पौवामा फुलिरहेको
चमेलीसँग मेरो आँखा जुध्यो

सोचेँ म यो फूल टिपूँ….

तर सोचाइमा बाधा आयो
लाग्छ, उसलाई यहीँ बतासमा
रमाइरहन दिऊँ
यहीँ, घामको उज्यालोमा
फक्रिन दिऊँ
लाग्छ खुल्ला वातावरणमा
स्वतन्त्रताको घुम्टो सजी
सुन्दर भइरहेको हेरिरहूँ
हात पछि हटे

फेरि सोचाइमा बाधा आयो
मैले नटिपे कसैले त टिपिहाल्छ
यो अधिकार मलाई लिन किन नहुने !

टिप्न खोजेँ…
उसले मुस्कुराएर देखाएजस्तो लाग्यो
मैले नटिपे केहीक्षण त ऊ
आफ्नो जिन्दगी बाँच्ने अवसर त पाउली…!

क्रमशः बाधा आयो सोचाइमा
मैले नै टिपेर उनको केशमा सजाइदिऊँ कि!
तर शङ्काको बादलले घेरेर भन्यो
के उसले तैँलेझैँ माया गर्ली र ?

यहाँ बसे मलाई अप्ठ्यारो हुने भो भन्दै
उसलाई हेरेर मुस्कुराएँ
लाग्छ, उसले पनि मुस्कान फर्काइन्
मैले बिदास्वरूप हात हल्लाएँ
हावाको झोक्काले त हैन, उसको मनैबाट होला
ऊ पनि हल्लिएर बिदा दिएजस्तो

म त्यहाँबाट फर्किएँ

अर्कोदिन बिहान उसलाई नहेरी
दिनको सुरूवात गर्न मनले मानेन
र गएँ, त्यहाँ फूल थिएन
निराश बोट र गमला मात्र

मैले मनबाट सोधेँ गमलालाई
फूल ख्वै त ?
उसले भन्यो
फूल तेरो थियो र ?

म नाजवाफ भएँ र गएँ
तर त्यो फूलको निम्ति ल्याएको प्रेमजल (प्रेमाश्रु)
त्यो गमलालाई छोडिदिएँ…।

म्यान्मा