तिमीले र मैले सँगै कोरेका थियौं खुसीका रेखाहरू
असिम आकांक्षाका विन्दुहरू जोडेर
कल्पनाको उडानमा रम्दारम्दै
समानान्तर पो बन्न पुगेछन्
म तल झरुँला, तिमी माथि उक्लनु
ठिकै छ आऊ
अब खुसीको शीर्ष विन्दु खोजौं हुँदैन र ?

तिमीले र मैले सँगै लगानी गरेका थियौं खुसीका सावाँहरू
केही पलका लागि चक्रिय ब्याजदरमा
आज समय सकिएको छ
देख्दै छु मिश्र ह्रास पो बन्न पुगेछन्
म ऋण सहुँला, तिमी धन सम्हाल्नु
ठिकै छ आऊ
अब खुसीको चक्रिय सूत्र खोजौं हुँदैन र ?

तिमीले र मैलेसँगै नाप्न आँटेका थियौं जिन्दगीको परिमिति
असीमित रहरका सिन्काहरू भाँचेर
आज अन्योलमा छु
देख्दैछु समानान्तर रेखा पो बन्न पुगेछन्
म बाङ्गिउँला, तिमी सिधै रहनु
ठिकै छ आऊ
अब खुसीको बहुभुजमा परिमिति निकालौं हुँदैन र ?

तिमीले र मैले सँगै खोजेका थियौं योजनाका सम्भाव्यताहरू
सुकिलो भविष्यको रङ्गीन कल्पनामा
नचाहँदा नचाहँदै फेरि
देख्दै छु भवितव्यमा पो परेछ भविष्य
म गल्तीको भागी बनुँला, तिमी भाग्यको सोपान चढ्नु
ठिकै छ आऊ
अब खुसीको महलमा सम्भावनाको लिस्नो लगाऔँ हुँदैन र ?

तिमीले र मैले सँगै बनाएका थियौं एउटै केन्द्रबाट वृत्त
मायाको परिधिभित्र युगौंसम्म बाँधिन
अनयासै आज मन कहालियो
देख्दैछु वृत्तमा सानो घेरा छुटेछ
म सिसाकलमझैँ घेरा थपुँला, तिमी त्रिज्या बनाउनु
ठिकै छ आऊ
अब खुसीका रङ्गहरूले मायाको दैलोमा रङ्गोली बनाऔँ हुँदैन र ?

तिलोत्तमा, रुपन्देही