ढाकामोहन बराल

“बुबा मामुलाई आज घरमा खाना नबनाउने भनिस्यो ल ।”, बुहारीको फोन रहेछ ।

“ल ल ठिक छ तर बाहिर धेरै नभुल्नु ।” मैले भने ।

“हैन बुबा, टाइम लाग्दैन । प्याकिङ्क गरेर घरमा नै ल्याउने हो ।”, आधा घण्टामा छोरा बुहारी आइपुगे । ग्यारेजमा कार पार्किङ गरे । खानाको प्याकेट डाइनिङ टेवलमा राखेर कपडा फेर्न आफ्नो कोठामा पसे । दुबैजनाको बैंकको जागिर बिहान र बेलुका सधैं हतार हुन्छ उनीहरुलाई । उनीहरु आएपछि सबैजनाको खानाको प्याकेट खोलियो । हामीहरुलाई पनि हाम्रै रुचि अनुसारको खाना ल्याइदिएका रहेछन् । उनीहरु पनि आफ्नो आफ्नो खाना खान थाले । आफ्नो भागमा परेको मिठो पिस बुहारीले छोरालाई दिन्थिन् भने छोराले पनि आफ्ने भागमा परेको राम्रो पिस बुहारीलाई दिन्थ्यो । हामीहरु आनन्द मान्दै उनीहरुको कृयाकलाप हेरि रहेका थियौँ । मलाई पुराना दिन याद आयो । अस्थायी शिक्षकको जागिर सधैं घर धान्न धौ धौ हुने । कहिलेकाहीँ जब घरमा मासु आउँथ्यो ,पस्कन हामी दुबैलाई हतार हुन्थ्यो । मलाई लाग्थ्यो कुन त एक पाउ मासु त्यही सबै मलाई मात्र पस्केर आफूलाई रस मात्र राख्ने हुन् कि । सायद उनलाई पनि उस्तै लाग्दो हो । गिलासबाट खानाको थालीमा दुध खन्याउँदा पनि यस्तै हुन्थ्यो । अझै पुराना दिनहरु याद आउन थाले । बुबा र आमा हजुरबुबा र हजुरआमाको अगाडि एक आपसमा बोल्न पनि लाज मान्नु हुन्थ्यो । त्यती बेला श्रीमानले खाएको थालमा नै श्रीमतीले खाने चलन थियो । परिवार ठुलो थियो । थाहा थिएन दोस्रो बसाइमा खानु पर्ने आमा र काकीहरुलाई हजुरआमाले खाना कसरी पुर्याउनु हुन्थ्यो ।

दिनभर आमालाई अलि बढी परिश्रम परेको दिन खाना खाने बेलमा बुबाले हजुरआमासँग भन्नुहुन्थ्यो, “आमा आज बिहान मोही पारेको हो क्यारे घिउ खान मन लाग्यो । आज त कति धेरै भोक लागेछ भात थप्नु त आमा ।”

एकछिनमा थपिएको भातको चोइलाले घिउ थप्नु हुन्थ्यो । आफूलाई दिएको दुध जुठो मात्र राखेर त्यहीँ छोड्नु हुन्थ्यो ।

“बुबा किन टोलाइसिया हो ?” बुहारीले सोधिन् ।

“हैन हैन कहाँ टोलाउनु”, मैले बनावटी जवाफ दिएँ । भित्तामा टाँगिएको हजुरबुबाको फोटोमा नजर पर्यो । एक पटक के काम परेर हो बुबा त्यस बेलाको बटौली जानु भएको थियो । फर्कँदा पेडा मिठाइ ल्याउनु भएको रहेछ । सबै जनालाई एक एक वटा दिनु भयो ।

हजुरबुबाले भन्नु भयो, “बाबु मलाई यो असाध्यै मन पर्छ, पुग्छ भने अर्को एउटा पनि दे त ।”

आधा घण्टा पछाडि हजुरआमासँग, “अर्को पनि छ , खान्छेस् ?” भनेर सोध्दै हुनुहुन्थ्यो ।