रातको कामबाट फर्केर घर पुगेपछि ओछ्यानमा बसेर थकान मारेँ । निदाइरहेकी श्रीमती र नादान छोरीको अनुहार देखेर थकानले पनि यो मनको साथ छोड्यो । छोरीको ओठलाई हेर्छु, आँखालाई हेर्छु, ती हातहरुलाई हेर्छु । केही त देख्छु तर केही थिएन त्यहाँ ।

तिलक पोखरेल (म्यान्मार)

मैले के देखेर एकोहोरो घुरिरहेँ थाहा भएन । जब होसमा आएँ मात्र मुस्कुराएँ । थकानबाट झट्टै निदाउन खोज्नु पनि असजिलो कार्य रहेछ । निद्रा जति नै प्यारो भए पनि बाध्यताको सामु प्राथमिकतामा बन्दाे रहेनछ । कतिपय कुराहरुलाई प्राथमिकताबाट हटाएको छ बाध्यताले । म छक्क पर्छु ।

केहीबेर पछि ओछ्यानमा पल्टिएँ । झप्प निदाएछु ।

“बाबा उठ न ! बाबा !” भन्ने मिठो आवाजले निद्रालाई फेरि लखेट्यो । छोरीले मेरो कपाल समातेर उठाउने प्रयास गर्दै थिई ।

मैले भनेँ, “बाबालाई सुत्न देऊ न यार छोरी ।”

उसले भनी, “बाबा ! काममा जान्छौ हैन ? छोरी स्कुल जान पर्छ हैन ?”

२ वर्षकी छोरीले त्यसो भन्दा मनमा विचारको भुमरी घुस्यो । उसले  सोच्दी होली, “उसलाई स्कुल पठाए मात्र बाबा आमाले काम गर्लान्, बाबा आमा काम गरे मात्र  स्कुल जान पाउँला ?”

श्रीमतीले काटेको मेवाका टुक्राहरुले टेबुलमा स्थान ग्रहण गरिसकेका थिए । मैले छोरीलाई नुहाइदिन भनेर बाथ्रुममा पानी तयार पार्दै मात्र थिएँ ऊ वस्त्रहीन भएर नजिकमा आई । “बाबा पनि खोल्छौ ?” भन्दै सोधी ।

म मुस्कुराएँ मात्र ।

उसलाई पानी धेरै मन पर्छ । पानीसँग उसको सम्बन्ध के छ मलाई थाहा छैन । ऊ पानीमा रमाउँछे, पानीमा दिल खोलेर हाँस्छे । पानीमा नाच्छे । पानीमा गाउँछे बे बी स्याक टु टु टु टु टु… । पानीमा बस्नै लागेकी उसलाई भने खुट्टा पैला खुट्टा पैला… । उसले पानी खनाई गोडाबाट… र उसले मलाई पनि भनी, “बाबा पनि खुट्टा हाल…।”

मैले सम्झेँ खुट्टा मात्र हाल्न लगाएकी हो…। तर उसले बटुकाले मेरो खुट्टा पखालिदिन थाली ।

म शास्त्रबाट डराएँ र परिस्थितिबाट रमाएँ । म के गरूँ ।

छोरीको गोडा धुनपर्छ एकदिन बाउले, थाहा छ मलाई । तर उसले आज मेरो गोडा धुदैँछे …। म दोधारमा छु । यस्तो परिवेश सबैको घर आँगनमा हुँदो त होला । सबै पण्डितहरुको धारामा हुँदो त होला । सबै पुर्खाहरुले पचाएकै त होला । इतिहासले लुकाएकै त होला । तर मेरो हर्ष र विस्मातले लुक्न दिएन मलाई । मैले २ वर्षकी छोरीको शिर मायाले सुमसुम्याएँ ।

ऊ मलाई हेरेर भनी, “बाबा के भयो ?”

के भयो भनेर कसरी भनूँ ?

यो विश्वलाई यो रीतिले बाँधेको छ, म एक्लोलाई भएर कहाँ पुग्छ र ? यो धर्मले अघाएको छैन छोरीहरुको इच्छाविरुद्ध गर्न , म कसरी भयो भनूँ र ? यो समाजले स्वीकार गरेको छैन, म एक्लोको आवाज कहाँ पुकारूँला र ? छोरीलाई पराया धन भन्छन् मलाई त लाग्दैन । छोरी न नै मेरो धन हो न नै परायाको ।

छोरी कुनै धन हैन जसलाई हामी गन्न सकौँ, ऊ कुनै सुन हैन जसलाई हामी तौलिन सकौँ, ऊ कुनै वस्तु हैन जसलाई हामी तेरो र मेरोमा बाँट्न सकौँ । ऊ त फूल हो । तिमी शिरमा सजाऊ गीत बन्छ, मन्दिरमा सजाऊ भजन बन्छ, टेबुलमा सजाऊ श्रृंगार बन्छ र चितामा सजाऊ…।

हामी कहिलेकाहीँ भन्ने गछौँं, सन्तानको आगमन पछि हामी उनीहरुको सपनाको पछिपछि दौडन्छौँ रे के आवश्यक छ ? हामी केही क्षणको साहारा मात्र न हो ? पखेटा लागेपछि चरालाई घरको याद हुन कुनै विधानले छेकेको छ र ? हामीले दिनु भनेको त मात्र सँस्कार हो, सपना त उसैको हुन्छ । हामीले बनिदिनु भनेको त केही क्षणको वैशाखी मात्र हो कल्पना त उसैको हुन्छ । हामी भरिदिनु भनेको त उसको आत्मविश्वस मात्र हो स्वीकार गर्ने—नगर्ने निधो त उसैको हुन्छ ।

म छोरीलाई देखेर आफ्नो जिन्दगी बिर्सेको छैन त उसले मेरो बुढेसकालमा कसरी बिर्सन्छे आफूलाई, म यो कुरा पनि स्वीकार गर्दिनँ ।

हुर्काएँ, पढाएँ, गुन लगाएँ, यो त प्रकृतिको नियम न हो । मलाई मेरी आमाले पढाउनु भो, मैले छोरीलाई पढाउँछु । आमाले हुर्काउनु भो, मैले छोरीलाई हुर्काउँछु । आमाले यो हो-यो हैन भन्नु भो, म छोरीलाई भन्छु । एउटा विनिमय क्षण न हो जिन्दगी, एउटा रुखको अन्तमा एउटा विरुवाले जन्म लिइसक्छ । पात लाग्न थाल्दा फूल आउन तयार भै रहन्छ । फूल आउँदा पुतलीलाई कस्ले पो निमन्त्रण दिन्छ र ख्वै ?

म मेरी बिधुवी आमाको गुन त भुल्दिनँ वास्तवमा…। आमा बिधुवीसँग सँगै विदुषी पनि थिइन् । यो कथा अर्को अध्यायमा लेखौँला ।

छोरीले पहिलो तीन चार दिन नासरी जाँदा रुन्चे मुख त लगाएकी नै हो । म दुखी पनि थिएँ र आफुनो बचपन देख्न पाउँदा छोरीलाई धन्यवाद पनि दिएँ । पछि उसलाई ज्ञात भो की कसो ऊ आफै तम्सिन्छे, “बाबा ! छोरी स्कुल जान्छु बाबा काममा जाऊ ल ।”

रात्रीको काम, छोरीको साथमा नभएपनि गाँसको लागि काम गर्नु पर्ने नै हुन्छ । ऊ स्वावलम्बी नबनुन्जेल हामी उसको साथी बन्नु छ । उसको जिन्दगी उसैलाई बाँच्न दिनु पर्छ । फोनमा गाना खोलिदिएँ पनि ऊ कार्टुनमा पुग्छे, भजन खोलिदिएँ पनि कार्टुनमा पुग्छे, जसरी फकाएर अन्त लैजाँदा पनि ऊ कार्टुन मै पुग्छे । उसलाई अहिलेदेखि उसको गन्तव्यमा कसरी स्थिर रहन पर्छ भन्ने कुरा थाहा भइसकेको छ । म को हुँ उसलाई सिकाउने ? उसलाई थाहा भइसकेको छ उसको मनले के रोज्छ र केमा रमाउँछ । म को हुँ उसको मनलाई टुटाउने ? भो म कुरा लामो पोख्न थाल्दिनँ छोरीको स्कुल ढिलो हुन्छ कि मेरो काम, मलाई थाहा छैन ।

उसले भनी, “बाबा झोला बोक ।”

म आज्ञाकारी पिताझैं छाेरीको झोला बोकेँ । म झुटो बोल्दिनँ । उसकाे झोलामा उसका सपना र रहर मात्र थिए । मेरो कुनै सपना र अपरिचित इच्छाहरु थिएनन् । उसको झोलामा उसको दिवा खाजा मात्र थियो । मेरा अधूरा कल्पनाहरुको कुनै ठाउँ थिएन । उसको झोलामा उसैका भविष्य बन्ने कापीहरु थिए । म त मात्र त्यो कापीको कुनै पानामा उसको निम्ति एउटा कविता कोर्ने प्रयासमा मात्र छु । यदि उनी कविताको प्रेमी भइन् भने मात्र…