझै
शवमा लडेको फूलको आकार भैदियो

मन्दिरमा रहुन्जेल दूबो भनी पुकारे
दुई दिनपछि उही पुरानै झार भैदियो

बुझ्नै सकेन यो मनको मस्तिष्कले किन
किन मेरो प्रयास उस्को उपहार भैदियो

साधारण छोरो जन्माएकी आमाले
बूढेस कालमा ऊ त कलाकार भैदियो

(५)
डरैडरमा उमेर बित्यो थाहा भएन
चिन्ताले नै सधैँ थिच्यो थाहा भएन

आज राम्रो गरे भोलि राम्रो हुन्छ भन्थे
कविताले जवान निल्यो थाहा भएन

पूजा आर्जन व्रत हवन सबै गरिसके पनि
सिङ्गो दराज नाङ्गो बन्यो थाहा भएन

आशको माला जप्दै बसेँ दिन अनि रातमा
निराशाको फलले छोप्यो थाहा भएन

हिँड्दा हिँड्दै गलिसके सपनाका पाउहरू
सास रह्यो अरू कता रोक्यो थाहा भएन

म्यान्मार