एकहुल मानसिक तनावहरू
धनको अभाव लिएर
अन्नको अभाव लिएर
मस्तिष्कको द्वार हुँदै
सुटुक्क पस्छन्
धनबहादुर बड़ाको झुप्रोमा
अनि चसक्क चसक्क बिझाउँन थाल्छ
रात दिन उनको मुटुमा ।

त्यति नै बेला उता एक हुल
मानिसहरू
राहत वितरण गर्दै गरेको
तस्बिर लिइरहेका हुन्छन् ।

बाहिर दर्किरहेको असारे झरीमा
आफ्नो अन्न गोडगाढ गरेर
आफ्नो ढुकुटी भर्न खोज्छन्
तर असफल बन्छन् ।

फेरि हर्षित हुन्छन् उनी
सरकारको एक वाहन घोषणा सुनेर
फेरि कुलो खन्न थाल्छन्
तर उनको खेतीमा नआइ कुलो टुङ्गिन्छ
उनको पसिना त्यसै बग्दछ
त्यसैले हतास बन्छन् उनी ।

हतासिएर मन्दिरको सिँड़ीमा पुग्छन्
एक छाक खोज्दै खोज्दै
जहाँ एक हुल मानिसहरू
फलफूल र भेटीहरू चड़ाइरहेका हुन्छन्
एउटा निष्प्राण ईश्वरमाथि
त्यसपछि महसुस हुदँछ उनलाई
एउटा मानव र निर्जीव ढुङ्गाको
भिन्नता ।

खुला आकाशमा उडि़रहेको
त्यो पन्छीहरूलाई हेर्न थाल्दछन्
र विवश मानव जीवनलाई हेर्दछन्
अनि तुलना गर्छन्
अन्यासै उनको मुखवाट वाक्य फुट्दछ
म त्यही विवेकशील प्राणी हुँ र ?
उनिहरु त्यही विवेकशील प्राणी हुन र ?
अनी त्यो पन्छी साँच्चै अबोध हो र ?