लिएर गैँती र साबेल
सँगै हिँडेका थियौँ
तिमी र म
भत्काउन असमानताका
पर्खाल
उखेल्न त्यसका जग र
समथर बनाउन
यो धरती
भोक मलाई लाग्दा
तिमीलाई पनि लाग्थ्यो
तिमीलाई भोक लाग्दा
उसलाई पनि लाग्थ्यो
जाडोले तिम्रो मुटु काम्दा
उसको सँगै मेरो पनि कामेकै हो
तिम्रा, मेरा र उसका
चोट लाग्दा दुख्ने पीडा
समान थियो र हामी
एक साथ
भन्थ्यौँ
‘ऐया’
कति पटक
काटिए हात
जसको हात
काटिए पनि
चुहिएको रगत
रातै थियो
हाम्रो भोक एउटै
हाम्रो जाडो एउटै
हाम्रो पीडा एउटै
हाम्रो रगत एउटै
रगतको रङ एउटै
अनि एउटै थिए
ठेला उठेका
हत्केला र
थाप्लाबाट बगेका पसिनाका
धाराहरू
त्यसैले त
हामी समान थियौँ
तर
पत्ता लगाउन सकिनँ
मैले
आसमानताको वर्गीय
पर्खाल भत्काउन
सँगै हिँडेको तिमी
आज
कसरी पर्खाल
पारि पुगेछौ
भत्काउने औजार
यतै कतै छोडेछौ
र उतैबाट
यो पर्खालमा ईटा
थप्दै थप्दै
बनाउँदै छौ अग्लो
त्यताबाट
म र ऊ छेकिने गरी
यताबाट
तिमी नदेखिने गरी ।
पोखरा ७,
मासबार
कास्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।