तिलक पोखरेल

म एक अनभिज्ञ यात्री
बटुवाको रूपमा
मानसिक थैलो बोकेर
अनन्त यात्रामा
चप्पलको साथमा
हिंडेको छु ….
साहसा…….
एउटा द्वार देख्छु
मलाई स्वागत गरेको छ
मात्रा नलागेको नाङ्गा शब्दहरू
भर्खर लहलहाइरहेका
वर्णमालाका बगैँचाहरू
स्वतन्त्र भएका शब्द भित्रका वाक्यहरू
म हेंरें…. टोलाएर हेरें… गहिरिएर हेरें

ती आकारका निरपेक्ष विकारहरू
मुस्कुराएका ती खेतीहरू…..
मानसिक तनावको बीजा छैन
विकृति र आकृति मूल्य छैन
सत्य र असत्यको वयान छैन
ती शब्दका गुच्छाहरू उडेका थिए
त्यहीं बालीनालीमा बगेका छन्
निसङ्कोच….. निर्विघ्न भएर…..

एक थुम्की शब्द टिपेर
मनमा सिउरी हेर्छु
आहा ती शब्दमा मेरा आकांक्षाले राज गरेछ
एक मुठी शब्द मुछेर
मुटुमा पोतिहेर्छु
आहा मेरा वेदनाहरू लोप हुँदोरहेछ…..
एक टुक्रा वाक्य भाँचेर
त्यस्को स्वाद लिइ हेर्छु
जहाँ … अमृत भन्दाको माथि
स्वाद रहेछ ……….

आँखामा लेपिहेर्छु
शितल हुन्छ
पिएर हेर्छु शब्दहरू
अनौठो मातको नशा चढ्छ
सजिएर हेर्छु
सुरक्षित भएको महसुस हुन्छ
नुहाएर हेर्छु
शुद्धताको अनुभूति गर्छ
चपाएर हेर्छु

तृप्तिको अनुभव हुन्छ
निलेर हेर्छु
धड्कनलाई राज गरेको महसुस हुन्छ
शब्दहरूको देशमा
भेद देखिएन
कुनै वर्गको
कुनै लिङ्गको
कुनै जातिको
कुनै धर्मको
कुनै कुराको
त्यस्ले मनमा
सल्बलाएर प्रभुत्व जमाई सकेको रहेछ

शब्दहरूको देशमा
कतै देखिएन
रिसको घुम्टोहरू
ईर्ष्याका पोशाकहरू
अहंका पवनहरू
विरक्तका अध्यायहरू

छन्दका मोहले बाँधिएर
काव्यको रसमा फसाई सकेका
ती शब्दहरूको बहादूरी पनलाई
मेरो मन कैदी रूपमा स्वीकार गरिसक्यो
रमायो त्यो स्वतन्त्र पर्खालभित्र
जहाँ जीवनको देखिएको छ शब्दचित्र

ओहो!!!!!
त्यहाँ रै’छ जिउने
बाँच्नु त त्यहाँ रहेछ
म हिजसम्म कहाँ थिएँ
अझै पनि अनभिज्ञ छु…
एउटा यात्री…
बटुवाको रूपमा
पछुताएको छ
शब्द बाहिरको देशमा ।

म्यान्मार