“भूतनाथ महादेव मन्दिर” ! सुन्दै अचम्म लाग्ने मन्दिर । डरलाग्दो नाम । तर बर्माको राजधानी शहर रंगुनको मुटुमा नै यो मन्दिर छ । अझ यो मन्दिर नेपाली राजदूतावासबाट नजिकै पर्छ । यसको अर्को गौरवको कुरो यो छ कि, यो मन्दिरका मुख्य पुजारी नै गोरखाली मूलका छन्– मोहनराज खनाल । विशेष गरी भारतीयहरूको बाहुल्य भएको साथै उनीहरूकै लगानीमा बनेको मन्दिरमा गोरखाली मूलका पुजारी हुनुमा सबै नेपालीको खुशीको कुरो हो । म उनै मोहनराज खनालज्यूलाई भेट्न गएँ ।
ट्याक्सी ड्राइभरले मलाई मन्दिरको अगाडि नै रोकिदियो । म ट्याक्सीबाट निस्किनासाथ सरासर मन्दिरको सिँढी उक्लेँ र मन्दिरको ठूलो आँगनमा पुगेँ अनि मोहनजीलाई फोन लगाएँ । उहाँ मन्दिरकै निवासमा बस्नुहुन्थ्यो । उहाँको फोन उठ्यो ।
“हलो !”
“मोहनजी ! म नगेन्द्र बोलेको ! म अहिले मन्दिरमा आइपुगेको छु, तपाईं कहाँ हुनुहुन्छ ?”
“म कोठामा छु । बाहिर आइहालेँ । तपाईं उभिंदै गर्नुहोस्,” भन्दै मोहनजी हातमा फोन समाउँदै बाहिर देखा परिहाल्नु भयो ।
हुन त मोहनजीसँग फोनमा धेरै नै कुराकानी भएको थियो । विचार–विमर्श भएका थिए तर भेट भएको थिएन । सेतो धोती, गेरु रङ्गको गन्जी अनि निधारमा रातो टीका, एउटा जल्दाबल्दा युवा पुजारी । उहाँमा जति संस्कृत भाषाको ज्ञान थियो त्यो भन्दा बढी बर्मेली भाषा । त्यस्तै नेपाली भाषा र संस्कृत भाषाका थुप्रै किताबहरू पनि उहाँका निस्केका थिए । उहाँ छन्दोबद्ध कविता पनि लेख्नुहुन्थ्यो । तर उहाँलाई मैले भेट्ने र चिन्हे आधार भनेको चाहिँ उहाँको नेपाली साहित्य नै हो तर म त्यतिबेला साहित्यिक क्रियाकलापभन्दा पृथक् हुन पुगेँ । नौलो देश, नौलो हावापानी, त्यहाँको नौलो स्वरूपमा मेरा आँखाहरू डुल्न पुगे । रंगुनको नौलो बनोटमा रमाउन थालेँ । आज त्यही आँखा डुलाइको गन्तव्य थियो– उहाँको साथ लागेर बर्माको समुद्री किनार अवलोकन गर्ने । बर्माको समुद्री किनारमा आँखा लगाउनुको कारण थियो– त्यही समुद्री किनारबाट थुप्रै जोशिला गोरखाली युवाहरू बर्मा पसेका थिए, नौलो अवसर र चम्किलो भविष्यको त्यो मूलद्वार थियो ।
उहाँसँगको सामान्य छलफलपछि उहाँले मलाई केही फलफूल र मन्दिरको प्रसाद अगाडि राखी दिनुभयो ।
“तपाईं यो फलफूल र प्रसाद खादै गर्नुहोस्, म भित्र गएर लुगा बदलेर आउँछु” भन्दै फेरि भित्र पस्नुभयो ।
मैले मन्दिरको प्रसाद र फलफूल खाइसकेँ तर त्यतिबेलासम्म पनि मोहनजी कोठाबाट बाहिर नआउनु भएकाले म फेरि मन्दिरतिर नै गएँ । शुरुमा मन्दिरको सामान्य परिक्रमा गरे पनि अहिले भित्रसम्म नै पसेँ । वास्तवमा भूतनाथ मन्दिर सुन्नमा मैले जति अद्भूत र डरलाग्दो ठानेको थिएँ, मन्दिरभित्र पसेपछि झन् अद्भूत लाग्यो । डरलाग्दो लाग्यो । विश्वभरका महादेवहरू त्यहीँ थुप्रिएका रहेछन् । विभिन्न आकारका त्रिकालदर्शी शिवजीको भिड नै रहेछ । महाकालेश्वर, तारकनाथ, रामेश्वर, सोमनाथ, केदारनाथ, विश्वनाथ, नागेश्वर, वचश्वकेशर, मलिक अर्जुनजस्ता महादेवहरू पंक्तिबद्ध भएर बसेका रहेछन् । मैले सबै महादेवहरूको दर्शन गरे र बाहिर निस्किएँ । त्यतिबेलासम्म मोहनजी कोठाबाट बाहिर निस्केर मलाई पर्खेर बस्नुभएको थियो । तर उहाँ लुगा बदलेर आउँछु, तपाईं यहाँ बस्दै गर्नुहोस् भनेर गए पनि उहाँको पोशाक खासै बदलिएको थिएन, केवल गेरु रङ्गको गन्जी माथि आस्कोट मात्र थपिएको थियो । बरु मलाई देख्नासाथ उहाँको नजर मेरो दाहिने नाडीमा पुगिहाल्यो ।
“न्यौपाने सर ! तपाईंको रक्षा बन्धनको धागो अलि सानो भएछ । थपौं है ?”
मैले केही उत्तर दिन पाएकै थिइनँ, उहाँले फेरि मलाई मन्दिरतिर लैजानुभयो र हातमा एउटा धागोको डल्लो लिनुभयो अनि मेरो पाखुरामा च्याप्प समातेर श्लोक भट्याउन थाली हाल्नुभयो ।
“येन बद्धु बलि राजा दानविन्द्रो महावल
तेन त्वं वध नामी रक्षेमा चलमा चल ।”
म ट्वाल्ल परेर हेरिरहेँ । केही बोल्नै पाइनँ ।
रक्षा बन्धन मैले नेपालमा हुँदा कहाँ नबाँधेको हुँ र ! वर्षैपिच्छे जनै पूर्णिमाको दिन बाँधेको छु । घरमा हुने विभिन्न पूजा–आजा र धार्मिक समारोहमा पनि लगाएको छु तर नाडीको धागो अलिकति मसिनो देखिनासाथ कहिल्यै थपिनँ । महिनैपिच्छे कहिल्यै बाँधिनँ । तर अहिले मोहनजीले थपिदिएको नाडीको मोटो डोरीलाई सुम्सुम्माउँदै बाहिर निस्किएँ । मलाई अलिकति गौरव पनि लाग्यो ।
“सर ! रोहिन्गा समस्या आएपछि त रक्षा बन्धन अनिवार्य नै भएको छ वर्मामा ।”
उहाँको यो आशयले मलाई सतर्क मात्र गराएन, केही ऊर्जा पनि थप्यो । हुन त यस्ता आशय सोझै कानमा नपरे पनि प्रत्येक गोरखालीको नाडीमा बाँधिएको रक्षा बन्धनले मलाई कौतूहल उब्जाइसकेको थियो, म जिज्ञासु थिएँ । बाह्रैमास नटुटेका पाखुराको धागोमा निकै गहिरो चासो थियो । अझ केही दिन अगाडि मात्र अर्का साहित्यकार खेम कौशिकले आफ्नो घर नजिकको दुर्गा मन्दिरमा लगेर मेरो रक्षा बन्धनको डोरी थपिदिनु भएको थियो । अहिले म निकै होशियार भएँ, मेरो आत्मा दह्रो बन्यो ।
हामीहरू सार्वजनिक बसमा चढ्यौं । बसले लामै फन्को मारेपछि समुद्री किनारमा पुर्यायो । विशाल समुद्र, समुद्र किनारका ठूला–ठूला पानीजहाज । हामीहरू केहीबेर किनारै–किनार हिँडेपछि एउटा पानीजहाजभित्र पस्यौँ । हामीहरु पानीजहाजको यात्रा नभई पानीजहाज भित्रको दृश्य हेर्नको लागि थियो । पानीजहाजको खुलदुली मेटाउनु थियो । मलाई गौरव यस अर्थमा लाग्यो कि, जसरी प्रत्येक बौद्ध भिक्षुलाई बर्मेलीले शिर झुकाएर सत्कार गरेका थिए, त्यस्तै हिन्दु पुजारीलाई पनि सत्कार गरे । मोहनजीको अगाडि निहुरिएर गए । मोहनजीले पाएको सत्कार मैले पनि उपभोग गरेँ । हामीले नसोधे पनि उनीहरूले हामीलाई पानीजहाजको भित्रसम्मको सम्पूर्ण दृश्यहरू देखाइदिए ।
हामीहरू समुद्री किनारको अवलोकनपछि फेरि बसमा चढ्यौँ तर मेरो दिमाग फर्कन सकेन । घरी–घरी मलाई त्यही रक्षा बन्धनको डोरीले तानिरह्यो, निधारको टीकाले सताइरह्यो । अझ केहीबेर अगाडि मोहनजीले रोहिन्गाको समस्यालाई रक्षा बन्धनसँग जोडिदिएका थिए । त्यति मात्र कहाँ हो र ! केही दिन अगाडि अर्का एक जना गोरखाली मित्रको भनाइ मेरो दिमागमा नाच्न थाल्यो– रक्षा बन्धन शान्तिको चिनारी हो । यसलाई मोटो पार्नुपर्छ ।
म बसको सिटमा बसेँ तर मेरो ध्यान मेरै पाखुरामा जान थाल्यो । मैले आफ्नो कमेजको बाहुलामाथि सारेर भए पनि रक्षा बन्धनलाई बाहिर देखाइरहें । अरु यात्रीको ध्यान मेरै पाखुरामा खिचिरहेँ । आफ्नो परिचय म आफैँले दिएँ किनकि मलाई शान्तिको प्रतीक हुनु थियो । नरम स्वभावको देखाउनु थियो ।
मोहनजीसँग म बिदा भएर त आएँ तर मेरो दिमागबाट रक्षा बन्धन र रोहिन्गाको फन्को अझै बिदा हुन सकेन । म त्यसैमा लागिरहेँ । मेरो मानसिकता रक्षा बन्धन र रोहिन्गाको भित्री रहस्य बुझ्नतिर गयो ।
बर्मामा रक्षा बन्धनको चर्चा गर्दा रोहिन्गा मुसलमानको पनि कुरो आउनु अनौठो होइन । अझ त्यो बेला (२०१९) तिर बर्मामा मात्र होइन विश्वमा नै रोहिन्गाको चर्चा–परिचय विश्वव्यापि नै थियो । रोहिन्गा “सुन्नी” समूहका मुलसमान हुन् – जो बर्माको पश्चिमी राज्य “रखाई” मा यिनीहरूको बाहुल्य छ । रखाई राज्यको अर्को नाम “आराकान” पनि हो । रखाई राज्य बंगलादेशसँग जोडिएको हुनाले उनीहरूको पूर्वजहरू बंगलादेशबाट आएका हुन् भन्ने मान्यता छ । तर उनीहरूका पूर्वजहरू कहिले, कसरी र किन आए, त्यसको खोजीनीति नै नगरी बर्मा सरकारले उनीहरूलाई पूर्णकालीन नागरिकता नदिनु नै आजको संकट हुन गयो ।
हुन त बर्माको नागरिकता ऐन १९८२ अनुसार धेरै जसो गोरखालीहरू पनि कहाँ पूर्णकालीन नागरिकताबाट वञ्चित नभएका हुन् र ? उनीहरू बर्माको १३५ आदिवासी समूहमा पनि परेनन् । जे जस्तो विभेद भए पनि शान्तिप्रिय गोरखालीहरू नरम तरिकाले बर्मामा बस्दै आए । उनीहरू बर्मेलीसँग हातेमालो गर्दै बर्मामा नै रमाए । तर त्यो धैर्यता रोहिन्गामा आउन सकेन । उनीहरू लडाकु र आक्रमण शैलीमा उत्रिए । उनीहरू आफ्नो अधिक खोज्नतिर लागे । रोहिन्गामा निहीत हिंसात्मक स्वरूप नै बर्मेली सरकारको टाउको दुखाई हुन थाल्यो । अझ सन् २०१२ मा एकजना रोहिन्गा मुसलमान युवाले बर्मेली युवतीलाई एसिड खन्याएर अनुहार विक्षिप्त बनाएपछि रोहिन्गाको उठिबास शुरु हुन गयो । बर्मेली जनताले खेद्न थाले । बर्मेली जनताले खेद्न थाले पनि सरकारले चाहिं सुरक्षा दिइरह्यो । सकभर रोहिन्गाको संरक्षण गर्यो । तर जब सन् २०१७ मा रोहिन्गा आतंककारीले बर्मेली सैनिक ब्यारेक नै कब्जा गरेर धेरै सैनिक नै मारेपछि सरकार पनि रोहिन्गातिर खनिन बाध्य भयो । हुन त उनीहरू पहिल्यैदेखि दोस्रो दर्जाका नागरिक थिए, अर्को अर्थमा उनीहरू सक्कली बर्मेली थिएनन्, सरकारले अन्याय गरेको थियो, तर जब एसिड काण्डदेखि ब्यारेक काण्डसम्म आउँदा उनीहरू पूरै देशको दुश्मन हुनपुगे । रोहिन्गालाई बर्मा बसिसक्नु भएन । घर–घरबाट रोहिन्गा युवाहरू निकालिँदै काटिन थाले । गाउँमा आगो लाग्यो । हाहाकार भयो । सक्नेहरू भाग्दै–लुक्दै भारत पसे, कोही बंगलादेश भित्रिए । बाल–बालिका, बूढा–बूढीको विचल्ली भयो ।
रोहिन्गालाई परेका आतंकको छिटो गोरखालीलाई नपर्ने कुरै भएन । त्यहाँ गोरखाली होस् वा भारतीय, हिन्दु होस् वा मुसलमान बर्मेलीको आँखामा सबै कल्ला (विदेशबाट आएका) नै भए । अझ, रूप, रङ, बोली, अनुहार, छाला नाक एउटै देखिएपछि बर्मेलीको नजरमा सबै विदेशीहरू मुसलमान नै हुन् भन्ने भान पर्यो । उनीहरूले छुट्याउन सकेनन् ।
अब समस्या पर्यो रैथाने हिन्दुलाई, जो सदियौँदेखि त्यहीँको हावा खाएका छन्, त्यही माटोमा आफ्नो श्रम बगाएका छन्, बर्मा देशप्रति समर्पित छन् अनि नरम स्वभावका छन् । उनीहरूको एउटै उपाय थियो– मुसलमानबाट पृथक् स्वरूप देखिनु । उनीहरूले आफ्नो पाखुरामा रक्षा बन्धन कस्न थाले भने निधारमा टीको । उनीहरूको निधार र पाखुरामा कहिल्यै खाली नहुने भयो ।
अझ रोचकता के देखियो भने जब देशमा आन्दोलन शुरु हुन्छ, सडकमा नाराबाजी सुनिन्छ तब हिन्दु मन्दिरमा भिड बढ्न थाल्छ । रक्षा बन्धनको डोरी बाँध्नका लागि हानथाप चल्न थाल्छ । अर्को रोचकता के भयो भने पाखुरामा रक्षा बन्धनको डोरो लगाउने भिडमा हिन्दुहरूभन्दा मुसलमान नै बढी देखिन थाले । उनीहरू कोचिई–कोचिई लाइनमा उभिन पुगे । आखिर विचार, भावना, धर्म जे–जे भए पनि अकालमा मर्न कसलाई पो मन छ र ? अपाङ्ग हुन रहर कसलाई छ र ? यतिसम्म कि हिन्दु अनुहारसँग मिल्ने बर्मेलीसमेत हिन्दु मन्दिरमा थुप्रिन थाले । रक्षा बन्धनका लागि हानथाप हुन थाल्यो । उनीहरूलाई डर थियो भिडभाड र आन्दोलनमा जसलाई जे पनि हुनसक्छ ।
अन्धविश्वास सम्झेर बसेको म, जब बर्मामा पुगेँ, मैले रक्षा बन्धनलाई मोंटो पार्न थालेँ । रक्षा बन्धनप्रति मेरो कमजोर मनोवृत्तिमा शक्ति भरिन थाल्यो । गौरव बढ्दै गयो । अनुमान र ठोस प्रमाणबिना नै मैले रक्षा बन्धन बाँधेको रहेछु । पहिचान जीवन्त राख्न मात्र होइन, सैतान, पिचास जस्ता सामान्य तत्त्वबाट जोगिन मात्र पनि होइन । यसले त ठूला–ठूला आक्रमण र नरसंहारबाट पनि बचाउँदो रहेछ । द्वन्द्व, दुःख र क्रूरताबाट जोगिने हतियार पनि रहेछ । यो त सहनशील र भद्रताको परिचय पो रहेछ !
बर्मा बसुञ्जेल मैले कहिल्यै पनि पाखुरामा रक्षा बन्धन र निधारमा टीको खाली गरिनँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।