गालाबाट आँसुको नदी कतिखेर बगेको हो, अत्तोपत्तो छैन। देब्रेपट्टिको गाला भिजेको चाल पाएँ आँखा मिचेको समय यी हातले पनि नचिनेको अनुभूति गऱ्यो । निद्रा नपुगेरै होला भनेर त्यस्तो चासो राखिनँ।

झ्यालबाट खटियासम्म आइपुगेको घामलाई मुस्कुराएर दिनको सुरूवात गरेँ। उसलाई पनि बादलले छेकिदियो । उसले मेरो सम्बोधन नस्वीकारेको हो या देखेन। निरासले सुरू भएको यो दिन कसरी उज्यालो होला… , र पनि मान्छे आसमा बाँच्ने जात न हो ।

तिलक पोखरेल

शौचालय मान्छेको पहिलो आनन्द स्थल हो ।जसले मान्छेको घृणामा सहानुभूति हुँदै त्यहीँ मान्छेलाई आनन्दको उपहार दिन्छ । बिहान उठ्नेबित्तिकै र सुत्नुअघि शौचालयको दर्शन नगरी दिनको सुरूवात र स्थगित हुन सम्भव छैन । म पनि तीमध्येको एक हुँ ।

आलस्यले भरिएका यी भारी एकहल आँखा बोकेर जान्छु । मोबाइललाई कोट्याउँदै आफ्नो मन भुलाउँदै बस्छु । केही मिनेटपछि बाथरूमको काम सिद्धिएर मुख धुन ऐनामा जान्छु ।

ऐना….

मान्छेले सिर्जना गरेको विषयहरूमध्ये मलाई ऐना एकदम मन पर्छ । ऐना सत्यको उपनाम हो । पर्याय हो । जसले कहिले झुटो देखाउँदैन, अनि हेर्दैन पनि । सत्य लुकाउँदैन अनि असत्यलाई साथ दिँदैन पनि । श्रृंगारबाट मुक्त भएको अनुहारहरू हामी कम मात्राले देख्छौं । बाहिरी मेकप र पोतेकोअनुहारलाई यथार्थ सम्झेर पचाइरहेका छौँ ।

तर ऐना… उसले सक्कलबाट नक्कल नहुन्जेल र नक्कलबाट सक्कल नहुन्जेलसम्मको सबै जानकारी लिएको हुन्छ । मानौँ ऐना देवता नै हो । जसले देख्छ, सुन्छ र बोल्दैन ।

हो…. ऐना देवता नै हो ।म ऐना हेरेर रूने गर्छु, ऊ मौन, म ऐना हेरेर हाँस्ने गर्छु, ऊ मौन, म ऐना हेरेर रिस पोख्ने गर्छु, ऊ मौन, कहिलेकाहीँ आवेशमा आएर त्यो ऐना फुटालिदिन्छु ऊ चकनाचुर हुन्छ तर पनि मौन ।

ऐनामा आफ्नो अनुहार हेर्छु, आँसुका धाराले रेखा कोरेको छ । लक्ष्मणरेखा जस्तो ।ऊ गालाको फेदसम्म बग्न नसकी थाकेर त्यहीँ सहिद भएको होला। हैन भने सिरानीले उसको व्यथा पुछिदियो होला। कुनै कुराको किटेरै भन्न नसके पनि एउटा कुरा पक्का छ । आँसुले मेरो मुटु छोडेको पक्का हो ।

गाला मसारेर हेर्छु, अहँ केही प्रमाण छोडेको छैन, त्यसो भए यो आँसुले मुटुबाट प्रस्थान किन गऱ्यो त ?

प्रश्नै प्रश्नले मुछिएको यो गाला हेरेर म झन् भन्दा झन् निरीह हुँदै जान्छु । भो….. म साबुन लगाएर मुख पखालि दिएँ… दाग हरायो, मान्छेको अस्तुखोलामा बग्दै हराएको जस्तो तर यसलाई कुनै सम्झौताको कोठा दिन किन मनमा । दाँत माझ्छु ।

कोठामा छरिएका कविताका पानाहरू दयनीय रूपले मलाई हेरिरहेका छन्, लाग्छ म उनीहरूको भ्रुण हत्या गरेको छु।अधकोल्चो जीवन दिएर उनीहरूको परिचयलाई आकार नदिई राखेको छु ।

शब्द र शब्द बोल्ने भए मेरोबारे के भन्थे होला, वाक्य र वाक्य बाेलो मेरो बारे के भन्थे होला ! मलाई डर लाग्यो, कतै यी आँसुहरू ती कविताको निम्ति त हैन ? ती बलात्कृत कागजका टुकुराहरूको प्रतिनिधि त हैन ?अपांग भएका ती रचनाका वीर्यहरूको निम्ति त हैन ?

झोला खोज्छु हत्तपत्त, स्कुलका सबै कुरा परे कि परेनन् हेर्न पनि भ्याउँदिनँ, आफैँमा व्यस्त छु, निस्सासिएको छु यी अपरिचित आँशुको कारण,  घरबाट बाहिर निस्किसक्दा मात्र वायुमण्डलको स्पर्शले मन शान्त हुन्छ, चलायमन हुन्छ नयाँ जोश र जाँगरहरू, पलाएर आउँछन् नयाँ सिर्जनाका कोपिलाहरू, फूल्दै जान्छन् शब्दका फूलहरू…

यी छोटो आयु बोकेका रहरको कारागारका कैदीहरू भोलि बिहान आँसुले लत्पतिएर गालामा फेरि आफ्नो आत्महत्या गर्नेछन्, अहिलेलाई बिर्सिदिन्छु, साँझ घर पुग्नासाथ सिरानी तल छुरी एउटा राखेर सुत्नु पर्छ, सपना ताजा मिल्छ,  सपना बलात्कृत हुँदैन…