आकाश र बादलबीच
एउटा सम्झौता थियो
चन्द्रमा लुकाउने

बादल र वायुबीच
एक सम्झौता थियो
सहयात्री बन्ने

वायु र बाफबीच
अर्को सम्झौता रह्यो
राहत आदान–प्रदान गर्ने

वाफ र समुद्रबीच
अन्तिम सम्झौता बन्यो
सम्बन्ध गाँस्ने

समुद्रले घाम र आकाशसँग
सम्झौता गरेको पनि थियो
वासस्थान आदान–प्रदान गर्ने

सम्झौता
सम्झौता
सम्झौता
सम्झौताको संसारमा
लट्पटिएर आफैँसँग
अनौठो सम्झौता गरिरहेको छ बादल

आफू आफैँमा हराएर
आफ्नो अस्तित्व जोगाइराख्ने

त्यसैले म
कहिले स्वच्छ बादल त
कहिले कालो बादल देख्छु

कहिले संगठित बादल देख्छु
कहिले राजनीतिमा मुछिएको
धमिलो बादल देख्छु

म त लेखक बन्न भौँतारिएको मान्छे
जे देख्छु त्यहीँ लेख्छु

बादल सम्झौता फेर्न
धर्ती आउँदा
वर्षा भनेर लेख्छु

वाफ बनेर आकाशमा उड्दा
तुसारो, कुहिरो अनि के के हो के के
अनेकौँ नामले लेख्छु

जब पानी पिउँछु
मनलाई आनन्द मिल्छ
आफ्नै कविताबाट

लाग्छ पानीको प्रत्येक बुँदका
प्रतिनिधिहरूले
आ–आफ्नो भूमिका निर्वाह गरिरहेका छन्

बुँद भित्रको कथा र यात्राबारे
महाकाव्य लेख्ने दुस्साहसमा छु
त्यही बखत
वर्षा बनेर मेरो मनसँग
सम्झौता गरेर गयो

हामीबीचको
परिस्थिति आदान प्रदान गरेर गयो

थाहा छैन
उसले मेरो कथा बुझ्यो या बुझेन
लेख्न खोज्यो या खोजेन
म त स्वीकार गर्छु
मैले अरूको वेदना बुझ्ने
कलमसँग सम्झौता गरेको छु

कलमले कोसँग सम्झौता गरेको छ ?

म्यान्मार