प्रेम

 

सीमाहीन जलनको यात्रामा

सल्किरहेको एक अथाह ज्वाला

 

भस्म भएर

खरानीको रूपमा

आकाशमा हराउँदै भन्यो

म तिमीलाई प्रेम गर्छु

 

धर्तीले सुनेन

आकाशले सुनेन

 

यी दुई बीचको

अन्तरालमा फूल फुल्यो

र बिलायो…

‍० ० ० ०

 

सर्वनाम

 

कसैले भन्यो

कविता के हो

म तिमीलाई सम्झेँ

 

कसैले सोध्यो

भावना के हो

म तिमीलाई सम्झेँ

 

कसैले सोध्यो

सुख के हो

म तिमीलाई नै सम्झेँ

 

कसैले सोध्यो

जिन्दगी के हो

म तिमीलाई नै सम्झेँ

 

म तिम्रो लागि को हुँ ?

कसैले सोध्यो

मसँग जवाफ थिएन

तिमी मेरो लागि को हौ ?

मैले सास फेर्न एकछिन रोकेर

तिम्रो नाम त लिएँ

तर उनीहरूलाई सुनाइन र

मैले मात्र भनेँ तिमी मेरो जिन्दगीको सर्वनाम हौ ।

० ० ० ०

 

ध्वनि

 

ॐ मा जादु छ रे

मैले बुझ्ने प्रयास गरेँ

हो रहेछ …

शरीरको अन्तरात्मा छुने रहेछ..

 

एकदिन तिमीसँग सम्भोग गरेँ

तिम्रो ओठको भावपूर्ण

अर्थ पूर्ण त्यो ध्वनिले

मेरो मनलाई झन् लुटेर गयो ।