हामी बस चढ्न लाग्दा ऐरावती नदीझैं माण्डलेलाई आफ्नै खालको हतार थियो । ऊ ऐरावती नदीझैँ अविराम दौडिरहेको थियो । हामीले माण्डले छाड्न लागे जस्तै डाँडा पारिबाट सफल यात्राको शुभकामना दिँदै थियो, अस्ताउँदो घामले पनि ।
आज जनवरीको २० तारिख । महिना दिनदेखि गरिएको तयारीले बल्ल नेपाल यात्राको जोरजाम पूरा भएको थियो । साँझ परिसक्दा पनि खुसीका कारण सबैको अनुहार पूर्णिमाको जूनझैं उज्यालो देखिन्थ्यो । गीत बजिरहेको सुन्दा यस्तो लाग्यो, देशी ड्रइभरसमेत हाम्रो उमङ्गमा मस्त छ सायद । भारत सरकारको सहयोगमा बनेको माण्डले–टमु सडक निकै फराकिलो थियो । यो सडकलाई एसियाली राजमार्ग पनि भनिन्छ रे ! नेपालको काँकरभिट्टा हुँदै भारतका विभिन्न राज्य र म्यामा हुँदै यो सडकलाई थाइल्याण्डसम्म जोड्ने योजना छ भन्ने सुनेको हुँ । सायद जोडिसकिएको होला कि ? अल्पज्ञानका कारण यसै भन्न सकिनँ ।
यात्रामा रमाइलो सुरु भयो । हामी सबैका मोबाइलमा नेपाली गीत र बर्मेली गीत छन् । त्यसबाहेक अडियो बुक, अडियो कविता र मनोज गजुरेलका व्यङ्ग्य पनि छन् । सात जना आफ्नै पाराका छौँ, जसले बसमा अरुलाई डिस्टर्ब होला भन्ने पीर नगरी नेपाली गीतमा झुम्न थल्थ्यौं । हाम्रो नबुझिने गीत सुनेर बेला बेलामा बसका यात्रुहरु छक्क परेर हेर्थे । फेरि बर्मेली बोली सुनेर आश्वस्त हुन्थे ।
‘ठिकै भयो हामीलाई प्लेनको टिकट नमिलेको ! नेपाल हेर्न अझै तीन दिन पर्खनु भन्दा यस्तै रमाइलो गर्दै भारतलाई नियाल्दै नेपाल पुग्ने भइयो,’ गीतको बीचमा भीम पाण्डेले भन्नुभयो, ‘यात्रा गरेपछि यस्तै अनौठो खालको गर्नुपर्छ ।’
सबैले हो मा हो मिलाउनु भयो । तर मलाई भने भारतीय काउन्सिलरले गरेको अनावश्यक सोधपुछ र केरकार सम्झेर बनाएको थियो ।
‘नेपाल जान भारतकै बाटो किन ?’
‘नेपालका धेरै केटीहरु यसरी नै हिँड्दा बेचिएका छन् भन्ने थाहा छ ?’
‘तिमीहरु चार जवान केटी छौ, भारतको बाटो केही भयो भने कसले जिम्मा लिन्छ ?’
‘तिमीहरुसँग जाने तीन जना केटाहरुलाई कहिलेदेखि चिन्छौ ?
‘ज्ञानबहादुर थापा को हो ? उनले नेपालबाट किन बोलाएका ?’
यी यस्ता प्रश्न थिए, जसबाट काउन्सिलरको चिन्ता त देखिन्थ्यो तर त्यो भन्दा पनि यात्रा गर्न हत्तोसाहित गरिरहेको थियो । काउन्सिलर सकेसम्म हामी भारतको बाटो नछिरौँ भन्ने चाहन्थे ।
भारतको बाटो हुँदै नेपाल जानुपर्ने कारण खर्चमा कटौती पनि हो भन्ने हामीलाई थाहा थियो । माण्डलेबाट थाइल्याण्ड, थाइल्याण्डबाट काठमाडौँ र काठमाडौँबाट धनगढीको यात्रा छिटो त हुन्थ्यो तर पैसा धेरै नै लाग्दथ्यो । जुन हामी युवा पुस्ताका लागि धान्न सकिने थिएन । त्यसमाथि साहित्यमा लागेको मानिसले जति धेरै संसार बुझ्यो, त्यति राम्रो भन्ने हामीलाई लागेको थियो । जिन्दगीमा पहिलो पटक बर्मा छाडेको बेलामा धेरैभन्दा धेरै ठाउँ कम भन्दा कम मोलमा हेर्ने रहर हुनु स्वभाविक नै हो । त्यसमाथि प्लेन तीन दिन ढिला थियो । यो तीन दिनमा त हामी नेपालको बोर्डर पुग्न सक्दथ्यौँ । त्यसले पनि हामीलाई भारतको बाटो हिँड्न प्रेरित गरेको थियो ।
काउन्सिलरलाई यही कुरा चित्त बुझिरहेको थिएन । बसमा हामी त्यही दुःखद् कुरा सम्झिन थाल्यौँ ।
‘अगर कोठीमे गई तो घर लौटने के सपने भी नही देख सकती, सम्झी ?’ भागवत सरले काउन्सिलरको नक्कल गर्दै हामीलाई जिस्क्याउनु भयो ।
‘जो हमको बेचने का सोचेगा, उसीको बेच देंगे!’ सरगमले उही शैलीमा जवाफ फर्काउनु भयो ।
बसमा सातै जनाको हाँसो फैलियो । बसका पेसिन्जर पुनः हामीतिर छक्क परेर हेरे ।
हुन त नेपालले हामीलाई साहित्यकारको रुपमा स–सम्मान नेपाल बोलाएको छ, भारतीय काउन्सिलर भने बेचिने डर देखाइरहेको छ । एक प्रकारले यो हाम्रा लागि विरोधाभास कुरा थियो । त्यही कुरालाई हामीले बसभरि उडाउन थाल्यौँ ।
तर काउन्सिलरले आफ्नो ड्युटी गरेका रहेछन् भन्ने कुरा पछि थाहा भयो । सुदुरपश्चिमाञ्चल साहित्य महोत्सव हुन लागेको हो होइन, त्यहाँ आउने युवतीहरुको नाम हाम्रो नामसँग मिल्छ मिल्दैन भनेर पनि सोधपुछ भएको रहेछ । एक प्रकारले यो हाम्रै सुरक्षाका लागि थियो ।
तर यो बेला त हामी यस्ता कुराबाट अनभिज्ञ थियौँ । केवल काउन्सिलरले गरेको अनवाश्यक सोधपुछ र एक दिन ढिला गरेर दिएको भिसाले परेको अप्ठ्यारोका कारण हामी रिसाइरहेका थियौँ ।
हामीले भिसा पाएपछि आफूले पाएको दुःखको गुनासो नेपाली धर्मशालालाई पनि सुनायौँ । त्यो दिन मान्डलेस्थिति म्यान्माली नेपालीहरूको साझा घर अर्थात् नेपाली धर्मशाला भवनको निमार्णको शिलान्यास पनि थियो । एक दिन ढिला भिसा पाउँदा यो कार्यक्रममा सरिक हुन पाएको भन्दै अग्रजहरु खुसी हुनुभयो । त्यो बेला लाग्यो, जे भयो राम्रै भयो ।
म्यान्मामा जहाँ-जहाँ ठूलो नेपाली बस्ती र ठूलो सहर छ, त्यहाँ नेपाली धर्मशाला छन् । प्रत्येक गाउँमा पाठशालाहरु छन् । मिचिना, टमू, नाउछो र याङ्गुनमा ठूला धर्मशालाहरु छन् । यस्ता धर्मशालामा नेपालीहरुलाई अत्यन्तै सस्तो दाममा बस्न खान व्यवस्था गरिन्छ । सन् १९८२ मा ठूलो लागतमा निर्माण गरिएको धर्मशाला दुई वर्षपछि अचानक भएको अग्निकाण्डमा ध्वस्त भयो । त्यो म्यान्माली नेपालीको मुटु निचोरिएको दिन थियो त्यो । तर वीर गोर्खालीको भावना, उद्देश्य र योजनाहरू भने ध्वस्त हुन सकेन । यस्ता धर्मशाला म्यामाली नेपालीहरूको धानको बोट, मकैको बिउ, गााईको बाच्छो, आँपको रुख जस्तै हो । जसले भविष्यमा छाहारी र अन्न दुवै दिन्छ । माण्डलेको यो धर्मशाला म्यान्मा भएका सम्पूर्ण नेपालीहरूले पाइपाइ जोडेर, दान र चन्दा सङ्कलन गरेर निर्माण भएको हो । यसरी दुःख गरेर बनाएको धर्मशाला आगालागीले ध्वस्त हुँदा धेरैका आँखा ओभानो हुन समय लाग्यो । माण्डले यस्तो सहर हो, जहाँ हरेक दिन जसो कतै न कतै आगलागी हुने गर्छ । त्यस्तै आगलागीमा परेपछि यो धर्मशाला चार वर्षसम्म त्यत्तिकै रह्यो । सायद नेपालीहरुलाई त्यसैगरी खर्च जुटाउन समय लाग्यो होला !
मण्डलेको धर्मशाला अहिले पनि कति प्रख्यात छ भने सहरको जुनसुकै कुनाको जुनसुकै अटो वा भाडाका ड्राइभरलाई नेपाली धर्मशाला पुर्याइदेऊ भन्दा पुर्याइदिन्छन् । बर्माभरिबाट आउने नेपाली विद्यार्थी, बिरामी, सरकारी कामले झरेकाहरु सबैलाई यसले आश्रय दिन्छ । त्यति मात्र होइन, नेपाल र विश्वभरबाट आउने नेपालीहरुका लागि पनि यो सुस्ताउने चौतारो बन्ने गरेको छ ।
आगलागीमा परेको यो धर्मशाला सन् १९८६ मा जीर्णोद्धार भयो रे तर जीर्णाद्धार गरिएको यो धर्मशालाले सायद गोर्खालीको बढ्दो जनसंख्यालाई धान्न सकेन । देशकै दोस्रो ठूलो सहरमा जुन स्तरको धर्मशाला हुनु पर्दथ्यो, त्यो नभएका कारण पनि हुनसक्छ, यो धर्मशालाको शिलान्यास भएको थियो । अहिल यो १० तल्ले भव्य भवन बन्ने तयारीमा छ । यस्तो कार्यमा बर्मामा रहेका हरेक नेपालीले केही न केही दिनुपर्ने सामान्य नियम हो । यो पावन अवसरमा हामी पनि सहभागी हुन पाएका थियौँ ।
सिलान्यासमा लागि केही सरकारी पदाधिकारी, बर्माका लागि नेपाली राजदूत भीम उदास, केन्द्रीय समिति र म्यान्मा भरिकै नेपाली शाखाहरूका प्रतिनिधिको उपस्थिति थियो । यस्तो लाग्यो, मानौँ हाम्रो यात्राका लागि स्वागत गर्न सबै जम्मा हुनु भएको छ । यसले भारतीय काउन्सिलरले गरेको कडा सोधखोज र प्रश्नले दुखाएको मन पनि शान्त भयो ।
एकातिर शिलान्यास हुँदै थियो, अर्कोतिर म्यान्माली नेपाली साहित्य धान्ने युवापिँढी भनेर हामीलाई शुभकामना र आशीष पनि मिलिरहेको थियो । यात्राका लागि हामीले केही खर्च पनि पायौँ ।
अहिले गाडी एकोहोरो पूर्वतिर लागिरहेको छ । अँध्यारोमा हामी कहाँ पुग्यौँ थाहा छैन ।
‘एकपल्ट सम्झनु पर्यो हो,’ भागवत सरले फोन निकाल्दै भन्नुभयो ।
हामी सबै गलल्ल हाँस्यौँ । खासमा भागवत सर नयाँ नयाँ विवाहित हुनुहुन्छ । उहाँ पटक पटक फोनमा म्यामसँग कुरा गर्नुहुन्छ । जब जब उहाँ घरमा फोन लगाउनु हुन्छ, हामी जिस्क्याउँछौ । एक दिनमै चारपल्ट फोन गर्ने मान्छेले लामो नेपाल बसाइमा के गर्नुहुन्छ होला । हामी यस्तै भनेर जिस्क्याउँछौँ ।
उहाँ भन्नुहुन्छ, ‘विवाह गरेर हेर, अनि थाहा हुन्छ, परिवार भनेको के हो ? माया भनेको के हो ?’
हामी भन्छौँ, ‘हाम्रो परिवार छ नि, बिहे नै गर्नुपर्छ भन्ने के छ र ?’
उहाँ पुनः फोन गर्नुहुन्छ ।
तर उहाँको फोन झर्नेबित्तिकै हामी पनि आ–आफ्नो घरमा फोन लगाउँछौँ । मैले पनि फोन लगाएँ । घरमा सुत्ने बेला भएछ ।
आमा सोध्नुहुन्छ, ‘नेपाल पुग्न लाग्यौ ?’
म हाँसेर भन्छु, ‘आमा नेपाल त धेरै दूर छ । हामी अहिले टमु पनि पुगेका छैनौँ ।’
भोलि बिहान टमु पुग्ने लक्ष्यमा साथ गाडी गुडिरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।